भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा देशभरका सार्वजनिक, व्यवसायी तथा व्यक्तिगत सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट भएको छ।
यो क्रममा व्यवसायी तथा उद्यमी पवन गोल्यानको मध्य बानेश्वरस्थित गोल्यान टावरमा समेत प्रदर्शनकारीले आंशिक क्षति पुर्याएका छन्।
‘हाम्रो मुख्य कार्यालय रहेको टावरको भुइँतलामा क्षति पुगेको छ,’ गोल्यानले भने, ‘झ्यालका सिसा, कम्प्युटर, टिभी फुटेको छ।’
स्थानीय तथा छिमेकीको सहयोगले टावरमा धेरै क्षति नपुगेको उनको भनाइ छ।
‘हामीलाई हाम्रा छिमेकीहरूले धेरै सहयोग गरे। नभए प्रदर्शनकारीबाट टावर जोगाउन सकिँदैन थियो,’ उनले भने।
प्रदर्शनमा व्यवसायी बिनोद चौधरी, शेखर गोल्छा, चन्द्र ढकाल, मीनबहादुर गुरूङ लगायतका अन्य व्यवसायीका पनि व्यक्तिगत घर, उद्योग, डिपार्टमेन्ट स्टोर लगायतमा क्षति पुगेको छ। चौधरीको कार्यालयसँगै निजी निवासमा तोडफोड, आगजनी र लुटपाट भएको छ।
चन्द्र ढकालको आइएमई समूहले लगानी गरेको चन्द्रागिरि केबलकार र मौलाकाली केबलकारको तल्लो स्टेसनमा आगजनी तथा तोडफोड भएको छ।
व्यवसायी मीनबहादुर गुरूङको लगानी रहेको भाटभटेनी सुपरस्टोरका विभिन्न शाखामा ठूलो क्षति पुगेको छ।
गुरूङको देशभर रहेका २८ भाटभटेनी मध्ये नक्साल, कोटेश्वर, र भक्तपुरको राधेराधे सहित २१ वटामा तोडफोडका साथै लुटपाट पनि भएको छ।
शंकर समूहको लगानी रहेको करिब ८ अर्बमा निर्मित काठमाडौं नक्सालस्थित हिल्टन होटलमा पनि आगजनी भएको छ।