बुटवलको मिलन चोकमा एउटा व्यस्त होटल छ — गाउँले चुह्लो।
यहाँ खाना खान मानिसहरू लामबद्ध हुन्छन्। कहिलेकाहीँ यति भिड हुन्छ, बस्ने ठाउँ नभएर फर्किनुपर्छ। गाउँले चुह्लो स्थानीय बासिन्दाको मात्र होइन, बाहिरबाट आउने अधिकांश आगन्तुकको पनि खाना खाने गन्तव्य बनेको छ।
गाउँले चुह्लोले काँसका थाल र कचौरामा मसिनो र मार्सी चामलको भात, मकैको आँटो (च्याँख्ला), कोदो र फापरको ढिँडो, तात्तातो घिउ, जुम्ला र मुस्ताङको दाल, पहाडी खसी र कुखुराको मासु, थरीथरी अचार र मौसम अनुसारको तरकारी पस्किन्छ।
यसका सञ्चालक हुन् दुई युवा विपीन श्रेष्ठ र विक्रम गुरूङ।
'गाउँले चुह्लो २०७४ साल फागुनमा सुरू भएको हो। व्यवसायले लय समाउँदै थियो तर कोरोनाले असर पुर्यायो। त्यसपछिका करिब चार वर्षमा भने ग्राहक मन राम्ररी जितेको छ,' विपीनले खुसी हुँदै भने।
यो होटल बुटवलको मिलन चोकबाट करिब डेढ सय मिटर पूर्व पुरानो शैलीको एकतले घरमा छ। बाहिरपट्टि सडकभरि रोकिएका सवारी साधनको लस्कर हुन्छ। गाडीको लस्करले नै त्यहाँ खान पुगेका ग्राहकको भिड अनुमान गर्न सकिन्छ।
नेपाली खाना खुवाएर सन्तुष्ट बनाएकै कारण आफ्नो होटल लोकप्रिय भएको विक्रम बताउँछन्।
'हाल दैनिक पाँच सय जनासम्मले खाना खान्छन्। थोरैमा पनि तीन सय जनाभन्दा बढी नै हुन्छन्,' विक्रमले भने, 'यसले अन्यत्रबाट बुटवल आएका र बुटवल हुँदै अन्यत्र जानेलाई पनि आकर्षित गरेको छ।'
होटलमा सजाइएका गाउँघरका सामग्रीबाट त्यहाँ पुग्ने व्यक्तिलाई गाउँतिर पुगेको आभास हुन्छ।
भित्र प्रवेश गर्नासाथ काउन्टर टेबलमा काठका हलो, जुवा र नारा देख्न पाइन्छ। दायाँतर्फ निकै ठूलो दुईमुखे चुह्लो छ। चुह्लोमा काँसको कसौंडी र ताउली बसालिएको हुन्छ। चुह्लोभित्र दाउरा बलेजस्तै देखिने सजावट छ।

त्यसको माथिपट्टि काठको ठेकी र माछा मार्दा प्रयोग हुने फुर्लुङ झुन्ड्याइएका छन्। एक छेउमा सिलौटो छ, मट्टितेलबाट बल्ने टुकी पनि देखिन्छ।
झट्ट हेर्दा गाउँघरमा बनाइने सुधारिएको चुह्लोजस्तै देखिए पनि सजावटका लागि काठबाट बनाइएको हो। भुइँमा काठको ठेकी, पानी राख्ने घैंटो, ओदान, तामाको ताउलो, आरी र कसौंडी सजाइएका छन्।
'हामीले गाउँले झल्को दिन सजावटमा पनि निकै काम गरेका छौं,' विपीनले भने।
उनी गुल्मीको चन्द्रकोट गाउँपालिका, शान्तिपुरमा व्यापारिक परिवारमा जन्मिएका हुन्। उनका हजुरबुबा कुलप्रसाद श्रेष्ठले शान्तिपुर बजारमै कपडा र किराना पसल चलाएका थिए।
हजुरबुबाको निधनपछि बुबा काशीनाथ र आमा अम्बिकाले दुवै पसललाई निरन्तरता दिए।
त्यस बेला गाउँमा मोटर बाटो थिएन। चन्द्रकोटका मात्र होइन, पूरै गुल्मी र बागलुङका बासिन्दा समेत किनमेलका लागि आउने प्रमुख बजार शान्तिपुर थियो। अलिपछि शान्तिपुरसम्म मोटर बाटो पुग्यो। त्यसपछि गाउँतिर फैलियो। शान्तिपुर जाने ग्राहक पाल्पा र बुटवल पुग्न थाले। गाउँतिर पनि सानातिना पसल खुले।
व्यापार घट्दै गयो तर काशीनाथ र अम्बिकाले पसल छाडेनन्। अहिले पनि चलाउँदै छन्।
यस्तो व्यापारिक परिवारमा हुर्केका विपीन स्कुल पढ्दा बुबाआमालाई व्यापारको काम सघाउँथे। बुटवलको सुख्खानगरमा पनि उनीहरूको घर थियो। एसएलसी परीक्षा पास गरेपछि विपीन बुटवलमै बसेर पढ्न थाले, १२ कक्षाको पढाइ पूरा गरे।
'त्यस बेला गाउँमा माओवादीको सशस्त्र युद्ध चर्केको थियो। युवाहरू गाउँमा बस्न अनुकूल अवस्था थिएन। मलाई बुबाआमाले चलाएको व्यापारबाट गुजारा हुँदैन भन्ने लाग्यो। म पैसा कमाउने धुनमा लागेँ। विदेश जाने सोचेँ,' विपीनले भने।
यता रूपन्देहीको तिलोत्तमाका विक्रम गुरूङका बुबा भारतीय सेनामा थिए। आमा शिक्षक थिइन्। विक्रम पनि भारतीय सेनामै जाऊन् भन्ने परिवारको चाहना थियो। तर उनलाई रूचि भएन। उनले सानोतिनो ठेक्कापट्टा सुरू गरे।


'बारम्बारका आन्दोलन, बन्द, हड्ताल र त्यस बेला व्याप्त सशस्त्र द्वन्द्वका कारण काम राम्रो चलेन। मैले विदेश जाने योजना बनाएँ,' विक्रमले भने।
विपीन र विक्रम बुटवलमै चिनजान भएका साथी थिए। दुवै जनाको विदेश जाने योजना भएपछि प्रक्रियामा लागे।
उनीहरूले अमेरिका, क्यानडा, जापान जस्ता विकसित देश जाने अनेक प्रयास गरे। यस्तैमा पाँच वर्ष बित्यो। बुटवल–काठमाडौं आउजाउ र तयारीमा निकै ठूलो रकम खर्च भयो।
'तर कुनै देशका लागि भिसा पाइएन। अन्ततः बुटवलमै कुनै व्यवसाय गर्ने निर्णयमा पुग्यौं,' विक्रमले भने।
विक्रम २०७४ सालको एक दिन घुम्दै मिलन चोकतिर गएका थिए। चोकनजिकै राम्ररी नचलेर बेच्न चाहेको एउटा रेस्टुरेन्ट थियो।
त्यति बेला मिलनचोक आसपास मालपोत, नापी र सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्यालय थिए (अहिले छैनन्)। विक्रमले सेवाग्राहीको भिडभाड हुने यस्तो ठाउँमा रेस्टुरेन्ट चल्न सक्ने ठाने।
उनको विचारमा विपीन सहमत भए। त्यसै अनुसार दुई जनाले संयुक्त रूपमा १२ लाख रूपैयाँ जुटाएर त्यो रेस्टुरेन्ट किने।
पुरानो शैलीको एकतले घरमा रहेको रेस्टुरेन्ट उनीहरूले स्तरोन्नति गर्ने भए। घर मर्मतसम्भार गरे। गाउँको झल्को दिने गरी रातो र सेतो रङ लगाए। सजावट गरे।
'यति गरिसक्दा लगानी ६० लाख रूपैयाँ पुग्यो। दुवैले खोजखाज पारेर बराबर पैसा हाल्यौं,' विपीनले भने।
यति तयारी गर्दा पनि उनीहरू रेस्टुरेन्ट कि खाना खुवाउने होटल के चलाउने भन्ने अलमलमा थिए। अन्ततः उनीहरू नेपाली स्वादको खाना खुवाउने होटल चलाउने निष्कर्षमा पुगे।
होटलको नाम के राख्ने भन्नेबारे छलफल हुँदा विपीनले 'चुह्लो' प्रस्ताव गरे। त्यसमा विक्रमले 'गाउँले' थपे। यसरी 'गाउँले चुह्लो' बन्यो।
अहिले ग्राहकहरूबीच यो नाम प्रिय भएको छ। हाल बुटवलमा गाउँले चुह्लो नेपाली स्वादको खानाका लागि रोजाइको होटल भएको छ।
'सुरूका केही महिना त ग्राहक त्यति धेरै आएनन्। चल्दैन कि भन्ने डर पनि लाग्यो,' विपीनले भने, 'सुरूका १०–१५ दिन साथीभाइ र इष्टमित्र बोलाएर खुवायौं। उहाँहरूले सामाजिक सञ्जालबाट प्रचार गरिदिए। बिस्तारै ग्राहक बढ्दै गए।'

ग्राहकको संख्या बढ्दै थियो, गाउँले चुह्लो चल्दै थियो। यतिकैमा कोरोना आयो र केही महिना होटल बन्द गर्नुपर्यो। तर खुलेपछि पनि ग्राहक घटेनन्, बरू भिड लाग्न थाल्यो।
उनीहरू दुवै जना होटल व्यवसायमा अनुभवहीन थिए। सुरूसुरूमा ग्राहकलाई दिने परिकारको परिमाण र मूल्यको तालमेल थिएन।
'एक प्लेटमा कति मासु राख्ने भन्ने थाहा भएन। मासुको खरिद मूल्य, मरमसला, नुनतेल सबैको लागत जोडेर मूल्य निर्धारण गर्न जानेनौं,' विपीनले भने, 'काम गर्दै जाँदा बिस्तारै सिक्यौं। लागत हिसाब गरेर मूल्य तोक्न जान्ने भयौं।'
गाउँले चुह्लोमा चिसो मोहीले ग्राहकको स्वागत गरिन्छ। शाकाहारी खाना २२० रूपैयाँ, कुखुराको मासुसहित २८० रूपैयाँ र खसीको मासुसहित चार सय रूपैयाँमा भरपेट खान पाइन्छ। मार्सी चामल र ढिँडो खानेले उक्त मूल्यमा थप ५० रूपैयाँ तिर्नुपर्छ।
'हामी थरीथरीका अचार र तरकारीसहित जुन गुणस्तरको खाना खुवाउँछौ, त्यो अन्यत्र हेरी निकै सस्तो छ। खाना, दाल, तरकारी, अचार, सलाद सबै गरेर एउटा थालीमा १८ प्रकारको खानेकुरा हुन्छ,' विक्रमले भने।
गाउँले चुह्लोमा बिहान ९ बजेदेखि राति १० बजेसम्म ग्राहक हुन्छन्। सार्वजनिक बिदाका दिनमा ग्राहकले पालो पर्खिनुपर्छ। बर्खामा धेरै पानी परेका बेला ग्राहक केही कम हुन्छन्। तर कहिलेकाहीँ त ठाउँ नपाएर फर्किन्छन्।
गाउँले चुह्लो परिसर एक कट्ठा क्षेत्रफलमा छ। एक पटकमा ६० जनासम्मले सेवा पाउन सक्छन्। व्यवस्थित गर्न सक्ने हो भने एक पटकमा ८० जनासम्मले खान सक्ने क्षमता हुन्छ। त्यसको तयारी सुरू भएको विपीनले बताए।
गाउँले चुह्लोमा विपीन र विक्रमबाहेक २० जनाले काम गर्छन्। सेफबाहेक सबैले यहीँ काम सिकेका हुन्।
विपीन र विक्रमले पनि आपसमा कामको आलोपालो र जिम्मेवारी मिलाएका छन्।
महिनामा २९ दिन राम्रो सेवा पाए पनि एक दिन गडबड भयो भने ग्राहकको मन बिथोलिन्छ। अर्को पटक आउने सम्भावना कम हुन्छ। त्यसैले ग्राहकको मन जित्न निकै मेहनत र संवेदनशीलता आवश्यक पर्छ।
जतिसुकै भिड भए पनि खानाको गुणस्तरमा कुनै कमी नहुने उनीहरू बताउँछन्।

बुटवलमा प्राप्त सफलताले गाउँले चुह्लो २०७८ सालमा भैरहवा पनि पुगेको छ। भैरहवाका लागि विपीन र विक्रमसहित थप दुई जना साझेदार छन्। भैरहवा शाखामा एक करोड रूपैयाँभन्दा बढी लगानी भएको विक्रमले बताए।
'होटल चलाउनु अपजसको पेसा भए पनि गाउँले चुह्लोमा अहिलेसम्म कतैबाट गुनासो आएको छैन,' विक्रमले भने।
गाउँले चुह्लोका सञ्चालक विपीन र विक्रमको साझेदारीमा पनि अहिलेसम्म कुनै गुनासो र मनमुटाव छैन। सबै निर्णय सल्लाह र सहमतिमै हुने उनीहरू बताउँछन्।
उनीहरू एकअर्कालाई प्रेमपूर्वक 'सोल्टी' भनेर सम्बोधन गर्छन्।
उनीहरूका अनुसार अधिकांश मनमुटाव हुने भनेको आर्थिक कारणले हो। यसको पारदर्शिताका लागि उनीहरूले प्रणाली बसाएका छन्। होटलको काउन्टरमा कर्मचारी छन्। धेरैजसो कारोबार डिजिटल हुन्छ। जम्मा भएको नगद साँझ हिसाब हुन्छ। अन्य आर्थिक कारोबार बैंकमार्फत हुन्छ। दुवै जनाको हस्ताक्षर अनिवार्य हुने गरी बैंक खाता चलाएका छन्।
होटलमा लागेको लगानी उठेर उनीहरू अहिले नाफा लिइरहेका छन्।
विपीन र विक्रम दुवैलाई अचेल लाग्छ — दृढतापूर्वक मेहनत र केही समय धैर्य गर्ने हो भने नेपालमै व्यवसाय र आम्दानीको पर्याप्त सम्भावना छ। त्यसैले त्यति दुःख गर्दा पनि विदेशको भिसा नलागेर ठीकै भएछ!
'भिसा लागेको र विदेश गएको भए पैसा अलि धेरै कमाइन्थ्यो होला। तर अहिलेजस्तो सन्तुष्टि मिल्ने थिएन,' उनीहरू दुवै एकै स्वरमा भन्छन्, 'अहिले परिवारसँगै बसेर आफ्नै व्यवसाय चलाउन सकेका छौं। भिसा नलागेर ठीकै भएछ।'