नेपालमै पहिलो पटक फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
आइएमई ग्रुपको करिब डेढ अर्ब रूपैयाँ लगानीमा रौतहटको फतुवा विजयपुरमा स्थापना गरिएको 'एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रा.लि' ले अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट बोर्ड उत्पादन सुरू गरेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले काठमाडौंमा आयोजित एक कार्यक्रममा उद्योगको उद्घाटन गर्दै नेपालमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योग स्थापना हुनु औद्योगिक विकासतर्फको महत्त्वपूर्ण संकेत भएको बताए।
उनले भने, 'आफ्नै देशमा उत्पादन गरेर आयात प्रतिस्थापन मात्र होइन, निर्माण क्षेत्रलाई दिगो बनाउने तिरको यो ठूलो पाइला हो। सरकारले यस्ता उत्पादनमुखी लगानीलाई सधैं प्रोत्साहन गर्छ।'
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशभित्रै स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोतको उपयोग गरी निर्माण क्षेत्रमा योगदान दिन नयाँ उद्योग स्थापना गरिएको बताए।
'विदेशी मुद्रा बाहिरिनबाट रोक्ने र देशलाई आत्मनिर्भर बनाउने बाटो यही हो,' उनले भने, 'नेपालमै अन्तर्राष्ट्रियस्तरको निर्माण सामग्री उत्पादन सम्भव छ भन्ने सन्देश यो उद्योगले दिएको छ।'
एभरेष्ट उद्योगमा बोर्ड उत्पादनका सम्पूर्ण प्रक्रिया-कच्चा पदार्थको मिसावटदेखि कटिङ, प्रेसिङ र ड्राइङसम्म-पूर्ण रूपमा अटोमेटेड प्रविधिमा आधारित छन्। उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्न सक्छ।
उत्पादित बोर्डहरू ४ फिट लम्बाइ, ८ फिट चौडाइ, र ४ एमएमदेखि ३० एमएम मोटाइसम्म उपलब्ध छन्।
यी बोर्डहरू लचकदार, अग्नि प्रतिरोधी, घामपानी नअसर पर्ने, वातावरणमैत्री र टिकाउ छन्। प्रयोगकर्ताले भवनको बाहिरी भाग, पाटीशन, फल्स सिलिङ, मोडुलर किचन, इको प्यानल लगायत संरचनामा यसको सहज प्रयोग गर्न सकिने बताइएको छ।
इँटा र प्लास्टरको सट्टामा सम्पूर्ण संरचना निर्माणमा पनि यस बोर्डको प्रयोग सम्भव हुने दाबी कम्पनीको छ। '१०–१५ दिनमै संरचना निर्माण गर्न मिल्ने भएकाले यसको माग अन्तर्राष्ट्रिय बजारमा पनि बढ्दो छ,' अध्यक्ष ढकालले भने।
भूकम्प, बाढी वा पहिरोजस्ता प्राकृतिक प्रकोपको बेला आपतकालीन संरचना निर्माणमा पनि यो बोर्ड उपयोगी बन्नेछ।
प्लास्टर वा रंगको झन्झट नहुने भएकाले समय र लागतमा समेत बचत हुने कम्पनीको दाबी छ।
स्थानीय रोजगार प्रवर्द्धनमा समेत उद्योगले विशेष जोड दिएको छ। हाल उद्योगमा करिब २०० जनाले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा रोजगारी पाएका छन्।
'९८ प्रतिशतभन्दा बढी स्थानीय जनशक्ति र ४० प्रतिशतभन्दा बढी महिला कामदार छन्,' उद्योग व्यवस्थापनले जानकारी दियो। महिलाहरू बोर्ड प्रोसेसिङदेखि प्याकिङसम्मका सबै काममा संलग्न छन्।
एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रा.लिले वातावरणमैत्री, गुणस्तरीय र प्रतिस्पर्धी उत्पादनमार्फत नेपाली निर्माण क्षेत्रमा दीर्घकालीन योगदान दिने लक्ष्य लिएको छ।
अध्यक्ष ढकालका अनुसार, 'सस्तो, छिटो र बलियो निर्माण समाधानका लागि यो नयाँ प्रयास हो, जसले आयात प्रतिस्थापन मात्र होइन, देशकै सिप र स्रोत प्रयोग गरेर आत्मनिर्भर अर्थतन्त्रको बाटो देखाएको छ।'