भाटभटेनी समूहले भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको छ।
भाटभटेनी, व्यवसायी उमेश श्रेष्ठसहितको टिमले विशेष आर्थिक क्षेत्र भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग स्थापनाका लागि बुधबार शिलान्यास भएको छ।
समूहका अध्यक्ष मीनबहादुर गुरुङले भूमि पूजासहित बुधबार उद्योगको शिलान्यास गरेका हुन्।
'यस नयाँ परियोजनाले भाटभटेनीको व्यापारिक विविधिकरणमा एक महत्त्वपूर्ण कदम चालेको छ भने नेपालको औद्योगिक वातावरण सुधारोन्मुख रहेको सकारात्मक सन्देश प्रवाह गरेको छ,' भाटभटेनीका सिओओ पानु पौडेलले भने।
यस उद्योगले करिब एक हजार दुई सय रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।
अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने यस उद्योगमा आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहने गरी निर्माण गरिने पौडेलले बताएका छन्।
अन्तर्राष्ट्रिय मापदण्डअनुरुप बन्ने कारखानाले विशेषतः भाटभटेनीका स्टोरहरूमार्फत् स्थानीय बजार तथा अन्तर्राष्ट्रिय बजारको लागि तयारी पोशाकको उत्पादन गर्ने लक्ष्य लिएको पौडेलले जानकारी गराए।
'यस परियोजनाले भाटभटेनीको स्थानीय उत्पादन, बजारीकरण र रोजगारीलाई बढाउने रणनीतिक योजनालाई विस्तार गर्नमात्र होइन, नेपालका औद्योगिक नीतिहरू र वातावरण सुधार हुँदै गएको सकारात्मक सन्देश दिने एउटा माध्यम बन्नेछ भन्ने विश्वास पनि लिएको छ,' उनले भने।
आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटबाट विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्ने अनुमति प्राप्त उद्योगलाई सुरूका तीन वर्षको भाडा छुट दिने व्यवस्था गरिएको छ।
त्यसपछिको अवधिमा लाग्ने मासिक भाडादर पनि चार गुणा घटाइएको छ।
यसअघि भाडादर प्रतिवर्ग मिटर २० रूपैयाँ रहेकोमा अब ५ रूपैयाँ मात्रै लाग्ने व्यवस्था गरिएको छ।