मेरियट इन्टरनेसनलसँगको आफ्नो सहकार्यलाई निरन्तरता दिँदै सिजी हस्पिटालिटीले नयाँ होटल श्रृंखला 'सिरिज बाइ मेरियट' को सुरुवात गरेको छ।
सिजी हस्पिटालिटीले आफ्नो बहुमत सेयर रहेको कम्पनी कन्सेप्ट हस्पिटालिटी मार्फत मेरियट इन्टरनेसनलसँग उक्त साझेदारीको घोषणा गरेको हो।
यो नयाँ होटल श्रृंखला भारतको प्रसिद्ध वातावरणमैत्री होटल चेन द फर्नसँगको सहकार्यमा सुरू गरिएको छ।
यस सहकार्यले सिजी हस्पिटालिटीको नेपाल, संयुक्त अरब इमिरेट्स, श्रीलंका र फिलिपिन्स जस्ता मुख्य बजारहरूमा बढ्दो उपस्थितिलाई थप सुदृढ बनाउने कम्पनीले विस्वास लिएको छ।
सिजी हस्पिटालिटी सिजी कर्प ग्लोबल अन्तर्गत सञ्चालनमा रहेको आतिथ्य कम्पनी हो।
सम्झौता अनुसार द फर्न, फर्न रेसिडेन्सी र फर्न हेबिटाट अब म्यारियटको अन्तर्राष्ट्रिय प्रणालीमा समावेश हुनेछन्।
हाल कन्सेप्ट होस्पिटालिटी अन्तर्गत ९० वटा भारतीय सहरहरूमा १२० भन्दा बढी होटल सञ्चालनमा छन् भने ४० होटल विस्तारको क्रममा छन्।
नयाँ सम्झौताबाट करिब ८४ वटा फर्न ब्रान्डका होटल र करिब ६ हजार कोठा म्यारियटको भारतस्थित पोर्टफोलियोमा थपिनेछन्।
सम्झौतामा म्यारियटले कन्सेप्ट होस्पिटालिटीमा लगानी गर्ने र भारतमा फर्न ब्रान्डहरूका लागि विशेष सह-ब्रान्डिङ गर्नेछ।
यस सम्झौता पश्चात फर्न होटलहरूले म्यारियटको अन्तर्राष्ट्रिय बुकिङ प्रणाली, प्रविधि तथा करिब २३ करोड ७० लाख सदस्य रहेको 'बोनभोय लोयल्टी प्रोग्राम' को फाइदा लिन सक्नेछन्।
यो सहकार्यले विश्वव्यापी सम्भावना बोकेका क्षेत्रीय रूपमा स्थापित ब्रान्डहरूमा सिजी हस्पिटालिटीको दीर्घकालीन विश्वासलाई प्रतिबिम्बित गर्दछ।
सिजी हस्पिटालिटीले 'द फर्न' लाई वातावरणमैत्री र उच्चस्तरीय आतिथ्य सेवाको एक अग्रणी ब्रान्डको रूपमा स्थापित गर्दै आफ्नो विश्वव्यापी यात्रा तय गर्दै आएको छ।
यसअघि सिजी हस्पिटालिटीले फिलिपिन्सस्थित फार्म एट सान बेनिटोलाई पनि म्यारियटको 'अटोग्राफ संग्रह' ब्रान्डमा सञ्चालन गर्ने घोषणा गरिसकेको छ।
सिजी हस्पिटालिटीले नेपालमा पनि वेलनेस, पर्यटन र जीवनशैलीसँग सम्बन्धित क्षेत्रमा लगानी गर्दै आएको छ।
जसअन्तर्गत नवलपुर स्थित मिराया वेलनेस तथा गल्फ रिसोर्ट, चितवन स्थित उन्नति कल्चरल भिलेज, काठमाडौंस्थित भिभान्ता लगायतले आतिथ्य क्षेत्रमा सेवा दिँदै आएका छन्।
कम्पनीका अनुसार नेपालमा अन्य परियोजनाहरू पनि तयारीको क्रममा रहेका छन्, जसले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उभ्याउन सहयोगी भूमिका खेल्नेछन्।
सिजी कर्प ग्लोबल अन्तर्गत २०० भन्दा बढी कम्पनी, २६० भन्दा बढी ब्रान्ड र २० हजारभन्दा बढी कर्मचारी कार्यरत छन्।
३२ देशमा व्यापार विस्तार भइरहेको यस कम्पनीले उपभोग्य वस्तु, बैंकिङ, ऊर्जा, आतिथ्य सेवा, आवास, सञ्चार, सिमेन्ट, र शिक्षा जस्ता क्षेत्रमा लगानी गर्दै आएको छ।
सिजी होस्पिटालिटी अन्तर्गत हाल १२ देशका १२७ स्थानमा १९५ भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालनमा छन्। यसमा ताज, जेटविङ, रेडिसन, हिल्टन र फेयरमोन्टजस्ता विश्वविख्यात ब्रान्डसँग सहकार्य गरिएको छ।