'मैले मैतीदेवीको न्यू समिट स्कुलमा १३ वर्ष पढाएँ। जब म युनिफर्म नलगाई बसेकी हुन्थेँ, विद्यार्थीहरू मलाई क्यान्टिनको स्टाफ भन्ठान्थे।'
गीता शर्मा खड्काले यसो भन्दा म छक्क परेँ।
मैले उनको कुरै बुझिनँ — विद्यार्थीहरूले आफ्नै शिक्षकलाई किन क्यान्टिनको स्टाफ भन्ठान्नू?
म अलमलिएको देखेर गीताले अर्थ लगाइन्।
उनलाई पहिल्यैदेखि खाना बनाउन रूचि रहेछ। स्कुलमा पढाउँदा पनि खाली समय विद्यार्थीहरूका लागि खाना पकाउँदी रहिछन्। त्यही भएर कक्षा नभएको बेला उनको धेरैजसो समय क्यान्टिनमै बित्दो रहेछ।
खाना पकाउने विशेष रूचिले क्यान्टिन मात्र होइन, क्यान्टिनको भान्सामा समेत गीताको आउजाउमा कुनै रोकतोक भएन।
उनको त्यो रूचि कति गहिरो थियो भने, आखिरमा उनले शिक्षण पेसा नै छाडिन् र पूर्णकालीन भान्से भएर आफ्नै रेस्टुरेन्ट खोलिन्।
गीताले तीन वर्षअघि स्कुलको जागिर छाडेर खोलेको रेस्टुरेन्ट काठमाडौंको मध्य–बानेश्वरमा छ। नाम हो — नुडल्स बार।
यो रेस्टुरेन्टको एउटा विशेषता छ — यहाँ रैथाने स्वादको बर्मेली खाना पाइन्छ।
आफूले बच्चैदेखि खाँदै हुर्केको बर्मेली स्वाद नेपालीहरूलाई चखाउने उद्देश्यले नै यो रेस्टुरेन्ट खोलेको उनी बताउँछिन्।
'काठमाडौंमा बर्मेली रेस्टुरेन्ट धेरै छैन। बर्मेली खानाबारे धेरैलाई थाहा पनि छैन,' उनले भनिन्, 'नेपालीहरूलाई कोरियन खाना थाहा छ; जापानी, चाइनिज, मलेसियन वा अन्य देशका खानेकुरा थाहा छ। तर बर्मेली खाना धेरैले चाखेका हुँदैनन्। त्यही भएर मैले यसमा व्यावसायिक सम्भावना देखेँ।'
केही वर्षयता काठमाडौंमा रेस्टुरेन्ट संस्कृति ह्वात्तै बढेको छ। मान्छेहरू विभिन्न देशका परिकारको स्वाद चाख्न रेस्टुरेन्ट जान्छन्।
यही सिलसिलामा कोरियन, जापानी, चिनियाँजस्तै बर्मेली खानाले पनि नेपालीको मन जित्न सक्ने देखेर रेस्टुरेन्ट खोल्ने आँट आएको उनी बताउँछिन्।

बर्मेली खाना र गीताको व्यक्तिगत सम्बन्ध चाहिँ के हो? कसरी उनी सानैदेखि बर्मेली खाना खाएर हुर्किइन्?
मेरा यी प्रश्नमा गीताले भनिन्, 'मेरी आमाको पुर्ख्यौली घर बर्मा (अहिलेको म्यानमार) हो। उहाँको परिवारका धेरै सदस्य अहिले पनि उतै हुनहुन्छ। आमा बर्मामै हुर्किनुभयो। सानैदेखि उताकै खाना खानुभयो। हामीलाई पनि त्यही खुवाएर हुर्काउनुभयो। मैले आमा र मेरो मावलीतिरका नातेदारबाट बर्मेली खाना पकाउन सिकेँ।'
बर्मेली खानाको स्वाद जिब्रोमै झुन्डिएको भए पनि गीता अहिलेसम्म म्यानमार गएकी छैनन्।
केही वर्षअघि जाने तयारीमा थिइन्। त्यही बेला कोभिड महामारी सुरू भएर भ्रमण रद्द भयो। स्कुलमै पढारहेकी भए कुनै बेला छुट्टी लिएर जान्थिन् होला। तर महामारी सकेलगत्तै उनले जागिर छाडेर रेस्टुरेन्ट खोलिन्। त्यसपछि त यति व्यस्त भइन्, चाहेर पनि म्यानमार जाने समय निकाल्न सकेकी छैनन्।
गीताले यो रेस्टुरेन्ट आफ्नो श्रीमानसँग मिलेर खोलेकी हुन्। स्कुलको तलब बचत गरेर करिब आठ लाख रूपैयाँ लागतमा रेस्टुरेन्ट खोलेको उनी बताउँछिन्।
उनले सुरूमा केही फर्निचर, एउटा सानो रेफ्रिजेरेटर र केही अत्यावश्यक सामान किनेर रेस्टुरेन्ट सुरू गरेकी थिइन्। पछि बिस्तारै अरू सामान थप्दै लगिन्।
सुरूआती दिनमा नेपाली ग्राहकलाई बर्मेली स्वाद चखाउनु नै मुख्य चुनौती थियो। नेपालीहरूलाई मन पर्ला कि नपर्ला भन्ने उनलाई खुब डर थियो।
'धेरैले बर्मेली स्वाद नबुझेर यो खानेकुरा किन यस्तो भनेर सोधिरहन्थे,' उनले भनिन्, 'मैले यहाँ आउने ग्राहकलाई पटक पटक बर्मेली खानाको स्वाद यस्तै हुन्छ, त्यहाँका मान्छे यसरी नै पकाउँछन्, यसरी नै खान्छन् भनेर बुझाउनुपर्थ्यो।'
तिनैमध्ये धेरै ग्राहक अहिले उनीकहाँ नियमित आउँछन्। कोरियन, जापानी वा चिनियाँजस्तै बर्मेली स्वाद मन पराउने नेपालीहरूको संख्या बढ्दै गएको उनको अनुभव छ।
रेस्टुरेन्ट खोलेको केही समयमै फुड भ्लगरहरूले फोटो र भिडिओ सामाजिक सञ्जालमा सेयर गरेर व्यापार प्रवर्द्धन गर्न मद्दत गरेको उनी सम्झन्छिन्।
'फुड भ्लगरहरूले भिडिओ अपलोड गरेपछि ग्राहक आउने क्रम ह्वात्तै बढ्यो। पहिले एकाध मान्छेलाई मात्र थाहा थियो, पछि धेरैले थाहा पाए,' उनले भनिन्, 'यसले रेस्टुरेन्टको प्रचार त भयो, तर हामी एकैचोटि धेरै ग्राहक धान्ने गरी तयार भइसकेका थिएनौं। त्यसैले कहिलेकाहीँ त पकाएको खानेकुरा सबै सकिएर दिउँसो २-३ बजे नै रेस्टुरेन्ट बन्द गर्नुपर्ने अवस्था आयो।'
उनको रेस्टुरेन्ट वरपर कलेजहरू धेरै छन्। युट्युबमा सार्वजनिक फुड भ्लगका कारण कलेजका विद्यार्थी आकर्षित भएको उनी बताउँछिन्। अहिले गीताको रेस्टुरेन्ट मध्य–बानेश्वरका कलेज विद्यार्थीहरूको खाजा खाने 'हब' बनेको छ।
यसबाहेक म्यानमारबाट आएका वा म्यानमार घुमेर त्यहाँको स्वाद चाखेकाहरू पनि ठूलो संख्यामा आउँछन्। बर्मेली स्वाद मन पराउने विदेशीहरू पनि उनका नियमित ग्राहक हुन्।

गीताको रेस्टुरेन्ट बिहान १० देखि साँझ साढे ७ बजेसम्म खुल्छ। रेस्टुरेन्टमा प्राय: तिनै खानेकुरा पाइन्छन्, जुन गीताले सानैदेखि आमा र हजुरआमाबाट पकाउन सिकेकी थिइन्। त्यसबाहेक युट्युबबाट थप बर्मेली खाना पकाउन पनि सिकेकी छन्।
यहाँ धेरैले खाने 'फालुदा' हो। यो दूधबाट बनाइने चिसो पेय हो। दूधमा सेवई, साबुदाना, जेली, चियासिड, काजु, बदाम, फलफूल र आइसक्रिम मिसाएर फालुदा बनाइन्छ। धेरैले 'डिजर्ट' का रूपमा खान्छन्। अहिले गर्मीमा यसको बिक्री धेरै छ। गीताले युट्युब हेरेर फालुदा बनाउन सिकेकी हुन्।
फालुदापछि सबभन्दा चर्चित खाना बर्मेली स्वादको थुप्पा हो। यसमा चामलको पिठोको चाउचाउ र चनाको दालबाट झोल बनाइन्छ। सुख्खा चाउमिन र तोफुलाई तेलमा तारेर बनाइने परिकार पनि खुब रूचाइएको छ। यी दुवै नेपाली स्वादसँग मिल्दाजुल्दा छन्।
'हामीकहाँ कुनै पनि परिकारमा मैदा प्रयोग हुँदैन,' उनले भनिन्, 'चामलको चाउचाउ म आफ्नै भदाको कारखानाबाट ल्याउँछु। उसले यस्तो चाउचाउ बनाउन थाइल्यान्डमा सिकेको हो।'
गीताको 'नुडल्स बार' रेस्टुरेन्टमा अहिले आठ थरीका बर्मेली खाना पाइन्छन्। त्यसबाहेक काठमाडौंको लोकप्रिय म:म, बिरयानी लगायत परिकार पनि राखेकी छन्। भविष्यमा मेनु थप्दै लैजाने उनको योजना छ।
'यहाँको मेनुमा खानेकुराको नाम पढेर मान्छेहरू हाँस्थे। यो के हो, कसरी बनाइन्छ भनेर सोध्थे,' उनले भनिन्, 'मैले म्यानमारकै रैथाने झलक दिन खानाको नाम पनि उताकै राखेकी छु। अहिले नियमित आइरहनेहरूलाई ती सबै नाम कन्ठ छन्।'
कलेजका विद्यार्थीलाई लक्ष्य गरिएकाले यहाँको मेनु सस्तो छ। १८० देखि २५० रूपैयाँका परिकार पाइन्छन्। मेनु महँगो नहोस् भनेर गीताले रेस्टुरेन्टको सजावटमा खासै खर्च गरेकी छैनन्।
'तामझाम गर्नेबित्तिकै खानाको भाउ बढाउनुपर्छ। मकहाँ आउने धेरै ग्राहक कलेजका विद्यार्थी भएकाले म अहिले भाउ बढाउने पक्षमा छैन,' उनले भनिन्, 'त्यसैले रेस्टुरेन्टको सजावटभन्दा खानेकुराको गुणस्तर र सरसफाइमा ध्यान दिइरहेकी छु। रेस्टुरेन्ट चलाउन खास चाहिने भनेको यही हो।'
गीतालाई आफ्नो रेस्टुरेन्ट घरजस्तै लाग्छ। घरकै झलक दिन उनले भान्सा खुला राखेकी छन्। खाना पकाएको, भाँडाकुँडा राखेको सबैले हेर्न सक्छन्।
यहाँ उनी र उनको श्रीमानसहित पाँच जना कर्मचारी छन्। बर्मेली खाना बनाउन गीतालाई मात्र आउँछ। ग्राहक बढ्दै जान थालेपछि कर्मचारीहरूलाई पनि सिकाउँदै छिन्। उनीहरूले राम्ररी जानेपछि मेनु बढाउँदै लैजाने उनको विचार छ।
उनको रेस्टुरेन्टमा अहिलेसम्म डेलिभरी सेवा छैन। कहिलेकाहीँ पारिवारिक जमघट निम्ति ठूलो परिमाणको अर्डर आए उनी घरमै डेलिभरी पनि गर्छिन्।
'मेरो जिन्दगीमा धेरै ठूलो सपना छैन। एउटा छोरा विदेशमा छ, छोरी आठ कक्षा पढ्दै छिन्। परिवार सानो भएकाले आवश्यकता सीमित छ,' गीताले भनिन्, 'अहिलेको कामले जिन्दगी चलाउन मज्जाले पुगिरहेको छ।'
'म खुसी छु, सन्तुष्ट पनि छु।'
***
