यस वर्ष आमा खुवाउने औंसी (मातातीर्थ औंसी)मा फलफूलको व्यापार घटेको छ।
गत वर्षको तुलनामा यो वर्ष औंसीमा फलफूलको व्यापार २५ प्रतिशतले घटेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका अध्यक्ष अमर बाँनियाले जानकारी दिए।
'औंसीको लागि भनेर दुई तीन दिन अघिबाट कारोबार बढ्न थाल्छ,' उनले भने, 'यो वर्ष गत वर्षको तुलनामा ७५ प्रतिशत मात्रै कारोबार भयो।'
पछिल्लो समय मानिसको क्रयशक्ति घटेका कारण व्यापारमा कमी आएको उनको बुझाइ छ।
उनका अनुसार यो वर्ष औंसीलाई लक्षित गरी फलफूलको मूल्य पनि बढेको छैन। गत वर्षहरूमा भने औंसीलाई लक्षित गरी फलफूलको मूल्य बढ्ने गरेको थियो।
यो वर्ष औंसीमा स्याउ, केरा र अंगुर बढी मात्रामा बिक्री भएको उनले जानकारी दिए।
'पहिले आँप पनि बिक्री हुन्थ्यो,' उनले भने, 'यो वर्ष आँप खासै बिकेन।'
नेपाली समुदायमा आमा खुवाउने औंसी पर्व जस्तै हो। यसदिन छोराछोरीले आमालाई फलफूल, मिठाई, तथा कपडा दिन्छन्।