सिद्धार्थ हस्पिटालिटीले चितवनको नारायणघाटमा सेवा विस्तार गरेको छ। साविकको होटल सेन्ट्रल पामलाई ‘सिद्धार्थ होटल चितवन’ नामबाट सञ्चालनमा ल्याइएको सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए।
करिब २५ रोपनीमा फैलिएको होटलमा स्वीट, सुपर डिलक्स र डिलक्स गरी ४४ वटा कोठा छन्। साथै माया डाइनिङ रेस्टुरेन्ट पनि सञ्चालनमा छ। यो होटल नारायणघाटको पुल्चोकबाट ५०० मिटर दुरीमा छ। बजार नजिक तर शान्त वातावरणमा समय बिताउन चाहनेका लागि यो भरपर्दो होटल हुने अध्यक्ष न्यौपानेले बताए।
होटलमा स्वीमिङ पुलका साथै थिएटर सेटअपमा चार सय जना अट्ने क्षमताको सभाहल, करिब ५० जना अट्ने क्षमताको बोर्ड रुम पनि छ। कम्पनीले हाल भएको पूर्वाधारमा लगानी थप गरी सुविधा विस्तारको योजना बनाएको छ ।
‘सिद्धार्थको चेन हस्पिटालिटी विस्तार र सुलभ मूल्यमा गुणस्तरीय सेवा दिने उद्देश्यले सिद्धार्थले होटलको व्यवस्थापनको जिम्मेवारी लिएको हो,' उनले भने।
प्रकृतिमा रमाउने र प्रिमियम सेवा लिन चाहनेका लागि यो उपयुक्त गन्तव्य भएको न्यौपानेको भनाइ छ।
सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णप्रसाद न्यौपानेले आगामी दिनमा लगानी वृद्धि गरी होटलको स्तरोन्नति पनि गरिने बताए।
‘कोठाहरु थप गरेर ६० वटा बनाउने योजना छ। साथै तीन वटा सम्मेलन हल बनाउने र स्वीमिङ पुलको पनि स्तरोन्नति गरिनेछ,' सिइओ न्यौपानेले भने। होटलमा स्पा सुविधासहित हेल्थ क्लब र पुलसाइड बारको पनि सुविधा थप हुनेछ।
सिद्धार्थ ग्रुपको सिद्धार्थ हस्पिटालिटीअन्तर्गत हाल विभिन्न ब्राण्डमा ३० भन्दा बढी कम्पनी सञ्चालनमा छन्। कम्पनीका अनुसार पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव, तीन तारे स्तरका सिद्धार्थ बाटिकाअन्तर्गत विभिन्न होटल सञ्चालनमा छन्। त्यसबाहेक विभिन्न स्थानमा सिद्धार्थ कटेज रेष्टुरेन्ट, रिसोर्ट तथा एस क्याफे पनि सञ्चालन गरिरहेको छ। हाल सिद्धार्थ ग्रुपअन्तर्गत दुई हजार ५०० भन्दा बढीले रोजगारी पाइरहेका छन्।
सिदार्थ ग्रुपले यसअघि चितवनको सौराहा नजिकै सिदार्थ भिलासा वनबास र इच्छाकामनाको चुम्लिङटारमा सिद्धार्थ होटल सञ्चालन गरेको छ।