चीनको चहच्याङ प्रान्तको इयु सहरबाट नटस्टप रेलमार्ग र सडकमार्ग हुँदै नेपालमा पहिलो पटक सामान भित्रिएको छ।
इयुबाट झण्डै २५ सय किलोमिटर रेलमार्फत् सामान चीनको सिगात्से ल्याइएको थियो।
त्यहाँबाट पाँच सय किलोमिटर सडकमार्ग हुँदै सिन्धुपाल्चोकको तातोपानी नाका पार गरी शुक्रबार काठमाडौंस्थित चोभारको सुख्खा बन्दरगाहमा तीन कन्टेनर सामान आइपुगेको हो।
चीनका आर्थिक तथा व्यावसायिक कन्सुलर से युइले चोभार सुख्खा बन्दरगाहामा सामान आइपुगेपछि ऐतिहासिक उपलब्धि भएको बताउँदै खुसी व्यक्त गरे।
'चीनको चहच्याङबाट नेपालको सुख्खा बन्दरगाह काठमाडौंसम्म पहिलो नन–स्टप रेलवे ढुवानीको सफल सुरुवात भएको छ। यो ऐतिहासिक क्षणले चीन र नेपालबीचको व्यापारमा नयाँ युगको संकेत मात्र गर्दैन, चीन र नेपालबीचको आर्थिक तथा व्यापारिक सहकार्यको जग पनि बलियो बनाउँछ,' उनले भने।
अहिलेका लागि इयु सहरबाट सातामा ३६ कन्टेनर ल्याउन सकिने भएको छ।
उक्त रेलमार्गबाट चीनका विभिन्न स्थानमा सामान ढुवानी गर्नुपर्ने भएकाले अहिलेका लागि नेपालका वस्तुहरूका लागि एक सातामा ३६ कन्टेनर व्यवस्था गरिएको हो।
उक्त रेलमार्गको व्यवस्थापन चीनको स्याउ युएन सिगात्से इन्डस्ट्रियल कम्पनी लिमिटेडले गर्दै आएको छ। त्यसको नेपाल प्रतिनिधि डाइरेक्ट बाइ सर्भिस प्रालि हो।
डाइरेक्स बाइ सर्भिस चीनको चर्चित कम्पनी अलिबाबाको क्रस बोर्ड पार्टनर हो।
यो मार्गबाट सामान ढुवानी समय उल्लेख्य रूपमा घटेको र व्यापारीका लागि ढुवानी लागत पनि कम हुने डाइरेक्स बाइ सर्भिसका अध्यक्ष सुशील थापाले बताए।
'इयुबाट पानीजाहाज हुँदै नेपालको सीमामा आइपुग्न ४५ देखि ६० दिन लाग्छ, सडकमार्गबाट २० देखि ३० दिन लाग्छ,' अध्यक्ष थापाले भने, 'अब भने सिगात्सेसम्म रेल र त्यसपछि सडकमार्ग प्रयोग गर्दा सामान सातदेखि १० दिनमै नेपाल आइपुग्ने देखिएको छ।'
थापाका अनुसार यो प्रणालीले व्यापारलाई सहज बनाउनुका साथै ढुवानी खर्चमा समेत कटौती गर्नेछ।
थापाले व्यापारीहरूलाई नयाँ अवसरको ढोका खुल्ने र नेपालमा चीनबाट आउने सामान अझ सुरक्षित रुपमा ढुवानी हुने बताए।
'पहिले दसैंको लागि ल्याएको सामान कस्टम क्लियर नहुँदा तिहारसम्म रोकिएको अवस्था हुन्थ्यो, अब त्यो समस्या अन्त्य हुने विश्वास छ,' उनले भने।
उक्त नयाँ ढुवानी प्रणालीले नेपाली व्यापारीलाई समयमै सामान उपलब्ध गराउन सहयोग पुर्याउने र निकट भविष्यमा नेपाल–चीन व्यापार अझ सहज र छिटो हुने अपेक्षा गरिएको छ।