नेपालका लागि जापानका राजदूत मेएडा टोरूले वीरगञ्ज महानगरपालिका भ्रमणका क्रममा केएनपी जापान प्रा. लि. को कारखानाको अवलोकन गरेका छन्।
उनलाई केएनपी जापान प्रा. लि. का निर्देशक अशोक कुमार बैद्य र कारखानाका प्रबन्धक प्रवीण जाधव लगायत कारखानाका कर्मचारीहरूले स्वागत गर्नुका साथै सम्पूर्ण कारखाना अवलोकन गराए।
राजदूतले जापान, भारत र नेपालबीचको संयुक्त साझेदारीमा सञ्चालन रहेको यस बहुराष्ट्रिय संयुक्त लगानीका उद्योगको कार्यप्रणाली तथा गुणस्तरप्रति प्रसन्नता व्यक्त गरे।
उनले यस्तो सहयोगात्मक प्रयासले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
राजदूत टोरूले यस्ता बहुदेशीय लगानीका उद्योगहरूको प्रतिस्पर्धात्मक अवस्था विकसित गर्न अस्वस्थ्यकर समस्याहरूको समाधान नेपाल सरकारले तदारूकता साथ गर्ने कुरामा आशा व्यक्त गरे।
उनले हाल नेपालमा सञ्चालनमा रहेका जापानी उद्योगहरूको अनुभवका आधारमा थप लगानीको संभावना बढ्ने बताए।
यसअघि पनि दुई जना जापानी राजदूतहरूको अवलोकन भ्रमण केएनपी जापान प्रा लिमा भएको थियो।