हालै सम्पन्न छैठौ बिम्स्टेक शिखर सम्मेलन तथा नेपालका प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणको क्रममा प्रतिष्ठित इनर्जी ड्रिंक ब्रान्ड रेड बुलका थाइ तथा नेपाली प्रतिनिधि र सरकारी पक्षबीच महत्त्वपूर्ण अनौपचारिक भेटघाट भएको छ।
थाइल्याण्डस्थीत नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, माननीय परराष्ट्रमन्त्री आरजु राणा देउवा, रेड बुलको मातृकम्पनी टिसिपी समूहका प्रमुख कार्यकारी अधिकृत सरभूत युविध्या तथा नेपालमा रेड बुलको लाइसेन्सी सरस बेभरेजेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालबीच उपलब्धीमूलक भेटघाट भएको थियो।
उक्त भेटघाटमा सिलवाल र युविध्याले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री देउवालाई रेड बुल ब्रान्ड थाइल्याण्ड र नेपालबीच सहकार्यको सफल उदाहरण बनेको जानकारी गराउँदै विश्वव्यापी रूपमा अद्वितीय स्वाद र गुणस्तरको लागि परिचित रेड बुल ब्रान्ड नेपाली उपभोक्ता माझ पनि अत्यन्त लोकप्रीय रहेको जानकारी समेत गराएका थिए।
नेपालको अमरापुरीस्थित फ्याक्ट्री रेड बुलको विश्वकै पाचौं फ्याक्ट्री रहेको र उत्पादनमा आवश्यक पर्ने आधाभन्दा बढी ऊर्जा सोलार प्रविधिबाट उत्पन्न गराइने हुँदा वातावरणमैत्री फ्याक्ट्री अवलम्बन गर्न सफल भएको अवगत गराउँदै सिलवाल र युविध्याले हाल नेपालस्थित फ्याक्ट्रीले ४०० बढीलाई रोजगारी दिई रहेको तथा थप २ मिलियन अमेरिकी डलर लगानी गरी उक्त फ्याक्ट्रीलाई विस्तार गर्दै थप रोजगारी सिर्जना गर्ने योजना पनि सुनाएका थिए।
यस क्रममा सरस बेभरेजेजले नेपाली बजारमा नयाँ उत्पादनहरू ल्याउन तथा छिमेकी राष्ट्रहरू भारत र बंगलादेशमा निर्यातका लागि गृहकार्य गरिरहेको जानकारी समेत गराइएको थियो।
हाल नेपालमा सरस बेभरेजले रेड बुलको व्यापारबाट १ अर्ब बढी कर नेपाल सरकारलाई बुझाउँदै आएको छ।
ठूलो लगानीका बावजुद रेड बुलले नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धी गम्भीर समस्याको सामना गरिरहेको ध्यानाकर्षण गराएका थिए।
कमजोर गुणस्तरका पहेलो तथा रेड बुल जस्तै देखिने इनर्जी ड्रिंकहरूको बाक्लो उपस्थितिले रेड बुलको बौद्धिक सम्पत्तिमा क्षय हुनुका साथै नेपाली उपभोक्ता झुक्किरहेकोले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री देउवासँग सरकारी तवरबाट त्यसको निर्मुलनका लागि सहयोगको अपेक्षा गरेका थिए।
सरकारी पक्षबाट पनि यस्तो अनुचित व्यापारिक अभ्यास विरुद्ध कडा कारबाही गर्ने आश्वासन आएको थियो।
प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री देउवाको थाइल्याण्ड भ्रमण अघि नेपालस्थित थाइ राजदूत सुवापोंग सिरिसोर्नले सरस बेभरेजेजको मुख्यालय भ्रमण गर्नुका साथै खुल्ला सिमाना भएका देश र सिमानाबाट गैह्र कानुनी रूपमा भित्रिने र बाहिरिने इनर्जी ड्रिंकका विषयमा चिन्ता ब्यक्त गर्दै गुणस्तरमा सम्झौता गर्न नहुने र गुणस्तर नभएका अन्य उत्पादनसँग नडराउन आग्रह गरेका थिए।
थाइ राजदूतको भेटघाट अघि टिसिपीका प्रतिनिधिहरूले समेत रेड बुलको फ्याक्ट्री नै पुगी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको गुणस्तर सुनिष्चित गर्न अनुगमन गरेका थिए।