केही दिनअघि मलाई मध्यपुर थिमीस्थित भुलःख्यः दबु (डबली) जानु थियो। मेरो घर थिमी नगरपालिकामै भए पनि मलाई यहाँका स–साना गल्ली छिचोल्नुपर्ने ठाउँहरू पुग्न सकस हुन्छ।
मैले गुगल म्यापमा उक्त ठाउँ खोजे। गुगलले स–साना गल्लीहरूबारे खासै जानकारी नदिने रहेछ। अनि मैले 'गल्ली म्याप्स' नामको एप डाउनलोड गरेँ। म्यापमा त्यो ठाउँ ३६० डिग्रीबाट हेर्न मिल्ने तस्बिर पनि थियो। अनि मलाई त्यो ठाउँ भेट्टाउन गाह्रो परेन।
गल्ली म्याप्सका कारण आजकल मलाई काठमाडौंका गल्लीहरूमा हराइएला भन्ने डर लाग्दैन।
यो म्याप बनाउने श्रेय काठमाडौंका राजविक्रम महर्जनलाई जान्छ। एरोनटिकल इन्जिनियर उनलाई आफ्नो पढाइ भन्दा धेरै अनुभवले यो म्याप बनाउन प्रेरित गरेको थियो।
राजविक्रमका बुवा एयरपोर्टमा प्राविधिकका रूपमा काम गर्थे। एयरपोर्टको उच्च ओहोदामा एरोनटिकल इन्जिनियरहरूलाई देखेका बुबा छोराले पनि त्यस्तै ठाउँमा काम गरेको देख्न चाहन्थे। राजविक्रमले बुबाकै सपना पछ्याए। र, सपना पूरा गर्न सन् २०१० मा चीन गए।
चार वर्ष चीनमा पढेर फर्किएपछि उनले सन् २०१४ मा हिमालय एयरलाइन्समा काम थाले। तर काम गर्न थालेको केही समयपछि नै (सन् २०१५) नेपालमा ठूलो भुइँचालो गयो। उडानहरू बन्द भए।
भूकम्पपछि जब मानिसहरू सामान्य जीवनमा फर्किने तरखरमा थिए, भारतले नेपालमा नाकाबन्दी गर्यो। उडान फेरि प्रभावित भइहाल्यो।
एयरलाइन्समा काम नभएपछि राजविक्रम फुर्सदमा थिए। चीनको विश्वविद्यालयमा उनले अहिलेजस्तो आकाशमा उडाउन मिल्ने ड्रोन बनाउन सिकेका थिए। त्यति बेला त्यसलाई आरसी प्लेन वा रिमोट कन्ट्रोल प्लेन भनिन्थ्यो। उनले आफ्नो सोखका रूपमा त्यो बनाएर उडाउन थाले।
भूकम्पपछि एक्कासि त्यस्ता साना प्लेनको माग बढ्न थाल्यो। ड्रोन भन्ने नाम पनि सर्वमान्य भयो। ड्रोनबारे जानकार राजविक्रम त्यसपछि बाहिरका काममा सक्रिय हुन थाले। काठमाडौं उपत्यका बाहिरका ठाउँहरू घुमे।
'म काठमाडौं उपत्यकाको मान्छे, बाहिर भनेकै चीन गएको थिएँ। भूकम्पपछि नुवाकोट, झापा लगायत पूर्वका धेरै ठाउँ पुगेँ,' उनले भने, 'मैले त्यति बेलासम्म गाउँ कस्तो हुन्छ भन्ने नै देखेको थिइनँ। गाउँ देख्दा एकदम अचम्म लाग्यो।'
भुइँचालोले काठमाडौं उपत्यकाका पनि थुप्रै सम्पदामा क्षति पुर्याएको थियो। एउटै रूखले निर्माण भएको मन्दिर भनेर प्रसिद्ध काष्ठमण्डप भत्किएर पुनर्निर्माणको पर्खाइमा थियो। उपत्यकाकै प्रसिद्ध यो मन्दिर निर्माणका लागि प्राविधिक र अप्राविधिक टोली गठन भयो। त्यो समूहमा राजविक्रम पनि थिए।
'मन्दिर निर्माण कसरी भइरहेको छ भन्ने मैले नजिकबाट नियालिरहेका थिएँ। पुनर्निर्माणमा खटिएका वास्तुकारले पुरानो फोटो संकलन गर्दै मन्दिरको नापजाँच गर्दा यस्तो के गरेको होला भन्ने लाग्थ्यो। मन्दिरबारे पुरातत्व विभागमा अभिलेख नै नभएको थाहा पाउँदा त झनै छक्क परेको थिएँ,' काम गर्दाको अनुभव उनले सुनाए।
एक दिन जर्मनीको टोली काष्ठमण्डप मन्दिरमाथि फोटोग्रामी गर्न आएको थियो। त्यहाँको एक विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई मन्दिरमाथि तालिम गरायो। फोटोग्रामी भनेको फोटो खिचेर त्यसको थ्रिडी मोडल बनाउने हो। नेपालका प्राविधिकहरू स्केल र पेन्सिल लिएर काम गरिरहेको र जर्मनीकाहरू फोटोबाटै नाप नक्सा लिइरहेको देख्दा राजविक्रम फेरि अचम्म परे।
उनले जर्मन टोलीलाई सोधे, 'हामी पनि तपाईंहरूसँग सिक्न सक्छौं?'
टोलीले खासै चासो देखाएन। राजविक्रम आफै तम्सिए। एयरलाइन्समा काम गर्दा उनले केही थ्रिडी मोडल बनाएका थिए। मन्दिरमा त्यसले काम गर्छ कि गर्दैन, उनलाई नै थाहा थिएन। त्यही पनि उनले प्रयास गरे।
राजविक्रमसँग ड्रोन थियो। हवाइ फोटोहरू खिच्न थाले र सफ्टवेयर प्रयोग गरेर थ्रिडी मोडलहरू निकाले। त्यसबाट आएको नतिजाले उनी आफै अवाक भए।
'जुन काम यहाँका प्राविधिकले टेप लिएर नापिरहेका थिए, त्यो त फोटोबाटै हुने रहेछ। सफ्टवेयरमा हालेर थ्रिडी मोडल बनाएपछि लम्बाइ–चौडाइ पत्ता लागिहाल्ने रहेछ,' उनले भने, 'त्यसो भएपछि त न भर्याङ राखेर माथि माथि चढनुपर्यो, न दस दसजना आर्किटेक्ट चाहियो। जम्मा दुई जना गएर फोटो खिचेपछि नाप पत्ता लागिहाल्ने रहेछ।'
यो सिकाइले काम गरेपछि राजविक्रमले काष्ठमण्डप, यट्खा, टेकु लगायत विभिन्न ठाउँका मन्दिरहरूमा काम गरे। एक दिन उनलाई केशर महलको काम आएको थियो। भवन पूरै चर्किएकाले कुनाकाप्चासम्मको नापजाँच कसरी लिने भन्ने समस्या थियो।
राजविक्रमले ड्रोनबाट सजिलै नापिदिए। यसपालि पहिलो पटक उनले सरकारसँग ड्रोन उडाउने स्वीकृति र कामको पैसा पनि लिएका थिए।
'सुरू सुरूमा काम गर्दा स्वीकृति लिनुपर्छ भन्ने नै थाहा थिएन। केशर महल नारायणहिति दरबार नजिकै भएकाले पनि लिनुपर्ने भयो। तर स्वीकृति लिन तीन महिना जति विभिन्न कार्यालय धाउनुपर्यो,' काम गर्दाको सकस बताउँदै राजविक्रमले भने, 'त्यहाँबाट आएको परिणामले पनि म आफै अचम्ममा परेको थिएँ।'
यसरी ड्रोन उडाउन विज्ञता हासिल गरिरहेका राजविक्रमले सन् २०१७ मा 'एयरलिफ्ट नेपाल' भन्ने संस्था नै खोले। यो संस्थाले सुरूमा दुर्गम ठाउँमा ड्रोनबाट औषधि पुर्याउने अवधारणा ल्याएर प्रतियोगितामा विजयी समेत भयो। यसपछि उनले भारतमा 'साउथ एसिया कनेक्ट' भन्ने कार्यक्रममा दुई महिना तालिम लिए।
राजविक्रम एयरलाइन्समा कार्यरतै थिए। तालिमबाट फर्किएपछि उनले त्यो काम छाडे र एयरलिफ्टको काममा पूरा समय दिए। त्यति बेला ललितपुर महानगरपालिका घर नम्बरिङको काम गरिरहेको थियो। महानगरले स्याटलाइट म्यापबाट घरहरू पत्ता लगाएर नम्बरिङ गरिरहेको थियो। महानगरले उनीहरूलाई थ्रिडी म्याप बनाउन अनुरोध गर्यो।
'हामीले थ्रिडी मोडलमा मात्र काम गरेका थियौं तर पनि प्रयास गर्छौं भन्यौं। पूरा म्याप बनाउन तीन–चार महिना लाग्यो तर नतिजा राम्रो भयो,' राजविक्रमले भने, 'यो काम सकिएपछि म फेरि आफै छक्क परेँ। त्यो म्यापको गुणस्तर यति उच्च छ कि, कौसीमा राखेको एक–दुई रूपैयाँ पनि प्रस्ट छुट्टिन्छ।'
ललितपुरपछि उनीहरूले कीर्तिपुर, कागेश्वरी, काठमाडौं लगायत ठाउँमा काम गर्न मात्र थालेका थिए, कोरोना महामारीले लकडाउन भयो। घर बस्दा दिक्क भएपछि राजविक्रमले लकडाउनको समयमा 'भूगोल टुर' भन्ने साइट बनाए। यसबाट विभिन्न सम्पदा स्थल अनलाइनबाट घुम्न मिल्थ्यो।
त्यही बेला उनले 'गल्ली म्याप्स' बनाउने आइडिया पनि पाए।

एक दिन राजविक्रमकी आमालाई कोरोना लाग्यो। उनको घरका मान्छेलाई बाहिर आउजाउ गर्न पूरै बन्द गरियो। हिँडडुल गर्न मिलेन। उनले अनलाइनबाट अक्सिमिटर मगाए। त्यो लिएर आएका मान्छेलाई गुगल म्यापबाट आफ्नो ठाउँ बताए। तर ती व्यक्तिले ठाउँ पत्ता लगाउनै सकेनन्। कहिले एउटा गल्ली भित्र छिरे, त कहिले अर्को।
'आफू चाहिँ छतमा भएका एक–दुई रूपैयाँको सिक्का पनि छुट्ट्याउन मिल्छ भनेर गफ दिइरहेको थिएँ, आफ्नै घर देखाउन महाभारत भइरहेको थियो,' राजविक्रमले भने, 'गुगल म्यापले धेरै पटक गलत ठाउँ पुर्यादिएपछि आफ्नै म्याप बनाउनुपर्छ भन्ने लाग्यो। म चीनमा पढ्दा बाइडु म्याप प्रयोग गर्थेँ। नेपालमा पनि त्यस्तै गर्न सकिन्छ कि भन्ने लाग्यो।'
ललितपुर महानगरले घर नम्बरिङ गरिरहे पनि त्यसलाई खोज्ने ठाउँ थिएन। महानगरले गुगललाई नै त्यसको जिम्मा दिने सोचेको थियो। तर सम्भव भइरहेको थिएन।
यसैबीच राजविक्रमले महानगरलाई भने, 'तपाईंहरूले घर नम्बर खोज्न मिल्ने ठाउँ पनि बनाउनुस् न।'
ललितपुरले आफूसँग त्यसको विज्ञता नभएकाले राजविक्रमलाई नै त्यो काम गर्न भने। 'भूगोल टुर' बनाइसकेका राजविक्रमले दुई प्रोग्रामर साथीहरूको सहयोगमा गल्ली म्याप्स बनाए।
म्याप बनाउने क्रममा उनीहरूले स्ट्रिट म्याप, सरकारी म्याप, गुगल र आफ्नै आधिकारिक तथ्यांक प्रयोग गरे। सबैलाई जोडेर बनाउँदा आफ्नो म्याप सय गुणा ठीक भएको राजविक्रमको दाबी छ।
'म्यापमा तपाईंले मंगलबजारको चोक देख्नुहुन्छ, असनको घर पनि। त्यो पनि ३६० डिग्रीमा वरपर हेर्न मिल्ने खालको,' उनले भने, 'त्यसो भएपछि मान्छेले घर नम्बर दिएपछि रातो वा नीलो, चारतले हो कि पाँचतले भनेर अलमलमा पर्नै पर्दैन।'
गल्ली म्याप बनाएको केही समयमा राजविक्रमको फोनमा रातको ११ बजे एउटा फोन आयो। भक्तपुरका एक मानिसले आफ्नो गल्ली नभेटिएको भन्दै उनलाई फोन गरेका थिए।
'त्यसको केही दिनअघि एउटा मिडियाले मेरो अन्तर्वार्ता लिएको थियो। त्यसको भिडिओ क्लिपहरू टिकटकमा हालेका रहेछन्। त्यही भाइरल भएको रहेछ,' उनले भने।
टिकटकले गर्दा एप डाउनलोड गर्नेको संख्या एकै दिनमा १० हजार कटेको थियो। अर्को दिन थप १० हजार बढ्यो।
'एकै पटक बढेका प्रयोगकर्ताका लागि हामी तयार नै थिएनौं। यसले हामीलाई थप जिम्मेवार बनायो। पछि हामीले आइसिटी अवार्ड पनि जित्यौं,' उनले भने, 'त्यति बेला हामी अरू ग्राहकको सफ्टवेयरको काम पनि गरिरहेका थियौं। त्यसपछि सबै काम सकेर गल्ली म्याप्समा मात्र ध्यान दिन थाल्यौं।'
अहिले गल्ली म्याप्समा ललितपुर, काठमाडौं, कागेश्वरी, कीर्तिपुर र बनेपाका भित्री ठाउँहरूसँगै घरहरू पनि खोज्न मिल्छ। रेस्टुरेन्ट, पसल, एटिएम, पार्किङ लट, हस्पिटल लगायत भेट्न सकिन्छ। त्यसका साथै कुन ठाउँमा कस्तो कार्यक्रम हुँदैछ भन्ने जानकारी पनि यसमा पाइन्छ। त्यति मात्र होइन, कुन कार्यक्रम कति बेला र कहाँ भइरहेको छ भन्ने पनि हेर्न सकिन्छ।
'मलाई काठमाडौंका जात्राहरू पनि म्यापमा राख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। गत वर्ष हामीले इन्द्रजात्रा राखेर हेर्यौं,' राजविक्रमले भने, 'इन्द्रजात्रामा मानिसलाई लाखे, पुलुकिसी कता पुग्यो भन्ने खबर गर्नकै लागि एउटा मान्छे खटाइने रहेछ। अहिले हामीले जिपिएस प्रयोग गरेका छौं र जात्रा कता पुगेको छ भनेर हाम्रो म्यापमा नै हेर्न सकिन्छ।'
गल्ली म्याप्ससँगै राजविक्रमको एयरलिफ्ट कम्पनीले ड्रोनमार्फत मानिसका समस्या समाधान गर्छ। भूकम्पका बेला मन्दिरहरूमा काम गरेपछि कृषि क्षेत्र, दुर्गम ठाउँमा औषधि पुर्याउन र कुनै समारोहमा फूल झार्न ड्रोन प्रयोग हुन्थ्यो। अहिले बेस क्याम्पमा अक्सिजन सिलिन्डर, डोरी, भर्याङ, औषधि पुर्याउने सँगै हिमालमा जम्मा हुने फोहोर संकलन गरेर तल ल्याउन प्रयोग हुन्छ।
'हामीसँग तीस किलोसम्म सामान बोक्न सक्ने दुइटा ड्रोन छन्। सानो हेलिकप्टर जत्तिकै ठूलो ड्रोनले रिमोट कन्ट्रोलबाट डोरी तल झार्छौं र शेर्पाहरूले त्यसमा फोहोर र सामान झुन्ड्याइ दिनुहुन्छ। त्यसपछि हामीले सामान पुर्याउँछौं, ल्याउँछौं,' राजविक्रमले भने, 'गत वर्ष खुम्बू पासाङ गाउँपालिकामा लुक्लादेखि बेस क्याम्पसम्मको थ्रिडी म्यापको काम गर्न गएका थियौं। त्यसपछि नै हामी फोहोर संकलन र अन्य काममा लागेका हौं।'
अहिलेसम्ममा उनीहरूले सगरमाथा क्षेत्रबाट पाँच सय किलो फोहोर संकलन गरिसकेका छन्। त्यस्तै आमादब्लम हिमालबाट करिब सात सय किलो फोहोर संकलन गरेका छन्।
'यो वर्ष सगरमाथा क्षेत्रबाट हजार किलो भन्दा बढी फोहोर संकलन गर्ने योजना छ,' राजविक्रमले भने, 'गल्ली म्याप्सलाई अझै राम्रो कसरी बनाउने भनेर पनि निरन्तर लागिरहेका छौं। नेपालमा बाहिरबाट कोही घुम्न आउँदैछन् भने गल्ली म्याप्स नै हेरेर आऊन् भन्ने चाहना छ। यी दुवैलाई सँगसँगै अघि बढाएर काम गर्न चाहन्छु।'

सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी