डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटेको छ।
नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रूपैयाँ घटाएको हो।
त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ सात रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले घटाएको हो।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब डिजेल–मट्टीतेलको प्रतिलिटर १४६ रूपैयाँ पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा प्रतिलिटर १४८ रूपैयाँ पर्नेछ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा डिजेल–मट्टीतेलको प्रतिलिटर १५९ रूपैयाँ पर्नेछ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय २५ रूपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर काठमाडौंमा अमेरिकी डलर ९५२, पोखरामा ७८२ र भैरहवामा ७६७ तोकेको छ।