कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली एउटै तानमा गलैंचा बुन्दै थिए। यो महिनाको लक्ष्य भेटाउन व्यस्त रहेछन् उनीहरू।
एउटा गलैंचा तयार पार्दा ११ हजार रुपैयाँ ज्याला आउने रहेछ। महिनामा दुई वटा बनाउन सके दुई जनाको भागमा ११/११ हजार रुपैयाँ पर्छ। यही आम्दानीले सानुमाया र नरमायाको घरखर्च चलिरहेको छ।
केही वर्ष पहिलेसम्म उनीहरूको अधिकांश समय जंगलमा बित्थ्यो। गाउँ नजिकैको जंगलबाट दाउरा ल्याई बेचेर घरखर्च निकाल्नुपर्ने बाध्यता थियो। तर अचेल जंगल जानैपर्ने बाध्यता हटेको छ। हातमा सीप भएपछि उनीहरूले घरमै बसेर आम्दानी गरिरहेका छन्।
नरमायाले राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा बिएम हस्तकला प्रशिक्षण उद्योगले दिएको तालिमबाट गलैंचा बुन्न जानेकी थिइन्। सानुमायाले काठमाडौंमा सिकेकी थिइन्।
‘हामी बिहान चारै बजे उठेर काम सुरू गर्छौं। ८ बजेपछि घरको अरू काम गर्नुपर्छ। छोरा, छोरीलाई स्कुल पठाएर घरधन्दा सकिएपछि फेरि गलैंचाको काम सुरू गर्छौं,’ नरमायाले भनिन्, ‘खेतीपाती गर्न जमिन छैन। यही कामले घर चलिरहेको छ। हाम्रो लागि सबै कुरा यही काम हो।’

सानुमायाले पहिले हरेक दिन जंगल जानैपर्ने बाध्यता रहेकोमा अचेल घरको लागि चाहिने दाउरा खोज्न बेला–बेलामा मात्रै गए पुग्ने बताइन्।
‘दाउरा खोज्न नजाँदा त फुर्सद फुर्सद हुन्थ्यो। गर्ने काम केही हुन्थेन। गलैंचा बुन्ने काम सुरू गरेदेखि फुर्सद हुनै छाड्यो। कमाइ पनि त्यहीअनुसार भइरहेको छ,’ उनले भनिन्।
बिएम हस्तकला प्रशिक्षण उद्योगले कालिका नगरपालिकामा मात्रै चार सय बढी महिलाहरूलाई विभिन्न सीपहरू सिकाएर रोजगार बनाएको छ।
उनीहरूले गलैंचाका अलावा ऊनमार्फत् डोरी बनाउने, ढाकाका कपडा, झोला, सजावटका सामग्री बनाउने काम गरिरहेका छन्। भरतपुर महानगरपालिका, माडी, रत्ननगर, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका दुई सय बढी महिलाहरू पनि यो काममा आबद्ध हुन थालेका छन्।
बिएम हस्तकला प्रशिक्षण उद्योग सञ्चालनमा आएको दश वर्ष भयो। बुद्धिमाया घले यसकी सञ्चालक हुन्।
पर्साको ठोरीकी बुद्धिमायाले १६ वर्षको उमेरमा कालिका–२ मा राजकुमार घलेसँग विवाह गरेकी थिइन्।

उनी उच्च शिक्षा हासिल गर्ने अभिलाशामा सानै उमेरमा विवाह गर्न राजी भएकी थिइन्। तर घरको कमजोर आर्थिक अवस्था उनको पढाइको बाधक बन्यो। घरखर्च जुटाउन घरेलु मदिरा बनाएर बेच्नुपथ्र्यो। २०६२ सालमा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) ले हालको कालिका नगरपालिकाका वन क्षेत्रमा आश्रित बन्दै आएका समुदायलाई आयआर्जनको वैकल्पिक स्रोत तयार गर्न भनेर चर्खाको माध्यमबाट धागो तयार पार्ने तालिम दिएको थियो। बुद्धिमाया सहितका २० जनाले पनि यो तालिम लिएका थिए। तर तालिमपछि तत्कालै उनले यसलाई व्यवसाय बनाउन सकिनन्।
श्रीमान आर्थिक अवस्था सुधार्न भनेर कतार गए। बुद्धिमाया पनि सामाजिक कामहरूमा सहभागी बन्न थालिन्। वृक्षरोपण अभियान, सामुदायिक वन संरक्षण, गोबरग्याँस निर्माणदेखि मानव बेचबिखनविरूद्धको अभियानहरूमा सक्रिय हुँदै गइन्। पदमपुर ऋण तथा बचत सहकारी संस्था स्थापना भएपछि २०७१ सालमा उनी उक्त सहकारी संस्थाको चर्खाबाट धागो बनाउने कार्यक्रमको संयोजक बनिन्। त्यतिखेरसम्म एनटिएनसीले एक सय बढीलाई यस्तो तालिम दिइसकेको थियो। बुद्धिमायाले आफूसँग तालिम लिएका र तालिम लिएका अन्यलाई एकीकृत गरिन्। वन क्षेत्रमा कार्यरत संस्थाहरूले चर्खा वितरण गरे, सहकारी संस्थामार्फत् ऊन किनेर वितरण गर्ने, धागो बनाएर बिक्री गर्ने काम उनको अगुवाइमा सुरू भयो।
बुद्धिमायाले २०७३ सालमा ३ लाख रुपैयाँ लगानी गरेर बिएम हस्तकला प्रशिक्षण उद्योग स्थापना गरेकी थिइन्।

‘श्रीमानले विदेशमा कमाएको र मैले यता अलिअलि गर्दै संकलन गरेको रकम लगानी गरेर उद्योग स्थापना गरियो। यसको उद्देश्य वन क्षेत्रमा हुने चोरी, सिकारीमा कमी ल्याउने, विपन्न महिलाको आय बढाउन, वन क्षेत्रमा आश्रित परिवारलाई वनसँगको निर्भरता हटाउन सीप प्रदान गर्ने थियो,’ उनले भनिन्, ‘हामीले एनटिएनसी, डब्लुएफ, हरियो वन, स्थानीय तह लगायत विभिन्न निकायहरूसँग सहकार्य गरेर प्रशिक्षण प्रदान गर्यौं। सीप जानेकाले तुरून्तै कमाउन सक्ने भए।’
२०७५ सालमा उद्योग विधिवत रूपमा दर्ता भयो। बुद्धिमायाले ३ लाख रुपैयाँ लगानी गरेर स्थापना गरेको उद्योगको सम्पत्ति अहिले ३ करोड रुपैयाँभन्दा बढी पुगिसकेको छ। उनको उद्योगमा अहिले ७ जना काम गर्छन्। उनको परिवारका सबै यही काममा खट्दै आएका छन्।
अहिले बिएम हस्तकला प्रशिक्षण उद्योग अन्तर्गत ३९९ जनाले चर्खाबाट धागो बनाउँछन्। १५० जनाले गलैंचा बनाउँछन्। २० जनाले सजावटका सामग्री, १६ जनाले ढकाका कपडा (साडी, पछ्यौरा, कोट, पाइन्ट, टोपीलगायत), १५ जनाले सपिङ व्याग बनाउँछन्। उनीहरूमध्ये अधिकांश महिला छन्। आदिवासी जनजाति समुदायका ४२२, दलित समुदायका ४०, चेपाङ समुदायका ५२, ब्राम्हण/क्षेत्री १४ जनाले अहिले काम गरिरहेको उनले बताइन्। यसभित्र ६० जना एकल महिला र १२ जना अपाङ्गता भएकाहरू छन्।
‘हामी भेडाको ऊन किनेर मागअनुसार वितरण गर्छौं। ऊनबाट धागो बनाएको ज्याला दिन्छौं। त्यो धागो बिक्री हामी नै गर्छौं,’ बुद्धिमायाले भनिन्, ‘गलैंचा, ढाकाका कपडा, सजावटका सामग्री बनाउनेलाई पनि धागो लगायतका सामान हामी नै उपलब्ध गराइदिन्छौं।’
सामग्रीमा सकेसम्म वन्यजन्तुका आकृति समावेश गर्ने गरिएको उनले बताइन्।
बुद्धिमायाले तालिम लिएपछि सुरूमा चर्खाबाट धागो बनाएर ६ सय रुपैयाँ कमाएकी थिइन्। अहिले आफ्नो उद्योगले काम दिएका व्यक्तिहरूलाई महिनामा १६ लाख रुपैयाँसम्म ज्याला बाँड्ने गरेको उनले बताइन्।
‘एक किलो धागो तयार पारेको ज्याला १८० रुपैयाँ, एक मिटर लामो गलैंचा बनाएको ज्याला १३ हजार रुपैयाँसम्म दिएका छौं। अन्य सामानको ज्याला पनि त्यहीअनुसार छ,’ उनले भनिन्, ‘फुर्सदको समयमा मात्रै काम गर्नेले ८ हजार, पूर्णकालीन काम गर्नेले ३० हजार रुपैयाँभन्दा बढी मासिक कमाइ गरिरहनुभएको छ।’
नेपालमा भेंडाको ऊन प्रायः चीन र न्यूजिल्याण्डबाट ल्याइन्छ। बिएम हस्तकलाले महिनामा १२ क्विन्टल जति ऊन खरिद गर्ने गरेको छ। उत्पादन भएका गलैंचा चीन, भारत, अमेरिका, अष्ट्रेलिया, जर्मनी लगायतका देशहरूमा निर्यात हुने गरेको राजकुमार (बुद्धिमायाका श्रीमान) ले बताए।

‘सबभन्दा बढी माग चीनबाट आउने गरेको छ। त्यहाँका व्यवसायीले त हाम्रो सामान खरिद गरेर आफ्नो ब्राण्ड बनाई बेच्छन्। अरू धेरै देशबाट पनि माग भइरहेका छन्। तर हामीले मागअनुसार उत्पादन गर्न सकेका छैनौं। मागको १० प्रतिशत पनि उत्पादन गर्न सकिएको छैन,’ कतारबाट फर्किएर श्रीमतीलाई सघाइरहेका उनले भने।
बिएम हस्तकला प्रशिक्षण उद्योग २०७६ सालमा बागमती प्रदेश सरकारबाट महिला उद्यमीको दोस्रो पुरस्कार प्राप्त गरेको थियो। २०७८ सालको उद्योग दिवसका दिन नेपाल सरकारको उद्योग वाणिज्य विभागले बुद्धिमाया घलेलाई बागमती प्रदेशको उत्कृष्ट घरेलु उद्यमीका रूपमा सम्मान गरेको थियो।
बुद्धिमायालाई अचेल उद्योग सञ्चालनदेखि सामाजिक गतिविधिहरूमा सहभागी बन्न भ्याइनभ्याई छ। स्वदेशी उत्पादन, घरेलु उद्यम, महिला उद्यमशीलता, महिला सशक्तीकरणसँग सम्बन्धित प्रायः कार्यक्रमहरूबाट उनलाई निम्ता आउँछ।
‘कुनै दिन यस्तो पनि थियो वन संरक्षण, मदिरा नियन्त्रण, मानव बेचबिखनविरूद्धको अभियानमा लाग्दा मान्छेहरू यसले दिदी बहिनी बिगारी भन्थे। कसैले त बाटो नै छेक्थे। अचेल कसैले काम पाएन भने बुद्धिमायालाई भेट भन्ने अवस्था आएको छ,’ उनले भनिन्, ‘हामीसँग आबद्ध भएर कमाइ हुन थालेपछि दिदी, बहिनीहरूले घर, परिवारबाट माया पाउन थाल्नुभएको छ। छोरा, छोरीलाई पढाउन सक्नुभएको छ। छिमेकीले हेर्ने दृष्टिकोणमा परिवर्तन भइरहेको छ। घरेलु हिंसालाई कम गर्न पनि सहयोग पुगेको छ। मैले हासिल गरेको उपलब्धी यही हो। यो कामबाट म पूर्ण रूपमा सन्तुष्ट छु।’
बुद्धिमायाले अबको पाँच वर्षका २ हजार जना महिलालाई रोजगारी दिने लक्ष्य रहेको सुनाइन्।

अहिलेसम्म चितवन केन्द्रित बनेकी उनले अब जिल्ला बाहिर पनि यो अभियान चलाउने योजना बनाएकी छन्।
‘सिस्नोको पाउडर बनाउने, गाँजा, अल्लो, केराको थम्बा, फोहोरबाट कपडा तथा सजावटका सामग्री बनाउने तालिमहरू पनि थप गर्ने योजना छ,’ उनले भनिन्, ‘केही दिनमा भारतको देहरादुनमा हुने मेलामा आफ्ना उत्पादनहरू प्रदर्शन गर्न जाँदैछु। अन्य देशहरूबाट पनि निम्तो आइरहन्छन्।’
राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका पूर्वप्रमुख बाबुराम लामिछाने बुद्धिमायाले वन संरक्षणमा महत्वपूर्ण योगदान दिएको बताउँछन्।

वन क्षेत्र नजिकका विपन्न परिवारलाई वनसँगको निर्भरता हटाउन उनले गरेको कामले सहयोग गरेको उनले बताए।
‘पैसाका लागि काठ, दाउरा र वन्यजन्तुको चोरी, सिकारी संलग्न भएकाका परिवारलाई लक्षित गरेर एनटिएनसीले विभिन्न क्षेत्रमा वैकल्पिक रोजगारीका कार्यक्रमहरू सञ्चालन गरेको थियो। त्यही क्रममा पदमपुरमा उहाँलाई हामीले नै उनबाट धागो बनाउने तालिम दिएका थियौं। पछि उहाँले आफैले उद्योग स्थापना गरेर सयौं महिलाहरूलाई रोजगारी दिनुभएको छ। यो उदाहरणीय काम हो,’ लामिछानेले भने, ‘उहाँको कामले जैविक विविधताको संरक्षणमा महत्वपूर्ण सहयोग गरिरहेको छ।’
यसवर्ष पनि राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत् सञ्चालन भइरहेको ‘ठूला मांसाहारीसँग सहअस्तित्व’ कार्यक्रमको आर्थिक सहयोगमा बिएम हस्तकलाले चितवन राष्ट्रिय निकुञ्जमा आश्रित माडीका ५० जना महिलाहरूलाई चर्खाबाट धागो बनाउने तालिम दिएको थियो। तालिम पाएका महिलाहरूले जंगल जाने समय अचेल धागो बनाउनमा प्रयोग गरिरहेका छन्। उनीहरूमध्ये प्रायः निकुञ्ज तथा मध्यवर्ती वनमा पसेर घाँस, दाउरा, निउरो, माछा संकलन गरेर बिक्री गरि घर खर्च चलाउँदै आएकाहरू थिए। निकुञ्जसँग जोडिएको अमिलियामा बाढी र जनावरको जोखिमका कारण बसाइँ सरेर माडीको बरूवामा बस्दै आएकी ८१ वर्षीया बुद्धिमाया विकमा पनि यो तालिमपछि चर्खाले कमाइका लागि जंगल जानैपर्ने बाध्यता हटाउने आशा पलाएको छ।
