न्यूरोडको भूगोल पार्कनिर, नेपाल बैंकको ढोकैसामु केही वर्षअघिसम्म फुटपाथभरि किताब फिँजाएर राखिएको देखिन्थ्यो।
अचेल त्यो फुटपाथ खाली छ। त्यहाँ किताब बेचिन्न।
ती किताब बिक्रेता कहाँ गए होलान्? उनी अहिले पनि किताब बेच्दै छन् कि यो काम नै छाडिसके?
यो स्टोरीको जन्म यिनै प्रश्नहरूबाट भएको हो।
कुनै बेला भूगोल पार्कको फुटपाथमा किताब बेच्ने ती बिक्रेताको नाम राजेश गजुरेल हो। उनले अहिले पनि यो काम छाडेका छैनन्। किताब बेच्ने ठाउँ भने फेरेका छन्।
राजेश अचेल नेपाल बैंकको अगाडि, सडकको अर्को किनारमा किताब बेच्छन्। त्यहाँ उनको आफ्नै पसल छ — न्यूरोड बुक सेन्टर।
यो पसल राजेश र उनकी श्रीमती मिलेर चलाउँछन्। उनीहरूले पोखरामा पनि शाखा विस्तार गरेका छन्।
फुटपाथबाट सुरू गरेको व्यवसाय काठमाडौं र पोखरा गरी दुई ठाउँमा विस्तार गर्न सक्नुलाई राजेश आफ्नो जिन्दगीको ठूलो सफलता मान्छन्।
म र मेरा साथीहरू प्राय: उनकै पसलमा किताब किन्न जान्छौं। यसको कारण के भने, त्यहाँ अन्य पसलभन्दा सस्तो किताब पाइन्छ। सस्तो किताब बेचेर कम मूल्यमा ज्ञान बाढ्नु राजेशको अर्को महत्त्वपूर्ण पक्ष हो।
मैले यो स्टोरीमा राजेशसँग उनको व्यावसायिक यात्राबारे कुरा गरेकी छु। सँगसँगै, उनी आफै कति किताब पढ्छन् भनेर पनि सोधेकी छु।

फुटपाथमा किताब बेच्ने काम राजेशका बुबा र आमाले सुरू गरेका थिए। बुबाआमासँगै उनी पनि सानैदेखि किताब बेच्थे।
'म २०५८ सालदेखि यो काममा लागेको हुँ। त्यति बेला जम्मा १२ वर्षको थिएँ,' राजेशले भने, 'हामी सुरूमा पत्रपत्रिका र क्यालेन्डर बेच्थ्यौं। बिस्तारै किताब बेच्न थाल्यौं।'
उनका अनुसार त्यो बेला विदेशी किताब कमै आउँथे। नेपाली किताब पढ्ने पनि कमै थिए। लेखक नारायण वाग्लेको 'पल्पसा क्याफे' आएपछि युवा पुस्तामा नेपाली किताब पढ्ने लहर आएको उनी बताउँछन्।
'मेरो विचारमा युवा पाठकहरूमा नेपाली उपन्यास पढ्ने बानीको सुरूआत पल्पसा क्याफेले नै गरेको हो,' उनले भने, 'त्यही लहरमा अन्य नेपाली लेखकका उपन्यास पनि एकदमै धेरै पढिन थाले।'
बीचमा पढ्ने बानी केही कम भए पनि कोभिड लकडाउनपछि किताब किनेर पढ्नेहरू फेरि बढेको उनको अनुभव छ।
'दोस्रो कोभिड लकडाउन बेला धेरैले किताबलाई आफ्नो साथी बनाए। त्यो बेला आफूले पढेका किताबबारे टिकटक भिडिओ बनाउने लहर थियो। त्यसको प्रभाव नेपालमा पनि देखियो। युवाहरूले किताब पढ्न र आफूले पढेका किताब सामाजिक सञ्जालमा सेयर गर्न रमाइलो मान्न थाले। यसले पाठकहरूको संख्या बढ्यो भन्ने मलाई लाग्छ,' राजेशले भने।
त्यसै क्रममा व्यवसाय विस्तार गर्न फुटपाथ छाडेर छुट्टै पसल सुरू गरेको उनी बताउँछन्।
फुटपाथ छाड्नुको कारण अर्को पनि छ। उनलाई बाटोमा किताब फिँजाएर बस्दा हिँडडुल गर्ने मानिसहरूलाई असुविधा भइरहेको महसुस भयो। काठमाडौं महानगरपालिकाले पनि फुटपाथ पसल हटाउन कडिकडाउ गर्न थाल्यो।
'एक त नगर प्रहरीसँग डराई डराई व्यापार गर्नुपर्ने, अर्कातिर आफ्नो व्यापारबाट बाटोमा हिँड्नेलाई असुविधा हुने; यही देखेर मैले फुटपाथबाट पसलमा सर्ने निधो गरेँ,' उनले भने।
राजेशको पसलमा धेरैजसो व्यक्ति नियमित किताब किन्न आउँछन्। केही ग्राहक त यस्ता छन्, जो दैनिक खर्च जोगाएर किताब किन्छन्। मान्छेहरूको यस्तो किताब प्रेमले राजेशलाई हुरूक्कै बनाउँछ।
पछिल्लो समय अनलाइनमा किताब पढ्ने क्रम बढ्नुले व्यवसायमा असर परेको उनको अनुभव छ। यस्तोमा पनि केही यस्ता पाठक उनले देखेका छन्, जो अनलाइनमा पढिसकेका किताब व्यक्तिगत संकलन निम्ति किन्न आउँछन्।
राजेशको पसलमा पाइने किताबको प्रिन्ट र कागजको गुणस्तर अलि कमसल भए पनि बजारका अन्य पसलको दाँजोमा मूल्य निकै सस्तो हुन्छ। यसबारे उनी भन्छन्, 'धेरैलाई कागजको गुणस्तरभन्दा त्यसबाट पाइने ज्ञानसँग सरोकार हुन्छ। हजार रूपैयाँ पर्ने किताबले पनि त्यही ज्ञान दिन्छ, जुन मैले बेच्ने पाँच सयको किताबले दिन्छ। त्यसैले महँगो किताब किन्ने क्षमता नभएका युवाहरू खोजी खोजी मकहाँ आउँछन्।'
किताबको उच्च मूल्यकै कारण युवा र खासगरी विद्यार्थीलाई किनेर पढ्न गाह्रो परेको उनको अनुभव छ। राजेशले बेच्ने सस्तो किताबले त्यस्ता विद्यार्थी लाभान्वित भएका छन्।
उनले बेच्ने नेपाली किताबको गुणस्तर भने फरक छैन। अन्य पसलमा जस्तै उनी पनि नेपाली प्रकाशकहरूबाटै ल्याएर बेच्ने गर्छन्। विदेशी किताब भने भारतबाट मगाउँछन्।

सानैदेखि किताब बेच्दै आएका राजेश आफू भने कति पढ्छन् त?
मेरो यो प्रश्नमा उनले भने, 'म त किताब नपढी सुत्नै सक्दिनँ। त्यसमाथि आफै बेच्ने भएपछि कुन किताबमा के लेखिएको छ भनेर थाहा पाउन पनि पढ्नैपर्छ। किताब किन्न आउने ग्राहकलाई यो राम्रो छ भनेर सिफारिस गर्न पनि त सक्नुपर्यो।'
उनी कथा, उपन्यास लगायतका आख्यानभन्दा गैरआख्यान किताब पढ्न रूचाउँछन्। गैरआख्यानमा व्यापार, सफल व्यक्तिहरूको जीवनी र प्रेरणा दिने खालका किताब पढ्छन्। आफूले पढेर राम्रो लागेका किताब ग्राहकहरूलाई सिफारिस पनि गर्छन्।
'म सबभन्दा पहिला ग्राहकको रूचि बुझ्छु र त्यसैअनुसार किताब सिफारिस गर्छु,' उनले भने।
उनलाई आफूले पढेकामध्ये 'द पावर अफ योर सबकन्सियस माइन्ड' एकदमै मनपरेको छ। त्यसले व्यक्तिगत रूपमा आफूमा सकारात्मक परिवर्तन ल्याएको उनी बताउँछन्।
त्यसबाहेक 'हाऊ टू वीन फ्रेन्ड्स एन्ड इन्फ्लुएन्स पिपल' भन्ने किताब पनि उनलाई मनपर्नेमा पर्छ। यसले ग्राहकहरूसँग कसरी बोल्ने र कस्तो ग्राहकसँग कसरी व्यवहार गर्ने भनेर सिकाएको उनी सुनाउँछन्।
त्यस्तै, 'रिच ड्याड, पोर डयाड' किताबले व्यापारिक उतारचढावबारे ज्ञान दिएको उनको भनाइ छ।
उपन्यासहरूमा पल्पसा क्याफे, शिरिषको फूल, कर्नाली ब्लुज, सेतो धर्ती खुब मनपरेको बताउँछन्। सेतो धर्ती पढ्दा त आँशु नै आएको उनले सुनाए। अंग्रेजी उपन्यासमध्ये पाउलो कोहलोको 'एल्केमिस्ट' उनको उत्कृष्ट सूचीमा पर्छ।
'यी सबै यस्ता किताब हुन्, जुन किनेर पढेपछि पैसा खर्च भयो भन्ने महसुस हुँदैन। धेरै कुरा सिक्न पाइन्छ। धेरै थोक जान्न पाइन्छ,' उनले भने।
उनका अनुसार पछिल्लो समय सस्पेन्सले भरिएको थ्रिलर उपन्यास पढ्नेहरूको संख्या बढेको छ।
'द साइलेन्ट पेसेन्ट र भेरिटी मलाई मनपरेका थ्रिलर उपन्यास हुन्,' उनले बजारको ट्रेन्ड सुनाउँदै भने, 'युवाहरूमा प्रेमकथा पढ्ने रूचि एकदमै धेरै छ। लकडाउन बेला कोलन हुबरको 'इट एन्ड्स विथ अस' र 'अग्ली लभ' खुब बिकेका थिए। फ्यान्टासी किताबमा पनि पाठकहरूको रूचि बढेको देखिन्छ।'
भाषाको कुरा गर्दा अचेलका युवा नेपालीभन्दा अंग्रेजी किताब बढी पढ्ने उनी बताउँछन्। स्कुलहरूले अंग्रेजी भाषालाई बढी प्राथमिकता दिने गरेकाले पनि नेपाली किताब पछाडि परेको हुनसक्ने अनुमान गर्छन्।
'युवा पाठकहरूलाई त नेपाली पढ्नै समस्या भइरहेको मैले पाएको छु,' राजेशले भने।
ग्राहकसँग खुलेर कुरा गर्ने र उनीहरूको इच्छा बुझेर किताब सिफारिस गर्ने हुँदा धेरैजसो ग्राहक राजेशको पसलमा नियमित रूपले जान्छन्।
'मेरो पसलमा एक जना नयाँ ग्राहक आयो भने ऊ अर्कोचोटि दस जना लिएर आउँछ,' राजेशले खुसी हुँदै भने।
***
