पाटनको झम्सीखेलमा एउटा पसल खुलेको छ। नाम हो — फ्रोयो।
यहाँ जे पाइन्छ, त्यसलाई धेरै जना आइसक्रिम भनेर झुक्किन्छन्। झट्ट हेर्दा आइसक्रिमजस्तै देखिन्छ पनि। तर खासमा यो दही हो।
दही बेच्नु कुन ठूलो कुरा भयो र भन्ने तपाईंलाई लाग्न सक्छ। हुन पनि भक्तपुरको जुजु द्यौ वा अन्य परम्परागत दही पसलहरू काठमाडौं उपत्यकामा थुप्रै छन्। त्यही सूचीमा नयाँ पसल थपिनु ठूलो कुरा होइन।
तर फ्रोयोमा पाइने दही विशेष छ।
विशेष हुनुका दुइटा कारण छन् —
एक, दही भन्नेबित्तिकै हामीलाई एउटै मात्र स्वाद याद आउँछ।
फ्रोयोमा भने विभिन्न स्वादको दही पाइन्छ। जसरी आइसक्रिम थरी थरी स्वादमा उपलब्ध छ, फ्रोयोले पनि थरी थरी स्वादको दही बेच्छ।
दोस्रो कारण हो, यहाँ पाइने दही आइसक्रिमजस्तै जमाइएको हुन्छ। फ्रोयोको अर्थ नै 'फ्रोजन योगर्ट' हो। फ्रोजन भनेको जमाइएको, योगर्ट भनेको दही।
यिनै दुई कारणले पछिल्लो समय फ्रोयोको दही युवा पुस्तामाझ अत्यन्तै लोकप्रिय छ। पहिले आइसक्रिम खान हुरूक्क हुने युवा र केटाकेटी अचेल फ्रोयो खान खोजी खोजी आउने यहाँकी एक कर्मचारी कविता खड्का बताउँछिन्।
अन्य दहीको तुलनामा यसमा चिल्लो कम हुन्छ भने चिनी पनि कम प्रयोग गरिन्छ। दही सँगसँगै विभिन्न किसिमका फलफूल दिइने हुँदा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ।

कविताका अनुसार काठमाडौंमा फ्रोयोको पहिलो स्टोर आजभन्दा दस वर्षअघि सिभिल मलमा खुलेको थियो। झम्सीखेलमा सरेको आठ वर्ष भयो। बालुवाटार र भनिमण्डलमा पनि शाखा छन्।
यो खासमा भारतीय ब्रान्ड हो। भारतको चन्डीगढ (पञ्जाब) स्थित फ्रोयो ब्रान्डसँग फ्रेन्चाइज लिएर नेपालमा सुरू गरिएको कविता बताउँछिन्।
'हुन त अरू दही पनि जमाइएकै हुन्छ। तर फ्रोयो आइसक्रिमजस्तै चिसो पारेर जमाइने र थरी थरीका स्वादमा पाइने हुँदा यो नेपालका लागि नयाँ कन्सेप्ट हो,' उनले भनिन्, 'अहिलेसम्म पनि हामीकहाँ आउने धेरै ग्राहक आइसक्रिम भनेर झुक्किन्छन्। कतिले त फलानो स्वादको आइसक्रिम दिनुस् न भनेर माग्छन्। त्यस्ता ग्राहकलाई हामी फ्रोयोको अर्थ सम्झाउँछौं।'
सुरूमा बच्चाहरूले धेरै मनपराएकाले उनीहरूसँगै अभिभावक पनि फ्रोयोको फ्यान भएको उनको भनाइ छ।
'अचेल त बच्चादेखि बूढाबूढी पनि फ्रोयो खान आउँछन्,' उनले भनिन्, 'चिल्लो र चिनी कम भएकाले जुनसुकै उमेरका मानिसले नडराई खान सक्नुहुन्छ।'

कविताले आइसक्रिम र फ्रोयोबीच के-के भिन्नता हुन्छ भनेर पनि हामीलाई बताइन्।
उनका अनुसार आइसक्रिममा चिनीको मात्रा धेरै हुन्छ। दूधमा क्रिम मिसाएर बनाइने हुँदा चिल्लोपन पनि धेरै हुन्छ। फ्रोयो भने शुद्ध दही मात्र हो, जसमा स्वादका लागि थोरै मात्रामा चिनी प्रयोग गरिन्छ।
अर्को भिन्नता स्वादको हो। आइसक्रिममा सबै किसिमका स्वाद पहिल्यै जमाएर राखिएको हुन्छ। फ्रोयोमा भने ग्राहकको अर्डर आएपछि मागेअनुसार स्वादको दही तुरून्तको तुरून्त बनाएर दिइन्छ। त्यसैले एकदमै ताजा दही खान पाइने कविता बताउँछिन्।
यति मात्र होइन, आइसक्रिममा कहिलेकाहीँ अन्डाको पहेँलो भाग पनि प्रयोग गरिन्छ। फ्रोयो भने शुद्ध शाकाहारी खानेकुरा हो।
फ्रोयोमा विभिन्न स्वादका दही मात्र होइन, दहीमा ताजा फलफूल र म्युस्ली मिसाएर बनाइएको थरी थरीको मेनु पनि उपलब्ध छ। तीमध्ये 'अल इन वान' एकदमै लोकप्रिय छ जसमा फ्रोयो, एउटा फलफूल, ओरियो, चकलेटको सिरप र अन्य विभिन्न खानेकुरा मिसाइएको हुन्छ।
फ्रोयोमा ओट्स, चिया सिड, फलफूल र चकलेट मिसाइएको खानेकुरा पनि धेरैले रूचाएका छन्। यहाँ फ्रोयो प्रयोग गरेर बनाइएको वफल, फ्रोयोकै स्मुदी पनि पाइन्छ।
फ्रोयो मात्र खाने ग्राहकका लागि स्मल, रेगुलर, मिडियम र टब गरी चार साइजमा उपलब्ध छन्। प्रायःले रेगुलर र मिडियम अर्डर गर्ने कविता बताउँछिन्। यसमा विभिन्न स्वादका चकलेट र फलफूलको टपिङ थप्न सकिन्छ। टपिङका लागि थप पैसा तिर्नुपर्छ।
फ्रोयोको मूल्य २९० रूपैयाँबाट सुरू हुन्छ। स्वाद र परिमाण अनुसार मूल्य बढ्दै जान्छ। कविताका अनुसार यहाँ सबभन्दा धेरै बिक्ने स्वाद बेरी लभर्स हो।
'एकचोटि आएका ग्राहक फेरि फेरि आउँछन्,' कविताले भनिन्, 'फ्रोजन दही भए पनि जाडो, गर्मी दुवै मौसममा बिक्छ। तुलनात्मक रूपले भन्दा गर्मीमा हाम्रो व्यापार बढ्छ।'
चैतको सुरूआतसँगै काठमाडौंको तापक्रम पनि बढ्न थालेको छ। यसपालिको गर्मीमा तपाईं पनि फ्रोयो खाएर आँत चिसो पार्ने कि!
***
