के तपाईंलाई 'थ्रिफ्ट सपिङ' को अर्थ थाहा छ?
थ्रिफ्ट सपिङ भनेको अरू कसैले प्रयोग गरिसकेको लुगा सस्तो दाममा किन्नु हो। सरल भाषामा भन्दा, यो 'सेकेन्ड ह्यान्ड' लुगाको कारोबार हो।
आफूले प्रयोग गरिसकेको लुगा फ्याल्नुको सट्टा सस्तो मूल्यमा अरूलाई प्रयोग गर्न दिने चलन विदेशमा धेरै प्रचलित छ। तपाईंलाई सुन्दा अचम्म लाग्ला, विकसित देशहरूमा यस्ता लुगा किन्न पाइने 'थ्रिफ्ट स्टोर' को संख्या ब्रान्डेड लुगाको स्टोरभन्दा धेरै हुन्छ।
यसको मतलब विकसित मुलुकका उपभोक्ताले नयाँ लुगा किन्न पैसा नभएर सेकेन्ड ह्यान्ड किन्ने होइनन्। उनीहरू सेकेन्ड ह्यान्ड यस कारण किन्छन्, किनभने उनीहरूलाई पैसाको मूल्य थाहा छ। गुणस्तरीय लुगा सस्तोमा पाइन्छ भने ब्रान्डेड लुगाका लागि बढी पैसा तिर्न उनीहरू मरिमेट्दैनन्। जसले पैसाको मूल्य बुझ्छ, उसले नै जिन्दगीमा तरक्की गर्छ!
पछिल्लो समय नेपालमा पनि यो ट्रेन्ड बढ्दै गएको छ। काठमाडौं लगायतका सहरी क्षेत्रमा सेकेन्ड ह्यान्ड लुगा किनबेच हुने स्टोरहरू बढेका छन्। मान्छेहरू आफूले प्रयोग गर्न छाडेका लुगा रद्दीमा फ्याँक्नुको सट्टा सस्तो दाममा थ्रिफ्ट स्टोरमा बेच्न रूचाउँछन्। थ्रिफ्ट स्टोरमा के-कस्ता लुगा आएका छन् र त्यसको मूल्य कति छ भनेर खोज्नेहरूको संख्या पनि बढ्दै गएको छ।
यो स्टोरीमा हामी नेपालको एक चर्चित थ्रिफ्ट स्टोरबारे कुरा गर्दैछौं।
काठमाडौंको माइतीघरमा रहेको यो स्टोरमा प्रयोग गरिसकेका लुगा मात्र होइन; झोला, झुम्का, टोपी लगायत विभिन्न किसिमका सामग्री पाइन्छन्।

यस्तो सेकेन्ड ह्यान्ड स्टोरमा किन्न चाहिँ को आउँछन् त?
हामीले यो प्रश्न थ्रिफ्ट स्टोरका प्रबन्धक शाश्वत झालाई सोधेका थियौं।
उनका अनुसार सेकेन्ड ह्यान्ड लुगा वा अन्य सामानका मुख्य उपभोक्ता युवा पुस्ता हुन्।
'अहिलेको युवालाई हरेक दिन एउटै लुगा लगाउन मन हुँदैन। उनीहरू दिनैपिच्छे लुगा फेरेर लगाउन चाहन्छन्,' शाश्वतले भने, 'तर उनीहरूसँग फेरी फेरी लुगा किन्ने पैसा हुँदैन। त्यसैले थ्रिफ्ट स्टोरमा किनमेल गर्छन्। यसले सस्तो मूल्यमै उनीहरूको चाहना पूरा हुन्छ।'
यो स्टोर सन् २०२० मा खुलेको हो। बेलायतमा रहेका प्रथा बस्नेतले दीगो विकास सम्बन्धी अनुसन्धान क्रममा यस्तो स्टोर खोल्ने आइडिया ल्याएका थिए।
त्यति बेला कोभिड महामारीका कारण मान्छेहरू बजार निस्किन डराउँथे। अनलाइन कारोबार बढेको थियो। मान्छेहरू लुगा किन्नदेखि खाना अर्डर गर्नसमेत अनलाइन कारोबार गर्थे। यही देखेर बस्नेतलाई सेकेन्ड ह्यान्ड लुगाको कारोबार गर्ने आइडिया आएको थियो।
उनले एउटा कोठाबाट यसको अनलाइन कारोबार सुरू गरेका थिए। कारोबार बढ्दै गएपछि छुट्टै स्टोर खोले। अहिले यो स्टोर युवा पुस्तामाझ लोकप्रिय भएको शाश्वत बताउँछन्।
सेकेन्ड ह्यान्ड लुगाको स्टोर संसारभरि लोकप्रिय रहे पनि नेपाल र विदेशमा खुल्नुको कारण भने फरक छ।
'विदेशतिर थ्रिफ्ट स्टोरमा लुगा दिने भनेको दान दिने हो। लुगा दिएबापत मान्छेहरू पैसा लिँदैनन्,' उनले भने, 'यहाँ भने दान दिएको होइन, पुरानो लुगा बेचेको हो। यो बकाइदा आर्थिक कारोबार हो। जसलाई पुरानो लुगा सस्तोमा बेच्न मन लाग्छ, उनीहरू हामीकहाँ आउँछन्। र, जसलाई पुरानो लुगा सस्तोमा किन्न मन लाग्छ, उनीहरू पनि हामीकहाँ आउँछन्। हाम्रो थ्रिफ्ट अवधारणामा पुरानो लुगा बेच्ने र किन्ने दुवै पक्षलाई फाइदा छ।'
यसरी पुरानो लुगा किनबेच गर्ने स्टोर पनि हुन्छ भनेर बुझाउन धेरै समय लागेको शाश्वत बताउँछन्।
सामाजिक सञ्जालमार्फत पुरानो लुगा किनबेच कसरी हुन्छ र यसबाट को लाभान्वित हुन्छन् भनेर बुझाएपछि कारोबार गर्न सहज भएको उनको भनाइ छ।
'यसका लागि हामीले फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालहरूमा भिडिओ हालेर प्रचारप्रसार गर्नुपरेको थियो,' उनले भने, 'पुरानो लुगा दिँदा पैसा पाइन्छ भन्ने त मान्छेले सोचेकै थिएनन्। जब उनीहरूलाई विश्वास भयो, हाम्रो यो स्टोरबारे एक कान, दुई कान हुँदै व्यापक प्रचारप्रसार हुन थाल्यो।'

अहिले जेन-जी युवाहरू आफ्नो स्टोरमा सेकेन्ड ह्यान्ड लुगा किन्न आउने उनी बताउँछन्। यसको मुख्य कारण सेकेन्ड ह्यान्ड लुगासँग जोडिएको मान्यता परिवर्तन हुनु हो।
'पहिले लुगामा मान्छेको आत्मा बसेको हुन्छ भन्ने मान्यता थियो। त्यसैले अर्काले लगाइसकेको लुगा प्रयोग गर्न धेरै जना हिच्किचाउँथे। अहिले यो मान्यता बदलिएको छ,' शाश्वतले भने, 'लुगा चाहे पुरानो होस् वा नयाँ, त्यसमा कुनै किसिमको खराबी छैन भने मान्छेहरू प्रयोग गर्न कुनै संकोच मान्दैनन्।'
यो अवधारणालाई बल पुर्याउनुको एउटा कारण थ्रिफ्ट स्टोरमा पुराना लुगा कसरी किनबेच हुन्छ भन्नेले पनि हो।
'हामी पुरानो लुगा धोएर मात्र बिक्रीमा राख्छौं,' उनले भने, 'सामान्यतया बेच्न ल्याउने मान्छेले नै धोइवरी ल्याएका हुन्छन्। लाउनै नमिल्ने थोत्रा लुगा कसैले बेच्न ल्याउँदैनन्। यसले पनि सेकेन्ड ह्यान्ड लुगालाई नयाँ पुस्ताले सकारात्मक रूपमा लिन थालेका हुन्।'
झम्सीखेलको 'सुखावती च्यारिटी स्टोर' सेकेन्ड ह्यान्ड लुगा पाइने एउटा मुख्य ठाउँ हो। यहाँ मान्छेहरू आफूले प्रयोग गरिसकेका पुराना लुगा दान दिन्छन्। यो संस्थाले नेपालका धेरै ठाउँमा पुराना लुगा आपूर्ति गर्छ।
'हामी दाग लागेको वा लाउनै नमिल्ने गरी बिग्रिएको लुगा बेच्न राख्दैनौं,' शाश्वतले भने।
उनका अनुसार पुराना लुगा बेच्न आउनेलाई स्टोरले छुट्टै अनलाइन अकाउन्ट खोलिदिएको हुन्छ। इच्छुक व्यक्तिले त्यही अकाउन्ट प्रयोग गरेर आफूसँग भएका पुराना लुगा बेच्न ल्याउँछन्। त्यस्ता लुगालाई सामानको कोड, फोटो र मूल्यसहित सार्वजनिक गरिन्छ। यसबाट उक्त लुगा वा सामान बिक्री भयो कि भएन भनेर हेर्न सकिन्छ।
'सामान बिक्री भयो भने त्यसको ५५ प्रतिशत रकम सम्बन्धित व्यक्तिले पाउँछ,' उनले भने, 'यसको जानकारी हामी अनलाइनबाट दिन्छौं। आफूले ल्याएको सामान बिक्री भइसकेको सूचना पाएपछि मान्छेहरू हामीकहाँ पैसा लिन आउँछन्।'
यस्ता स्टोरमा पुराना लुगा बेच्न ल्याउनेको संख्या ९८ प्रतिशत हुन्छ र दान दिनेको संख्या २ प्रतिशत मात्र हुने उनले बताए।

यस्ता लुगाको मूल्य कसरी तय गरिन्छ त?
हाम्रो यो प्रश्नमा शाश्वतले भने, 'हामी लुगा कस्तो अवस्थामा छ र बजारमा त्यसको मूल्य कति छ भन्ने आधारमा सकेसम्म व्यावहारिक भाउ तय गर्छौं।'
उनका अनुसार पछिल्लो समय सेकेन्ड ह्यान्ड लुगा किन्ने ग्राहक संख्या बढेको छ। सस्तो दाममा ब्रान्डेड लुगा लगाउन पाइने भएकाले पनि युवाहरू आकर्षित भएको उनी बताउँछन्।
'मैले पाँच वर्षको आफ्नो अनुभवमा सेकेन्ड ह्यान्ड लुगाप्रति मान्छेको धारणा परिवर्तन भएको देखेको छु,' शाश्वतले भने, 'पहिले पुरानो लुगा भन्दा धेरैले नाक खुम्च्याउँथे। अचेलका युवालाई लुगा सफा छ भने पुरानो भए पनि केही मतलब हुँदैन।'
पहिले एउटा भनाइ थियो — पुरानो कोट लगाऊ, नयाँ किताब किन।
त्यति बेला यो भनाइ कत्तिको उपयुक्त थियो, त्यो मलाई थाहा छैन। तर अचेलका युवा नयाँ किताब किने पनि नकिने पनि पुरानो कोट (लुगा) लगाउन कत्ति पनि संकोच मान्दैनन्।
थ्रिफ्ट स्टोर लोकप्रिय हुनुको मुख्य कारण यही हो।
***