तपाईंहरू धेरैले किम्बाप (गिम्बाप) भन्ने खानेकुराको नाम सुन्नुभएको होला! कतिले त चाख्नु पनि भइसक्यो होला!
म:म र चाउमिनमा रमाउने काठमाडौं सहरमा अचेल यो कोरियन खाना खुब रूचाइन थालेको छ। खासगरी जेन–जी पुस्ताको निम्ति खाजा भनेकै किम्बाप हो। उनीहरू काठमाडौंको ठमेल र पाटनको झम्सीखेलका कोरियन रेस्टुरेन्ट खोजी खोजी जान्छन्। र, किम्बापसँगै किम्ची स्वाद मानी मानी खान्छन्।
कोरियन म्युजिक, कोरियन फेसन र कोरियन हेयर स्टाइल सँगसँगै कोरियन खानेकुराले पनि नयाँ पुस्तालाई हुरूक्कै बनाउनुका पछाडि कारण एउटै छ — कोरियन सिरिज।
युवा पुस्तामाझ कोरियन सिरिजहरू जति लोकप्रिय छन्, त्यति नै त्यहाँको फेसन र खानेकुराको परिकारले मोहनी लगाउँदैछ।
यो स्टोरीमा म किम्बाप भनेको कस्तो खानेकुरा हो, यसको विशेषता के हो र झम्सीखेलमा कोरियनहरूले नै खोलेको किम्बाप रेस्टुरेन्टबारे कुरा गर्दैछु।
सबभन्दा पहिला कुरा गरौं, किम्बाप भनेको कस्तो खानेकुरा हो?
सजिलो तरिकाले भन्नुपर्दा, कोरियन भाषामा 'किम' को अर्थ समुद्री झ्याउ (सी–विड) र 'बाप्' भनेको भात हो। यसमा सबभन्दा बाहिरी तहमा सी–विड, त्यसभित्र भात र त्योभन्दा भित्र स्वादअनुसार कुखुराको मासु, टुना माछा, राँगाको मासु वा हरियो सागसब्जी राखिन्छ।
झट्ट हेर्दा यो जापानी परिकार सुसीजस्तै देखिन्छ। कतिपय त किम्बाप र सुसीमा झुक्किने गर्छन्। तर दुवै फरक चिज हुन्।
दुवैमा सी–विडभित्र भात (चिपचिप टाँसिने विशेष चामलको) राखिएको हुन्छ। फरक के भने, सुसीको भातमा चिनी, नुन र भिनेगर राखिन्छ भने किम्बापको भातमा नुन र सेसेमी (तिलको) तेल राखिन्छ।
त्यस्तै, किम्बापभित्र पकाएको तरकारी वा मासुहरू राखिन्छ भने सुसीमा काँचै सामन माछा राखिन्छ।
अब विशेषताको कुरा गरौं।
किम्बापसँग कोरियाको लामो इतिहास जोडिएको छ। यसका पछाडि दुइटा कथा बढी चर्चित छन्।
पहिलो, किम्बापलाई कतिपयले कोरियन शैलीको सुसी भन्छन्।
सन् १९१० देखि १९४५ सम्म जापानले कोरियामाथि शासन गरेको थियो। त्यही बेला जापानीहरूले आफ्नो मुख्य परिकार सुसीलाई कोरियामा लोकप्रिय बनाए। कोरियनहरूले सुसी खान त थाले, तर त्यसमा आफ्नो स्वाद र शैली पनि मिसाए। कालान्तरमा यसको नाम किम्बाप रह्यो।
दोस्रो, कतिपयले किम्बापलाई कोरियनहरूको आफ्नै परम्परागत खानेकुरा मान्छन्।
उनीहरूका अनुसार कोरियाको परम्परागत परिकार 'किमसाम' को परिस्कृत तथा विकसित रूप नै किम्बाप हो। यसो भन्नुका पछाडि कारण छ।
कोरियनहरूले धेरै समयदेखि खाँदै आएको किमसाममा पनि सी–विडभित्र भात राखिएको हुन्छ। फरक यत्ति हो, किम्बापमा भने भातको पत्रभित्र तरकारी वा माछामासु समेत बेरिन्छ। त्यसैले नै किम्बापलाई किमसामको विकसित रूप भनिएको हो।
अब कुरा गरौं, पाटनको झम्सीखेलमा कोरियनहरूले नै चलाइरहेको किम्बाप रेस्टुरेन्ट 'क्याफे हेज्ड' को।

सुमेरू अस्पताल नजिकै रहेको यो रेस्टुरेन्ट छिर्नासाथ कोरियन चालचलनको अनुभूति हुन्छ। भित्तामा झुन्ड्याइएको टेलिभिजनमा कोरियन कार्यक्रमहरू चलिरहेका हुन्छन्। काउन्टरमा कहिले एक जना त कहिले दुई जना बसेका हुन्छन्। दुवै कोरियन हुन्।
म जाँदा एक जना मात्र थिए। उनको नाम रहेछ, टेइजुन।
'क्यान आई आस्क यू समथिङ?' मैले उनलाई अंग्रेजीमा सोधेँ।
उनले मेरो अंग्रेजीको जबाफ नेपालीमा दिए, 'हुन्छ, सोध्नू न!'
'तपाईं नेपाली बुझ्नुहुन्छ?' मैले अचम्म मान्दै सोधेँ।
'किन नबुझ्नू!' उनले भने, 'म र मेरो परिवार नेपाल बस्न थालेको १५ वर्ष भयो। यहाँ काम गर्दागर्दै मैले नेपाली भाषा बुझेँ र बोल्न पनि सिकेँ।'
उनले आफूसँगै रेस्टुरेन्टमा बस्ने महिला आफ्नी श्रीमती भएको बताए।
'उनलाई पनि नेपाली बोल्न आउँछ,' उनले हाँस्दै भने, 'खासमा हामीलाई अचेल नेपाली र कोरियन भाषा उस्तै उस्तै लाग्छ।'
टेइजुन सन् २००९ मा आफ्नी श्रीमतीसँग पहिलो पटक नेपाल घुम्न आएका थिए। त्यति बेला उनीहरूको विवाह भएको थिएन। पहिलो भ्रमणमै उनीहरूलाई नेपाल एकदमै रमाइलो लागेछ। खासगरी काठमाडौं उपत्यकाको संस्कृति, रहनसहन र सभ्यताले मोहनी नै लगाएछ। त्यही भएर उनीहरूले यहीँ बस्ने निधो गरे।
विवाहपछि नेपाललाई नै आफ्नो दोस्रो 'घर' बनाएका टेइजुनले जीविका निम्ति झम्सीखेलमा रेस्टुरेन्ट खोले। उनी पहिले केक, कुकिज, पेस्ट्री लगायत बेकरी मात्र बेच्थे। बिस्तारै काठमाडौंमा कोरियन रेस्टुरेन्टको चलन बढेपछि टेइजुनले ठेट स्वादको किम्बाप बेच्ने गरी आफ्नो रेस्टुरेन्ट रूपान्तरण गरे।
'सुरू सुरूमा काठमाडौंमा खुलेका कोरियन रेस्टुरेन्टले कोरियन नामका परिकार त बेच्थे, तर त्यसको स्वाद हामीले कोरियामा खानेजस्तो थिएन। मूल्य पनि अत्यधिक महँगो थियो,' टेइजुनले भने, 'त्यही देखेर हामीलाई वास्तविक कोरियन स्वादको रेस्टुरेन्ट खोल्यौं भने राम्रो बजार लिन सक्छ भन्ने लाग्यो।'
टेइजुनको यो सोचाइ सही साबित भयो।

उनले सन् २०१९ बाट आफ्नो बेकरी पसललाई किम्बाप रेस्टुरेन्टमा परिणत गरे। किम्बापका पारखीले उनको रेस्टुरेन्टमा त्यसको वास्तविक स्वाद मात्र पाएनन्, मूल्य पनि अरूभन्दा सस्तो थियो।
उनको रेस्टुरेन्ट कम समयमै धेरैको रोजाइ बन्यो।
अहिले टेइजुनकी आमा पनि काठमाडौं आएर यतै बस्न थालेकी छन्। उनीहरूका एक छोरा पनि छन्। परिवारका सबै सदस्य मिलेर रेस्टुरेन्ट चलाउँछन्।
कोरियामा परिकारहरूको कमी छैन। नेपालजस्तै त्यहाँको भान्सामा पनि अनेक खानेकुरा पाक्छन्। तीमध्ये टेइजुनको रेस्टुरेन्टमा सबभन्दा चल्ने किम्बाप नै हो। उनको जोड पनि यसैमा बढी छ।
किन त?
हाम्रो यो प्रश्नमा उनले भने, 'कोरियाका लागि किम्बाप भनेको काठमाडौंका लागि मःम जस्तै हो। संयोगले काठमाडौंका मान्छेले पनि किम्बाप धेरै मनपराए। त्यही भएर हाम्रो जोड यसैमा रह्यो।'
उनले किम्बापलाई मःमसँग दाँज्नुमा यसको लोकप्रियता मात्र होइन, अर्को पनि कारण छ।
काठमाडौंमा मःम जति लोकप्रिय भए पनि धेरैले घरमा पकाउँदैनन्। खानुपरे बाहिरै खान्छन्। कोरियाका लागि किम्बाप त्यस्तै हो। यो पनि घरमा पकाउने चलन कम भएको उनी बताउँछन्।
'किम्बाप हेर्दा सजिलै बन्छ जस्तो देखिन्छ, तर यसका लागि धेरै किसिमका चिज र मसलाहरू चाहिन्छ। त्यसैले घरैमा किम्बाप पकाउनेहरू कमै हुन्छन्,' टेइजुनले भने, 'कोरियामा हुँदा हामी आफै पनि किम्बाप खान बाहिरै जान्थ्यौं। घरमा पकाउने त कहिलेकाहीँ विशेष अवसरमा मात्र हो। यहाँको मःम जस्तै।'
टेइजुनको 'क्याफे हेज्ड' रेस्टुरेन्ट बिहान साढे १० बजे खुल्छ। खुलेदेखि ग्राहकको कमी हुन्न। उनले साँझ ७ बजेसम्म मात्र रेस्टुरेन्ट खोल्ने नियम बनाएका छन्। कहिलेकाहीँ त्योभन्दा एक–डेढ घन्टा अगाडि नै खानेकुरा सकिन्छ। त्यही भएर कतिपयले दिउँसै आएर अर्डर पनि दिन्छन्।
तपाईं पनि कोरियाका टेइजुनको हातबाट कोरियन स्वादको किम्बाप खाने होइन त?
सबै तस्बिर: आर्या श्रेष्ठ/सेतोपाटी
***

