एसियाली फुड फेस्टिबल 'इन्डस फुड २०२५' मा नेपाली फुड ब्रान्ड पहाडी फुड्स सहभागी भएको छ।
यही जनवरी ८, ९ र १० मा भारतमा भएको फुड फेस्टिबलमा सहभागी भएको पहाडीका संस्थापक प्रशान्त घिमिरेले बताए।
फुड फेस्टिबलमा विभिन्न देशबाट फुड्सका ब्रान्डहरू प्रदर्शनका लागि आएका थिए।
उनका अनुसार पहाडीले दाल, नेपाली अचार, लप्सी, लप्सीको चकलेट, कोदो र फापरको कुकिज जस्ता नेपाली उत्पादनहरू प्रदर्शनको लागि लिएर गएको थियो।
नमूनाको लागि लगेको सामानहरू सुरू भएको २ घन्टामै सकिएको संस्थापक प्रशान्त बताउँछन्।
'पहिलो स्टल नै हाम्रो भएर होला खुल्ने बित्तिकै झ्यापझुप भयो। हामीलाई एकछिन त सम्हाल्नै गाह्रो भएको थियो,' उनले भने, 'नेपाली ब्रान्डले अवसर मात्र पाउने हो भने अन्तर्राष्ट्रिय बजारमा आफ्ना उत्पादन बेच्न कुनै समस्या छैन।'
यो फेस्टिबलमा अन्य केही नेपाली ब्रान्डहरूको पनि सहभागिता थियो।
एक्स्पोबाट फर्किएपछि धेरै देशबाट फुडको माग आइरहेको उनी बताउँछन्। यस्ता एक्सपोमा नेपाली उत्पादन पुर्याउनका लागि सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
पहाडी फुड्सले मह, चामल, दाल र चियापत्ती गरी जम्मा चार वटा उत्पादनबाट व्यापार थालेको थियो।
अहिले ७० भन्दा बढी उत्पादन यहाँ पाइन्छ। पर्वत र बागलुङको जेठो बुढो चामल र सिमी, जुम्लाको फापरको पिठो र मकैको च्याख्ला, पाल्पा, गुल्मी र अर्घाखाँचीको गेडागुडी, मकवानपुरको ताइचिन चिउरा, रसुवा, सिन्धुपाल्चोक र काभ्रेको राज्मा लगायत थुप्रै जिल्लाका विशेष उत्पादन बिक्री गर्दै आएको छ।
हाल पहाडी फुड्सका उत्पादनहरू भाटभटेनी, सेल्सबेरी र विभिन्न पसलहरूमा पाइन्छन्।