नेपालको एक अग्रणी जुत्ता उत्पादक कम्पनी गोल्डस्टारले बजारमा ल्याएको ट्रेकिङ जुत्ताको माग अत्यधिक बढेको छ। कम्पनीले मागअनुरूप आपूर्ति गर्न नसक्दा बजारमा अभाव देखिन थालेको छ।
खासगरी युवा पुस्ताका उपभोक्ताले रूचाएको गोल्डस्टारको उक्त मोडल 'जेबी ट्रेकिङ सुज' हो। यो मोडलको जुत्ता खोज्न गोल्डस्टार शोरूम धाइरहेका उपभोक्ताले भन्नेबित्तिकै पाउन सकेका छैनन्।
जेबी भनेको 'जंगल बुट' को संक्षिप्त रूप हो। यो गोल्डस्टारका हिउँदे मोडलमध्ये एक हो।
हामीले यसबारे गोल्डस्टारका केही बिक्रेतासँग कुराकानी गरेका छौं।
जमलस्थित गोल्डस्टार शोरूमका बिक्रेता दिपेश डंगोलले जेबी ट्रेकिङ सुज पुरानो मोडलको जुत्ता भए पनि पछिल्लो समय अत्यधिक माग बढेको बताए।
माग बढ्नुका दुई मुख्य कारण छन् —
पहिलो कारण, अहिले बजारमा युवा पुस्तामाझ बुट जुत्ता फेसनमा छ।
खासगरी जेन-जीहरूलाई बुट लगाउन जाडो आउनुपर्दैन। उनीहरू गर्मीमा पनि फेसनका लागि बुट लगाएर हिँड्छन्। टिकटक, इन्स्टाग्राम लगायतले पनि बुटको लोकप्रियता बढाएको छ। यही फेसनले गोल्डस्टारको ट्रेकिङ सुजमा धेरैको रूचि जागेको छ।
दोस्रो कारण हो, यसको मूल्य। बुट भए पनि यसको मूल्य साधारण जुत्ताभन्दा कम छ। बजारमा पाइने अन्य बुटको तुलनामा त यो अत्यन्तै सस्तो पर्छ। सस्तो मूल्यमै चल्तीको जुत्ता पाइने भएकाले जेबी ट्रेकिङ सुज युवाहरूले मनपराएका हुन्।
'हेर्दा राम्रो छ। दैनिक हिँडडुल गर्दा पनि लगाउन सजिलो हुन्छ। मूल्य पनि निकै सस्तो पर्छ,' गोल्डस्टार बिक्रेता डंगोलले भने, 'त्यसैले पुरानो मोडलको भएर पनि यसको माग बढेको हो।'
हामीले उनलाई यसको मूल्य सस्तो पर्नुको कारण पनि सोधेका थियौं।
उनका अनुसार यसमा नाइलन कपडा प्रयोग गरिएको छ। हिँड्न सजिलो होस् भनेर छेउछेउमा फोम हालिएको छ। आवरण राम्रो बनाउन अगाडिबाट छाला राखिएको छ।
प्राय: बुटमा छाला मात्र प्रयोग गरिने हुँदा धेरै हिँडेपछि पसिना आउँछ। यसमा त्यो समस्या छैन। खुट्टामा हावा पस्ने हुँदा पसिना आएर उकुसमुकुस हुँदैन।
'महँगा ट्रेकिङ जुत्ताहरूमा प्राय: कडा खालको छाला प्रयोग गरिएको हुन्छ। यसमा भने कडा प्लास्टिक प्रयोग गरिएको छ,' उनले भने, 'यसले हिँड्न सजिलो हुन्छ। चिप्लो ठाउँमा पनि सुलसुल चिप्लिने डर हुँदैन।'
यसको अर्को विशेषता भनेको यो जुत्ता हाम्रो गोलीगाँठोसम्म आउँछ। त्यसैले हिँड्ने बेला जुत्ताले गोलीगाँठोलाई आड दिन्छ।
हामीले कुरा गरेका प्राय: बिक्रेताले यो जुत्ता बलियो भएको र धेरै समय टिक्ने प्रतिक्रिया दिएका छन्।
'हाम्रै कर्मचारी धेरै जना यो मोडलको जुत्ता लगाउँछन्,' डंगोलले भने, 'हामी आफैले लगाउने भएकाले पनि यो जुत्ता बलियो छ र लगाउन सजिलो छ भनेर दाबीका साथ भन्न सक्छौं।'
हिजोआज जेन-जीहरूमा लोकप्रिय पाइए पनि अघिल्लो पुस्ताका उपभोक्ता पनि धेरैले यो मोडल मनपराउँछन्।
डंगोलका अनुसार दैनिक कामकाजी मान्छे धेरैले यो जुत्ता लगाउँछन्। बिहान वा साँझ हिँड्न पनि यसको बढी प्रयोग हुन्छ। विद्यार्थीहरूको निम्ति त यो फेसन नै भइहाल्यो। यसबाहेक वैदेशिक रोजगार वा अध्ययन निम्ति विदेश जानेहरूले पनि यो मोडलको जुत्ता किनेर लैजान्छन्।
गोल्डस्टारले तीन सयभन्दा बढी मोडलका जुत्ता उत्पादन गर्दै आएको छ। तिनैमध्ये जेबी ट्रेकिङ सुज कालो र ओलिभ ग्रिन गरी दुईवटा रङमा उपलब्ध छन्।
अब प्रश्न उठ्छ, यति लोकप्रिय जुत्ताको बजारमा एकाएक कसरी अभाव भयो?
यसको मुख्य कारण बजारमा एक्कासि माग बढ्नु हो। गुणस्तर राम्रो र मूल्य सस्तो भन्दै सामाजिक सञ्जालहरूमा जेबी ट्रेकिङ सुजको भिडिओ भाइरल भएपछि माग बढ्यो। पहिले नाम नसुनेका उपभोक्ता पनि यो मोडल खोज्न शोरूम धाउन थाले।
हामीले मागअनुरूप आपूर्ति किन भएन भनेर गोल्डस्टार कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणालाई सोधेका छौं।
उनका अनुसार कम्पनीले हरेक वर्ष कुन मोडलको जुत्ता कति संख्यामा उत्पादन गर्ने भनेर लक्ष्य तोकेको हुन्छ। जेबी ट्रेकिङ सुजका हकमा भने बजार माग ह्वात्तै बढ्दा निर्धारित मागले धान्न सकेन।
'बढी माग आउनासाथ हामीले थप उत्पादन सुरू गरेका छौं,' उनले भनिन्, 'त्यसको निम्ति विभिन्न देशबाट कच्चापदार्थहरू ल्याउनुपर्छ। कच्चापदार्थ ल्याएर उत्पादन गर्न समय लाग्छ।'
उत्पादन बढाएर इच्छुक उपभोक्तासम्म छिटोभन्दा छिटो आपूर्ति गर्न कम्पनी प्रयासरत रहेको उनले बताइन्।
गोल्डस्टारको जेबी ट्रेकिङ सुज केटा र केटी दुवैले लगाउन मिल्छ। माग केटाहरूमा धेरै छ। बजार मूल्य १४ सय रूपैयाँ पर्छ। गोल्डस्टारले हरेक मोडलमा १० प्रतिशत छुट पनि दिन्छ।
गोल्डस्टार नेपालको एक यस्तो जुत्ता ब्रान्ड हो, जसले आफ्नो उत्पादन विदेश निर्यात गर्दै आएको छ। भारत लगायत अमेरिका र युरोपमा समेत गोल्डस्टार जुत्ता बिक्री हुन्छन्। यसका ४० प्रतिशत उत्पादन भारत निकासी हुन्छन्। गोल्डस्टारले भारतको गुणस्तर प्रमाण चिह्न 'बिआइस' पनि पाइसकेको छ।