राइड सेयरिङ 'सजिलो साथी'मा क्याप्टेन विजय लामा जोडिएका छन्। क्याप्टेन लामा सह संस्थापकका रूपमा सजिलो साथीमा जोडिएका हुन्।
लामाले सुरक्षित, सुलभ र सहज यात्राको अवधारणालाई प्राथमिकता दिँदै कम्पनीलाई अगाडि बढाउने विषयमा आफू कटिवद्ध रहेको बताए।
'हामी अब अरूको एपमा निर्भर नभई आफ्नै स्वदेशी एप प्रयोग गरेर गन्तव्यमा पुग्नेछौं,' उनले भने, 'यसले हाम्रो आयस्रोत नेपालमै राख्न सहयोग प्रदान गर्नेछ।'
उनले स्वदेशभित्रै रोजगारीको अवसर सिर्जना गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्न पनि यो एप सहयोगी हुने विश्वास व्यक्त गरे।
सजिलो राइड सेयरिङका प्रमुख कार्यकारी अधिकृत (सिइओ)अमिर लामाले आफ्नो कम्पनीले बजारमा अन्य कम्पनीको भन्दा फरक सेवा प्रदान गर्ने जानकारी दिए। उनले एपका विशेषता र आगामी योजनाका बारेमा पनि बताए।
'यात्रु र चालकको सुरक्षा हाम्रो प्रमुख दायित्व हो, हामी चालकहरूलाई गर्वका साथ 'म चालक हुँ' भन्न सक्ने वातावरण बनाउँदै छौं,' उनले भने।
विशेष सुविधा अन्तर्गत कम्पनीले आगामी फागुनदेखि बाइकका लागि १० र ट्याक्सीका लागि ६ प्रतिशत कमिशन दिने भएको छ। कम्पनीले कमिसनबाट उठेको १० प्रतिशत रकम राइडरहरूको कल्याणकारी कोषमा जम्मा गर्नेछ।
यात्रु र चालकका लागि बीमाको सुविधा दिएको छ।
त्यस्तै कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पिक अप सेवा, पार्सल र फुड डेलिभरी सेवा पनि चाँडै नै विस्तार गर्ने कम्पनीको योजना छ।
सन् २०२२ मा स्थापना भएको यो कम्पनीले अहिले काठमाडौं उपत्यका केन्द्रित सेवा उपलब्ध गराउँदै आएको भए पनि निकट समयमै देशभर आफ्नो सेवा उपलब्ध गराउने जानकारी गराएको छ।