आगामी सातादेखि काठमाडौंमा मेक इन नेपाल एक्सपो २०२५ र नेपाल पस्मिना अन्तर्राष्ट्रिय एक्सपो आयोजना गरिएको छ।
नेपाल उद्योग परिसंघसँगको सहकार्यमा नेपाल पस्मिना उद्योग संघको आयोजना र राइजिङ नेपाल प्रालिको व्यवस्थापनमा एक साथ दुई एक्सपो गर्न थालिएको हो।
यो एक्सपो माघ १० गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ।
मेक इन नेपाल एक्सपोमा नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्दै उद्योग, व्यवसाय र स्थानीय उद्यमशीलतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
त्यसैगरी, नेपाल पस्मिना अन्तर्राष्ट्रिय एक्सपो २०८१ ले नेपालमा उत्पादित उत्कृष्ट पस्मिना सामग्रीहरूलाई प्रस्तुत गर्दै यस क्षेत्रको मौलिकता, गुणस्तर र अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुदृढ बनाउने लक्ष्य राखिएको छ।
प्रदर्शनीमा नेपालका व्यवसायी, उद्यमी, निर्यातकर्ता तथा नीति निर्माताको सहभागिता रहने जनाइएको छ।
साथै, यसले नेपाली उत्पादनका नयाँ सम्भावनाहरू पहिचान गर्न र विदेशी लगानीलाई आकर्षित गर्न सहयोग पुऱ्याउने अपेक्षा गरिएको छ।
एक्सपोमा नेपाली पस्मिना हस्तकला, कृषि र घरेलु उत्पादनको विशेष स्टलहरू, अनलाइन र डिजिटल मार्केटिङ प्लेटफर्महरूको प्रवर्द्धन, नेटवर्किङ कार्यक्रमहरू, स्थानीय र अन्तर्राष्ट्रिय उद्योगहरूसँग सहकार्य, ब्रान्डिङ क्याम्पेन जस्ता कुराले नेपाली उत्पादनको प्रवर्द्धनका लागि विशेष टेवा पुऱ्याउने साथै नेपाली उत्पादनलाई प्रोत्साहन पुग्ने बताइएको छ।
एक्सपोमा १५० भन्दा बढी स्वदेशी वस्तु तथा सेवाको स्टलहरू रहने छन् जसमध्ये ४० भन्दा बढी नेपालमा उत्पादित उत्कृष्ट पस्मिनाका स्टलहरू रहने आयोजकले जनाएको छ।