खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसललाई निरन्तरता दिने भएको छ।
यसअघि चाडपर्व लक्षित पसल माघ २ गतेसम्म सञ्चालन गर्ने भनिएकोमा यसलाई निरन्तरता दिने भएको हो।
बिक्री लक्ष्य पूरा नभएकाले सहुलियत पसललाई निरन्तरता दिइएको कम्पनीकी बिक्री प्रवन्धक अम्बिका पौडेलले जानकारी दिइन्।
'ठ्क्याक्कै मिति नै त तोकिएको छैन। बिक्री लक्ष्य पूरा नभइञ्जेल सञ्चालन गर्ने योजना छ,' उनले भनिन्।
उनका अनुसार चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्नुअघि कुन बिक्री केन्द्रले कति परिमाण सहुलियतमा बेच्ने बाँडफाँट गरिएको थियो। सोही अनुसार बिक्री लक्ष्य पूरा नभएका बिक्री केन्द्रले सहुलियत पसललाई निरन्तरता दिने छ।
त्यस्तै, दुई हजार क्विन्टल चिनी पनि सहुलियत मूल्यमा बेच्न राखिएको छ। चिनी भने उपभोक्ताले सबै बिक्री केन्द्रबाट किन्न पाउनेछन्।
कम्पनीको देशभर ६५ वटा बिक्री केन्द्र छन्।
हाल बजारमा खुद्रा चिनीको एक सय १० रूपैयाँसम्म छ। सहुलियत पसलमा भने प्रतिकिलो तीन रूपैयाँ छुटमा पाइन्छ।