सरोकारवालाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने, चोरी पैठारी नियन्त्रण गर्ने, र सरकारी निकायमा अनिवार्य रूपमा नेपाली जुत्ता प्रयोग गराउनुपर्ने बताएका छन्।
शुक्रबार फूटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको वार्षिक साधारणसभामा उद्योग मन्त्री दामोदर भण्डारी, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, उद्योगी व्यवसायीले थोरै लगानीमा धेरै रोजगारी दिन सक्ने जुत्ता उद्योगलाई आवश्यक प्रवर्द्धन गर्नुपर्ने बताएका हुन्।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चोरी पैठारीका कारण नेपाली जुत्ता उद्योगले ठूलो दबाब ब्यहोर्नुपरेको स्वीकार्दै यसलाई रोक्न सरकार सक्रिय रहेको बताए।
‘चोरी पैठारीले हाम्रो उत्पादनलाई ओझेलमा पार्दै आएको छ। यसलाई नियन्त्रण गर्न सरकारी निकायलाई कडाइका साथ निर्देशन दिइएको छ,’ मन्त्री भण्डारीले भने।
उनले सरकारी पोसाक भत्ताले स्वदेशी जुत्ता किन्नुपर्ने नीति लागू गर्ने तयारी भएको जानकारी दिए।
‘मेरो देश, मेरो उत्पादन’ अभियानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाइनेछ,’ उनले थपे।
फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशनका अध्यक्ष रुद्र न्यौपानेले नेपाली जुत्ता उद्योगको उत्पादन क्षमता र अहिलेको अवस्था प्रस्ट्याउँदै चोरी पैठारीले स्वदेशी उद्योगलाई कमजोर पारेको बताए।
‘हामीसँग १६ करोड जोडी जुत्ता उत्पादन गर्ने क्षमता छ, तर हाल साढे सात करोड मात्र उत्पादन भइरहेको छ। नेपाली बजारको ७५ प्रतिशत माग स्वदेशी उत्पादनले पूर्ति गर्दै आए पनि चोरी पैठारीको असरले प्रतिस्पर्धा गर्न कठिनाइ छ,’ न्यौपानेले भने।
उनले सरकारी निकायमा स्वदेशी जुत्ता प्रयोग अनिवार्य गर्न माग गरे।
‘सिंहदरबारभित्र स्वदेशी उत्पादनका आउटलेट स्थापना गरिनुपर्छ। यसले हाम्रो उद्योगलाई थप प्रोत्साहन मिल्छ,’ उनले भने।
साना व्यवसायीलाई तालिम र सहुलियत नीति लागू गर्न आग्रह गर्दै स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकतामा राख्न नीति बनाउन आवश्यक रहेको उनले बताए।
‘हामीले एनएस चिह्न र एमआरपी प्रणाली अनिवार्य गर्नुपर्छ। यो प्रणाली लागू भए मात्रै नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्छ,’ उनले थपे।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वदेशी जुत्ता उद्योगलाई सुदृढ बनाउन चोरी पैठारी रोक्न र भन्सार नीतिमा सुधार गर्नुपर्नेमा जोड दिए।
उनले अहिले नेपाली जुत्ताको गुणस्तर बढेको भन्दै नेपालसँगै अन्तर्राष्ट्रिय बजार पठाउने विषयमा जोड दिनुपर्ने बताए। नेपाली जुत्ता उद्योगको लागि प्रतिस्पर्धी बनाउने सवालमा सरकारले आवश्यक पहल गर्नुपर्ने बताए।
यसको लागि चोरी पैठारी रोक्नु पर्ने र यसतर्फको सरकारको ध्यान केन्द्रित हुने बताए। कतिपय अवस्थामा भन्सारदरबाट समाधान खोज्न खोजिए पनि त्यो प्रयाप्त नहुने बताए। अहिले जुत्ता आयात गर्दा ४० प्रतिशत भन्सार छ तर यसपछि चोरी पैठारी झन बढेको छ।
कार्यक्रममा वक्ताहरुले चोरी पैठारी र गुणस्तरहीन आयातका कारण नेपाली उद्योगले बेहोरेको चुनौतीलाई औंल्याउँदै ठोस नीति निर्माण र कार्यान्वयनका लागि सरकारलाई आग्रह गरेका छन्।