भानु महोत्सवमा रैथाने बालीको प्रबर्द्धन गरिएको छ।
तनहुँको डुम्रेमा ९ दिनदेखि जारी प्रथम भानु महोत्सवमा स्थानीय उत्पादन र रैथाने उत्पादनको प्रदर्शनी तथा बिक्री गरिएको छ।
महोत्सवमा मह, खुदो, कागुनो, कोदो, अनदिका चामलजस्ता रैथाने उत्पादनहरू प्रदर्शन तथा बिक्रीकक्ष पनि पनि सञ्चालित रहेको भानुका मेयर आनन्दराज त्रिपाठीले जानकारी दिए।
महोत्सवमा किसानहरूले रैथाने बाली कोदोको म:म समेत विक्री वितरण गरेको हो। यसप्रति महोत्सव अवलोकनमा आएकाहरूको आकर्षित भएको मेयर त्रिपाठीले बताए।
'रैथाने वालीलाई ममजस्ता सबैलाई मनपर्ने परिकारमा रूपान्तरण गरेर महोत्सवमा प्रस्तुत गर्दा स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धनमा ठूलो योगदान दिने भएकाले यस्ता परिकारलाइ प्रोत्साहन गरेका हौ,' उनले भने।
स्वास्थ्यप्रेमी र पर्यावरणप्रेमीहरूका लागि यो महोत्सव अविस्मरणीय अवसर बनेको उनले बताए। जैविक उत्पादनको प्रदर्शन र बिक्रीले उपभोक्तालाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्नुका साथै स्थानीय उत्पादनप्रति गर्वको भावना जगाउने विश्वास लिइएको मेयर त्रिपाठी बताउँछन्।