जस्मिन पेन्टसले जोर कुसुम पार्कमा वृक्षारोपण गरेर एनपिएलमा गरेको प्रतिबद्धताको कार्यान्वयनको सुरूवात गरेको छ।
चितवनको भरतपुरमा रहेको जोर कुसुम पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। जस्मिन पेन्टस र नेपाल क्रिकेट एसोसिएसन क्यानको सहकार्यमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो।
नेपाल क्रिकेट एसोसिएसन क्यानका सचिब पारस खड्काले बर र पिपलको बिरुवा रोपी कार्यक्रमको उद्घाटन गरेका थिए।
भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग अन्तर्गतको सम्पूर्ण खेलहरूमा भएका चौका र छक्काको संख्याका आधारमा बिरुवा रोपिने जस्मिन पेन्टसको प्रतिबद्धता अनुरुप शुक्रबारबाट वृक्षारोपण कार्यक्रमको सुरुवात गरिएको हो। जस अन्तर्गत ६५३ वटा चौका र ३४३ वटा छक्का रहेको थियो।
कम्पनीका ब्रान्ड एम्बेस्डर समेत रहेका पारसले नेपाली खेल जगतमा जस्मिन पेन्टसले गरेको सहयोगले क्यानलाई थप हौसला मिलेको बताए। कम्पनीले गरेको योगदानको कदर गर्दै आगामी दिनहरूमा पनि साथ सहयोगको आवश्यकता रहेको उनले बताए।
जस्मिन पेन्टसले एनपिएल सुरू अघि देखिनै प्रत्येक चौकामा एक बिरुवा र प्रत्येक छक्कामा २ बिरुवा रोपिने प्रतिबद्धता ब्यक्त गरेको थियो ।
कम्पनीको प्रतिबद्धता अनुसार जम्मा १३३९ वटा बिरुवाहरू शुक्रबारबाट सुरू गरी विभिन्न स्थानमा वृक्षारोपण गरिने कम्पनीका सञ्चालक लक्ष्मण अर्यालले बताए।