अरूणकृष्ण श्रेष्ठ, सोभनवीर मालाकार र रौनक एसजेभी राणा सहपाठी थिए। अहिले उनीहरू संयुक्त व्यवसायको यात्रामा छन्।
तेह्र वर्षअघि उनीहरूले काठमाडौंको लाजिम्पाटमा खोलेको 'त्रिशारा रेस्टुरेन्ट' अहिले लोकप्रिय थलो बनिसकेको छ। दरबारमार्ग र पोखरामा शाखा खुलिसके। हाल त्रिशारामा ३५० जनाले रोजगारी पाएका छन्।
यही टिमले रेस्टुरेन्टसँगै 'द बेकिङ फ्याक्ट्री' पनि चलाएको छ। पाँच वर्षअघि सुरू भएको द बेकिङ फ्याक्ट्रीका सातवटा आउटलेट (पसल) छन्।
सुरूका केही वर्ष रेस्टुरेन्ट चलाउन निकै मेहनत गर्नुपरेको सञ्चालकमध्येका एक सोभन बताउँछन्। तर त्यो कष्ट अहिले पाएको सफलताले भुल्दै गएको उनले बताए।
'आज त्रिशारालाई धेरैले रूचाइदिनुभएको छ। हाम्रो सफलता यही हो,' उनले भने।
व्यवसाय मात्र होइन, तीन साथीको मित्रता पनि प्रगाढ छ। प्रायःजसो उनीहरू सँगै हुन्छन्। पर्याप्त विमर्श गरेर आपसी सहमतिमा निर्णय लिन्छन्।
'हाम्रो मित्रता व्यवसायमा परिणत भयो। हाम्रो एकै सोच र एकै उद्देश्य छ,' अर्का सञ्चालक रौनकले भने, 'हाम्रो मित्रता र व्यवसाय युवा साथीहरूका लागि उदाहरण बन्न सक्छ।'
व्यवसायमा सँगै अघि बढिरहेका अरूण, सोभन र रौनकको पृष्ठभूमि भने फरकफरक थियो।
ललितपुरका अरूण र काठमाडौंका सोभन एउटै स्कुलमा पढ्थे। फाटफुट कुरा हुने साथी थिए। पछि उनीहरू प्लस-टुमा पनि सँगै भए। त्यसपछि घनिष्ठता बढ्दै गयो। त्यही क्याम्पसमा भेटिए रौनक।
सोभन प्लस-टु सकेर बिबिए पढ्न बैंगलुरू गए, रौनक हस्पिटालिटी म्यानेजमेन्ट पढ्न लन्डन। अरूण काठमाडौंमै पढे।
अरूणले २० वर्षकै उमेरमा रहरले ठमेलमा एउटा रेस्टुरेन्ट एन्ड बार खोलेका थिए। राम्ररी चलेको त्यही रेस्टुरेन्टको अनुभवले उनी हस्पिटालिटी व्यवसायमै लाग्ने निष्कर्षमा पुगेका थिए।
केही समयपछि सोभन बिबिए पूरा गरेर स्वदेश फर्के। स्नातकोत्तर तहको पढाइसँगै महाबौद्ध र बानेश्वरमा गार्मेन्ट व्यवसाय चलाए।
अरूण र सोभन फुर्सद मिलाएर भेट्थे। आआफ्ना व्यवसायको कुरा गर्थे। यही क्रममा हस्पिटालिटीमा सहकार्य गर्ने निष्कर्षमा पुगे। तर काम अघि बढ्न पाएको थिएन।
उता रौनकले लन्डनमा पढाइसँगै रेस्टुरेन्टमा काम गरे। वेटरबाट प्रवेश गरेर सेफ भए। चार वर्षपछि उनी पनि स्वदेश फर्किए। यहाँ सोल्टी र ह्यात होटलमा गरी पाँच वर्ष काम गरे। यही अनुभबाट उनी पनि रेस्टुरेन्ट व्यवसाय गर्ने निर्णयमा पुगे।
'यसरी तीनै जनाको कुरा मिल्यो र रेस्टुरेन्ट चलाउने सहमति भयो,' अरूणले भने।
उनीहरू लाजिम्पाट क्षेत्रमा रेस्टुरेन्ट चलाउन चाहन्थे। ठाउँ खोज्न सुरू भयो तर चित्तबुझ्दो फेला परेन।
रौनकको घर लाजिम्पाटमै थियो। रेस्टुरेन्टका लागि ठाउँ खोजिरहेकै समयमा उनीहरूको निवास त्यहाँबाट अन्यत्रै सर्यो। दुई रोपनी जमिन खाली भयो।
'ढुंगा खोज्दा देउता मिलेजस्तो भयो नि। हामी लाजिम्पाट क्षेत्रमै रेस्टुरेन्ट चलाउनुपर्छ भन्थ्यौं। ठाउँ नपाएर हैरान भएका बेला रौनकले मेरै जमिनमा चलाऔं भनेपछि हामीले काम सुरू गर्यौं,' सोभनले भने।
तीनै जनालाई परिवारको समर्थन थियो। जनही आठ लाख रूपैयाँ गरी तीन जनाले जम्मा २४ लाख रूपैयाँ जुटाए।
रेस्टुरेन्टको नाम 'त्रिशारा' जुराए।
दुइटा चुल्हो र १५ वटा टेबल राखे। सातामा तीन दिन 'लाइभ म्युजिक' राखे। रेस्टुरेन्टमा फोटो खिचिदिने सुविधा दिए।
'त्यस बेला काठमाडौंमा ठमेलबाहिरका रेस्टुरेन्टमा लाइभ म्युजिक सुविधा विरलै थियो। सुनसान लाजिम्पाटमा हामीले लाइभ म्युजिक राखे पनि माहोल बनाउन निकै समय लाग्यो। प्रयास जारी राख्यौं। बिस्तारै माहोल तात्दै गयो,' रौनकले भने।
रेस्टुरेन्टकै तर्फबाट फोटो खिचिदिने सुविधा भने उनीहरूले विदेशमा देखेका थिए। निकै मनपरेकाले त्रिशारामा पनि राखेका हुन्।
'बिस्तारै त्रिशारा फोटो खिच्न पाइने ठाउँका रूपमा चिनियो। अहिले त धेरै रेस्टुरेन्टमा यो चलन भित्रिएको छ,' रौनकले भने।
लाजिम्पाटमा चार वर्षको अनुभवपछि उनीहरू पोखरा पुगे। सात वर्षमा दरबारमार्गमा थपिएको हो।
सोभनका अनुसार तीनवटै रेस्टुरेन्ट राम्ररी चलेका छन्।
फराकिलो रेस्टुरेन्ट परिसर र परिकारको विविधताले पनि आगन्तुकको मन खिचिरहेको उनीहरू बताउँछन्। यहाँ नेपाली, इन्डियन, चाइनिज, थाई, इटालियन परिकारहरू पाइन्छ।
'त्रिशारा एउटा प्याकेज हो। धेरै किसिमका खाना पाइन्छ। त्यसै अनुसार मेनु राखेका छौं,' सोभनले भने, 'बेकरी त त्रिशाराको विशेषता नै भएको छ। जन्मदिन, वार्षिकोत्वस र यस्तै अन्य अवसरमा केक काटेर रमाइलो गर्ने सुविधा छ।'
यी तीन साथीले त्रिशारासँगै द बेकिङ फ्याक्ट्रीलाई पनि अगाडि बढाएका छन्। हाल लाजिम्पाटसँगै ठमेल, गोल्फुटार, पुल्चोक, कुमारीपाटी, हात्तीवन र भैंसेपाटीमा छ। उनीहरू जापानी परिकार 'सान्चेन रामेन' पनि पस्किरहेका छन्। दरबारमार्ग, ठमेल र ललितपुरको मंगलबजारमा यसका पसल छन्।
यसबाहेक यी तीन साथीले पोखराको लेकसाइडमा २३ कोठाको 'जेड सिटी' नामक होटल चलाएका छन्। यता लाजिम्पाटमा 'इभल्भ फिटनेस' पनि चलाएका छन्।
'हामीले व्यक्तिको दिनचर्या ध्यानमा राखेर जिम गर्ने, ब्रेकफस्ट खाने र बेलुका रमाउन त्रिशारा पुग्ने गरी प्याकेज बनाएका छौं। हामी तीन जनाको १३ वर्षको मेहनत र लगानी यही हो,' सोभनले भने।
उनीहले एउटा रिसोर्ट खोल्न नुवाकोटको ककनीमा पनि जमिन लिएका छन्। यो त्रिशाराकै नाममा चल्नेछ।
त्यस्तै विदेशमा बस्ने नेपालीसँगको सहकार्यमा अन्तर्राष्ट्रिय बजारमा पुग्ने योजना छ।
'त्रिशारालाई अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारीमा छौं। नेपालमा फ्रेन्चाइज खोल्ने भनेर धेरै आए तर हामी त्यो मोडलमा गएनौं,' उनीहरू भन्छन्, 'हामी तीन जनाको मेहनतले बनाएको त्रिशारा ब्रान्ड स्वदेशमा जहाँ पुगे पनि आफैं चलाउँछौं।'