सन्तोष कँडेल सन् २०१४ तिर चीन गएका थिए। त्यहाँ मान्छेहरूले अनलाइनबाट उपभोग्य सामग्री किनेको देखेर अचम्म परे।
त्यतिखेर चितवनको भरतपुरमा 'फुड अन कल' नामको कम्पनीले ग्राहकले फोनमार्फत अर्डर गरेको खाना घरघरमा पुर्याउन थालेको थियो। अनलाइनमार्फत अर्डर गर्ने सुविधा थिएन।
खाना फोनबाट अर्डर गरेपछि घरमै ल्याइदिने व्यवसायको बारेमा सन्तोषले पनि सुनेका थिए। तर जुनसुकै सामग्री इन्टरनेटमा हेरेर अर्डर गरेको आधारमा केही मिनेटमा घरैमा आइपुग्ने सुविधा पनि हुन्छ भन्ने कल्पनासम्म गरेका थिएनन्।
'चीनमा साथीहरू अनलाइनमार्फत कोठामै कपडा मगाउँथे। कार्यालयमा अनलाइनबाटै मगाएर खाजा खान्थे। सामान किन्न पसल जानै पर्थेन,' उनले सम्झिए, 'एक वर्षे बसाइमा मैले पनि कैयौं पटक अनलाइन अर्डर गरेँ। फर्किएर नेपालमा यस्तै काम सुरू गर्छु भन्ने निधो गरेँ।'
उनले आफ्नै गृहजिल्ला चितवनबाट सो काम सुरू गर्ने संकल्प गरे।
त्यो बेलाको त्यही संकल्पले सन्तोषलाई 'मेरो किनमेल' ब्रान्डको संस्थापक बनाएको छ। यो ब्रान्डले अहिले देशका पाँचवटा सहरहरूमा आठवटा कार्यालय स्थापना गरेर काम गरिरहेको छ। अनलाइनमार्फत अर्डर गरेका पाँच सय बढी ग्राहकलाई दैनिक खाना, पेय पदार्थ, किराना सामान, फलफूल र तरकारी डेलिभरी गर्छ।
सन्तोषले सन् २०१५ मा ठूलीआमाका छोरा सुशील सापकोटासँग मिलेर मेरो किनमेल प्रालि स्थापना गरेका हुन्।
'हामी अहिले यो ब्रान्डलाई देशभर फैलाउन लागि परेका छौं,' उनले भने।
२०४८ सालमा जन्मिएका भरतपुर–४ लंकुका सन्तोषले काठमाडौंको न्यू डन बस्को एकेडेमीबाट स्कुलको पढाइ सकेका हुन्। प्लस-टु काठमाडौंकै ग्लोबल कलेज अफ म्यानेजमेन्टबाट गरे। इन्टरनेसनल स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्टबाट बिएचएम गरेपछि उनले जिपिएको आधारमा चीनको हाइनान प्रान्तस्थित होवर्ड जनसन होटल सान्यामा इन्टर्न गर्ने अवसर पाए।
नेपाल फर्किएपछि चितवनको प्रेसिडेन्सी कलेजमा एमबिए पढ्न थाले। त्यही बेला मेरो किनमेलको योजना बनाए।
सन्तोषको परिवारले भने यो काममा उनको भविष्य देखेको थिएन। बुबा बेलायत र दुईजना दाइहरू अस्ट्रेलियामा थिए। उनले पनि विदेशमै अवसर खोज्न सक्थे।
'छिमेकका प्रायः घरबाट कोही न कोही वैदेशिक रोजगारीमा छन्। कोही युवा विदेश गएन भने उसमा कुनै कमजोरी छ भन्ने मानसिकता समाजमा थियो। मलाई पनि त्यही भन्छन् कि भन्ने लाग्थ्यो,' सन्तोष भन्छन्, 'धन्न त्यस्तो भएन।'
सन्तोषलाई यो व्यवसायमा कुरा बुझ्ने र संघर्ष गर्न सक्ने सहयात्री आवश्यक थियो। सुशील त्यो बेला प्लस-टु सकेर थप पढ्न अस्ट्रेलिया जाने तयारीमा थिए। सुशीलका दाजु अस्ट्रेलियामै थिए। परिवारको चाहना उनी पनि जाऊन् भन्ने नै थियो।
आइइएलटिएस कक्षा पढिरहेका सुशीललाई सन्तोषले अनलाइन बजारबारे निकै मेहनत गरेर बुझाए।
'यसपछि पनि हामीले अनलाइन बजारबारे धेरै अध्ययन गर्यौं,' सुशीलले भने, 'राम्रो हुन्छ भन्ने लाग्यो। तर परिवारलाई मनाउन गाह्रो थियो। मैले स्नातक तह यहीँ पढ्ने भनेपछि अनुमति मिल्यो। म सप्तगण्डकी क्याम्पस भर्ना भएँ। कम्तीमा चार वर्ष यहीँ बस्ने भएपछि व्यवसाय गर्ने निधो भयो।'
सन्तोष र सुशीलले व्यवसाय सुरू गर्न घरमा पैसा मागेनन्। पढाइ र खाजा खर्चका लागि दिएको पैसा बचाउने उनीहरूको बानी थियो। त्यो पैसा उनीहरूले विभिन्न कम्पनीका सेयरमा हालेका थिए।
'सुरूसुरूमा आइपिओ भर्थ्यौं। पछि सेकेन्डरी मार्केटमा पनि प्रवेश गर्यौं। हामी कलेज सकिएपछि ब्रोकर कार्यालयमा हाजिर भइहाल्थ्यौं। सेयर बजार हामीलाई फापिरहेको थियो। पैसा बढिरहेको थियो,' सन्तोषले भने, 'मैले सुशीललाई त्यही सेयर बेचेर व्यवसाय सुरू गरौं भनेँ।'
उनीहरूले एक/एक लाख रूपैयाँको सेयर बेचे। त्यो पैसाले कम्पनी दर्ता गरे। वेबसाइट बनाए। मोटरसाइकल किने। आफैले डिजाइन गरेर फलामको डन्डी र कपडाको झोला बनाए। प्रचार सामग्रीहरू तयार पारेर बिजुलीका खम्बाहरूमा टाँसे। पसल, रेस्टुरेन्टहरू धाएर अनलाइन व्यवसायबारे बुझाए।
अरू सामानको अर्डर खासै आएन। खानाको भने अर्डर आउन थाल्यो। डेलिभरी गर्न दाजुभाइ नै भिडे।
काम अलिअलि बढ्दै गयो। ६ महिनापछि उनीहरूले सामान डेलिभरी गर्ने दुई जना कर्मचारी राखे। सामान्य कुर्सी र टेबल किनेर नारायणघाटस्थित इन्द्रदेव मार्गमा कार्यालय स्थापना गरे। केही महिनापछि मोबाइल एप बनाए। कम्पनीलाई खाना डेलिभरीमै केन्द्रित गरे।
त्यतिखेर अनलाइनमार्फत सामान किनेर अनलाइनमार्फत नै भुक्तानी गर्नु नेपालका लागि नौलो थियो। उनीहरूले सन् २०१८ मार्चमा इसेवा, फोनपे प्रालिसँग सहकार्य गरेर अनलाइन भुक्तानी गर्न मिल्ने व्यवस्था गरे।
'अनलाइनमार्फत भुक्तानी सुविधा दिने नेपालकै पहिलो फुड डेलिभरी कम्पनी हो मेरो किनमेल,' सन्तोषले दाबी गर्दै भने।
सन्तोष र सुशीलले घरबाट पैसा नमाग्ने अठोट गरेका थिए। कहिलेकाहीँ कार्यालयको भाडा तिर्न कठिन हुन्थ्यो। त्यस्तो बेला उद्योग वाणिज्य संघसँग सहकार्य गरेर सेयर बजार सम्बन्धी तालिम सञ्चालन गरे। त्यसबाट आएको पैसाले भाडा तिरे। कहिले आफन्तको घरको छतमै कार्यालय राखेर काम गरे।
'व्यवसाय टिकाउन निकै संघर्ष र मेहनत गर्यौं,' सन्तोषले भने, 'रेस्टुरेन्टहरूले पत्याउँथेनन्। डेलिभरी गर्ने मान्छे पाउन पनि गाह्रो थियो। ग्राहकहरू मेनुको भन्दा बढी मूल्य लियो भनेर आलोचना गर्थे। अनलाइन व्यवसायबारे बुझाउन धेरै समय लाग्यो।'
केही वर्षको संघर्षपछि मेरो किनमेलले विश्वास कमाउँदै गयो। ग्राहक बढ्न थाले। व्यवसाय प्रवर्द्धनमा सामाजिक सञ्जालहरू पनि सहयोगी बने।
कोरोना महामारीले लकडाउन हुँदा उनीहरूले अनलाइन व्यवसायमा थप मेहनत गरे। अर्डर बढ्दै गएपछि कर्मचारी थपे। शाखा विस्तार गर्दै गए। अहिले चितवनको भरतपुर, टाँडी, पर्सा, बुटवल, भैरहवा, हेटौंडा, वीरगञ्ज र विराटनगरमा मेरो किनमेलका शाखा छन्।
सबै शाखामा गरेर ८० जना कर्मचारी रहेको सन्तोष बताउँछन्।
'कर्मचारीलाई २० हजारदेखि ५० हजार रूपैयाँसम्म तलब दिन्छौं। सुशील र म पनि तलब नै लिन्छौं। कम्पनीको नाफा कम्पनीमै लगानी गर्दै आएका छौं,' उनले भने, 'दुई वर्षअघिको मूल्यांकनमा हाम्रो कम्पनीको मूल्य दुई करोड रूपैयाँभन्दा माथि पुगेको थियो।'
उनीहरूले पूर्वाञ्चल विश्वविद्यालयमार्फत विश्वविद्यालय अनुदान आयोगको नवप्रवर्द्धक अनुदान पनि पाएका छन्। भरतपुरको प्रेसिडेन्सी कलेजको सहयोगमा प्राप्त त्यो रकमलाई व्यवसायको वृत्तिविकासमा लगाएका छन्।
'हाम्रो लक्ष्य अब यो व्यवसायलाई सबभन्दा विश्वासिलो फुड डेलिभरी ब्रान्ड बनाउने छ। बिहानदेखि रातिसम्म आवश्यक पर्ने घरायसी सबै सामानहरूको डेलिभरी गर्ने विश्वासिलो ब्रान्ड बनाउने लक्ष्यमा हामी हिँडेका छौं,' दाजुभाइ भन्छन्।
चितवनलाई केन्द्रमा राखेर देशभर सेवा फैलाउने उनीहरूको लक्ष्य छ।