बाबु पानी तान्ने मेसिन मर्मत गर्दै थिए।
छोरा आइपुगे अनि छिनभरमै भने, 'हजुर छोड्नुहोस्, म बनाउँछु।'
बाबुले दिएनन्।
भने, 'तिमी बस, म एकैछिनमा सक्छु।'
यो संवाद हो गत साताको एक दिन दाङको तुलसीपुर उपमहानगरपालिका-१९, बिजौरी बजारस्थित 'शिशिर इलेक्ट्रिक सेन्टर' मा बाबु र छोराबीचको।
बाबु हुन् ४५ वर्षीय शरद पौडेल, छोरा २२ वर्षीय शिशिर। उनीहरू पानी तान्ने पम्प (मोटर) मर्मत गर्दै थिए। यी बाबुछोराले घरमै गएर पनि सेवा (होम सर्भिस) दिन्छन्।
'कमाइ सन्तोषजनक छ। पसलको घरभाडा मासिक १० हजार रूपैयाँ छ। सबै खर्च कटाएर मासिक कम्तीमा ५० हजार रूपैयाँ बचत हुन्छ,' शरदले भने।
शरदकी श्रीमती ४४ वर्षीया बालिका गृहिणी हुन्। घर सह्माल्ने जिम्मेवारी उनकै हो। छोरी सिजन जनस्वास्थ्य (पब्लिक हेल्थ) विषय लिएर काठमाडौंमा स्नातक तह पढ्दै छिन्। छोरा शिशिरले घोराहीस्थित पद्मोदय पब्लिक माविबाट इलेक्ट्रिक इन्जिनियरिङ विषयमा 'डिप्लोमा' तह पूरा गरेका छन्।
शरद भने शिक्षण पेसा छाडेर विद्युतीय सामान मर्मतको काममा आएका हुन्। उनले अंग्रेजी मुख्य विषय लिएर बिएड (शिक्षाशास्त्रमा स्नातक) र समाजशास्त्रमा स्नातकोत्तर पूरा गरेका छन्।
शरदले २०५० सालमा एसएलसी (कक्षा १० को अन्तिम परीक्षा) उत्तीर्ण गरेपछि थप पढाइ गरे। परीक्षापछिको फुर्सदमा स्थानीय सृजन बालबाटिकामा पढाउन सुरू गरे। मासिक तलब ६ हजार रूपैयाँ थियो। बिएडको अन्तिम परीक्षापछि फेरि त्यही स्कुलमा पढाउन थाले।
तीन छोरामध्ये जेठा शरदको बिहे घोराहीको रामपुरकी बालिकासँग भयो। २०६५ सालमा २५ जना मिलेर बिजौरीमा न्यु स्टार सेकेन्डरी बोर्डिङ स्कुल खोले। सेयर सदस्यमध्ये एक जना शरद पनि थिए। उनले त्यहाँ दुई वर्ष पढाए। भाइस प्रिन्सिपलको जिम्मेवारीमा पनि थिए।
त्यसैबीच शरद स्नातकोत्तर पढ्न नेपालगञ्ज गए। पढाइ पूरा गरेर आएपछि दीपेन्द्र माध्यामिक विद्यालय, मानपुरमा शिक्षक भए। उनी परचाइल्ड फन्ड (पिसिएफ) मा नियुक्त भएका थिए जसमा विद्यार्थी संख्याका आधारमा तलब प्राप्त हुन्थ्यो।
उनी सरकारी स्कुलका शिक्षक हुन चाहन्थे। सरकारी दरबन्दीमा प्रवेश पाउने अपेक्षामा दीपेन्द्र माविमा चार वर्ष बिताए तर नियुक्ति पाएनन्। कहिलेसम्ममा पाइएला भन्ने पनि टुंगो भएन।
त्यतिन्जेलमा शरद दुई सन्तानका बाबु भइसकेका थिए। पारिवारिक जिम्मेवारी बढ्दै थियो। उनी पिसिएफ शिक्षक भएर गृहस्थी चल्दैन भन्ने निष्कर्षमा पुगे। आफू सेयर सदस्य रहेको निजी स्कुलमा पनि गएनन्। उनले शिक्षण पेसा त्यागे।
उनले भने, 'मेरा लागि शिक्षण पेसा एउटा अनुभव भयो। अब शिक्षक भएर हुँदैन, कुनै नयाँ सुरूआत गर्नुपर्छ भन्ने सोच आयो।'
बेरोजगार भएको त्यो असहज अवस्थामा उनले आफ्ना भिनाजु मधुप्रसाद अधिकारीलाई सम्झे। भिनाजुले तुलसीपुरमै न्यू शर्मा इलेक्ट्रिक वर्कसप नामको पसल चलाएका थिए। शरद कहिलेकाहीँ तुलसीपुर जाँदा भिनाजुको पसलमा समय बिताउँथे। पसल राम्रै चलेको थियो।
वैदेशिक रोजगारीको लहर थियो। कतिपयले शरदलाई विदेश जान सल्लाह दिए तर उनी त्यसो गर्न इच्छुक थिएनन्। कुनै नयाँ पेसा सुरू गर्न चाहन्थे।
शरदले भिनाजुको पसलमा बसेर विद्युतीय सामान मर्मतको काम सिक्ने विचार गरे। भिनाजुले पनि खुसीसाथ स्वीकार गरे। यसरी शरद थाहै नभएको नयाँ काममा प्रवेश गरे। शून्यबाट सुरू गर्नुपर्ने भए पनि भिनाजुको पसल भएकाले केही सजिलो भयो।
एकपछि अर्को गर्दै मोटर, पंखा, राइस कुकर, मिक्सचर, बत्ती जस्ता विद्युतीय उपकरण मर्मत गर्न सिके। जान्ने भएपछि होम सर्भिसमा पनि जान थाले।
'एक वर्ष काम सिकेपछि भिनाजुले दैनिक १५ सय रूपैयाँ पारिश्रमिक दिन थाल्नुभयो। अलिक पछि दैनिक तीन हजार रूपैयाँसम्म कमाइ हुन थाल्यो। जति बढी काम उति नै बढी पैसा हुन्थ्यो,' उनले भने।
कामले काम सिकाउँछ भनेझैं शरदले बत्तीको तार जडान (वायरिङ) को काम पनि सिके। सम्पर्क फराकिलो हुँदै गएपछि आफूलाई चाहिने सामान तुलनात्मक रूपमा सस्तोमा पाइने ठाउँ पहिल्याए। बुटवल, काठमाडौं र भारतको रूपैडियाबाट समेत सामान मगाउन थाले।
ग्राहकको विश्वास जित्न उनले वेल्डिङ सम्बन्धी तालिम पनि लिए। काम जानेकै भए पनि औपचारिक प्रमाणपत्र हासिल गर्न तालिम पनि लिए।
यसरी भिनाजुको पसलमा काम गर्दागर्दै पाँच वर्ष बित्यो। काम जाने, तालिम लिए, आत्मविश्वास बलियो भयो।
'अब आफू एक्लै पसल चलाउन सक्छु भन्ने निष्कर्षमा पुगेँ,' शरदले भने, 'भिनाजुलाई पनि भनेँ। आफूले काम सिकाएको सालोले आफै पसल खोल्छु भनेपछि भिनाजु खुसी नहुने कुरै थिएन। प्रगतिको शुभकामनाका साथ बिदा गर्नुभयो।'
शरदले बिजौरी बजारमा शिशिर इलेक्ट्रिक सेन्टर नाममा विद्युतीय उपकरण मर्मतको पसल खोले। पाँच लाख रूपैयाँ लगानीबाट सुरू गरेको पसलमा आज करिब ३० लाख रूपैयाँको सामान रहेको उनले बताए।
'बैंकको ऋण १५ लाख रूपैयाँ जति छ,' उनले भने, 'सबै काम बाबुछोराले नै धानेका छौं। एउटा मोटरसाइकल छ। काम विचार गरेर बाबु र छोरामध्ये एक जना बाहिर (फिल्ड) को काममा जान्छौं।'
छोरा शिशिर विद्यार्थी छउन्जेल शरद एक्लै काम गर्थे। आजकाल दुवै जना बिहानैदेखि काममा खट्छन्।
शिशिर बुबाका साथमा काम गर्दागर्दै जान्ने भएका हुन्। बुबा शरदको सल्लाहमै उनले इलेक्ट्रिक इन्जिनियरिङ विषय पढेका हुन्।
'मैले उच्च शिक्षा लिए पनि मेरो पढाइ गरिखान सहयोगी भएन। मेरो मास्टर्स डिग्री प्रयोगात्मक थिएन। प्रयोगात्मक शिक्षाले मात्र गरिखान सहयोग पुग्छ भन्ने कुरा बल्ल बुझ्दै छु,' उनले भने, 'शिक्षा सीपमूलक हुनु राम्रो हुन्छ। तर शिक्षा ज्ञानका लागि पनि हो। त्यसैले जति पढेको भए पनि मान्छेले गरिखाने काम सिक्नुपर्छ। काम सानोठूलो हुँदैन, गर्न लाज मान्नु हुँदैन।'
देशमा रोजगारी छैन भनेर युवा जमात विदेश जाने प्रवृत्तिलाई शरदले सीपसँग जोडेर हेरेका छन्। रोजगारीका लागि विदेश जानेमा धेरैजसो हातमा सीप नहुनेहरू नै हुन् भन्ने उनको ठहर छ।
शिक्षण पेसा छाडेर विद्युतीय सामान मर्मतको काम गर्न थालेको वर्षौं भए पनि उनलाई स्थानीयले अझै पनि 'सर' नै भनेर बोलाउँछन्।
शरदका विद्यार्थी रहेका तुलसीपुर उपमहानगर वडा नम्बर १८ का वडाध्यक्ष माधव वलीले भने, 'सर (शरद) आफूलाई मिस्त्री भन्नुहुन्छ तर सबैले उहाँलाई आदर गरेर सर भन्छन्।'
शरद भने अब कहिल्यै शिक्षण पेसातिर नफर्किने बताउँछन्।
'पसलमा आउनेहरू मलाई मिस्त्री मात्रै ठान्छन्। उनीहरूको घरमा सेवा दिन जाँदा पनि म मिस्त्री नै हुन्छु। मलाई यसैमा आनन्द छ,' उनले भने, 'मिस्त्री हुनुमै रस पसिसक्यो।'
आफूलाई इमानदारीमा विश्वास रहेको र त्यसै अनुसार काम गरिरहेको उनी बताउँछन्।
'हामी इमानका साथ काम गर्छौं। कामको उचित मूल्य लिन्छौं। कसैलाई ठग्दैनौं,' उनी भन्छन्, 'पेसागत इमानदारी ठूलो कुरा हो। विश्वासले मात्र सेवाग्राहीको संख्या बढ्छ।'