अमेरिकाका एक किशोरले ११ वटा प्रमुख खाद्य कम्पनीमाथि मुद्दा हालेका छन्।
बच्चाहरूलाई लत लाग्ने खालका उच्च मात्रामा प्रशोधित खाद्य सामग्री बनाएको भनेर उनले मुद्दा हालेका हुन्।
रोयटर्सका अनुसार पेन्सिल्भेनिया राज्यको फिलाडेल्फियाका किशोर ब्राइस मार्टिनेजले ती कम्पनीका उत्पादन खाएकाले आफूलाई १६ वर्षमै मधुमेह (टाइप २) र मदिरा सेवन नगरिकनै हुने ‘फ्याट्टी लिभर’ रोग लागेको भनेका छन्। यही आरोपमा उनले ‘फिलाडेल्फिया कोर्ट अफ कम्मन प्लीज’ मा कोकाकोला, क्राफ्ट हाइन्ज, मार्स, केलोग लगायत प्रमुख खाद्य कम्पनीविरूद्ध मुद्दा हालेका हुन्।
यी कम्पनीले 'अल्ट्रा प्रोसेस्ड' (उच्च मात्रामा प्रशोधित) खाद्य सामाग्री बनाएको र ती उत्पादनको बालबालिका लक्षित बजारीकरण गरेको आरोप उनले लगाएका छन्।
आफ्ना उत्पादनले हानि गर्छन् भन्ने थाहा हुँदाहुँदै पनि खाद्य कम्पनीहरूले लत लगाउने गरी बनाएको आरोप मार्टिनेजले लगाएका छन्। षड्यन्त्र, लापरवाही, ठगी र नाजायज व्यापारिक अभ्यास लगायतमा क्षतिपूर्ति दाबी गर्दै उनले ती कम्पनीलाई सजायको पनि माग गरेका छन्।
उनको मुद्दा लड्ने मोर्गन एन्ड मोर्गन ल फर्मका वकिलहरूले यस्तो खाले मुद्दा पहिलो पटक हालिएको दाबी गरेका छन्।
अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) का आयुक्त रोबर्ट क्यालिफले अल्ट्रा प्रोसेस्ड खानेकुराले लत लगाउन सक्ने बताएका छन्।
त्यस्तै डोनाल्ड ट्रम्पले स्वास्थ्य र मानव सेवा विभागको नेतृत्व गर्न चुनेका रोबर्ट एफ केनेडी जुनियरले पनि खाद्य कम्पनीहरूले नागरिकको स्वास्थ्य बिगारेको आरोप लगाएका छन्। उनले एफडिएले ती कम्पनीको राम्ररी नियमन गर्न नसकेको आरोप पनि लगाउँदै आएका छन्।
खाद्य तथा पेय पदार्थको प्रतिनिधित्व गर्ने कन्जुमर ब्रान्ड्स एसोसिएसनले मार्टिनेजको मुद्दापछि विज्ञप्ति निकालेर अहिलेसम्म अल्ट्रा प्रोसेस्ड खानेकुराको वैज्ञानिक परिभाषा नभएको औंल्याएको छ। प्रोसेस्ड भएकै कारण खाद्य सामग्री अस्वस्थ छ भन्दा उपभोक्ता भ्रमित हुने र खाद्य कम्पनीहरूले एफडिए मापदण्ड पालना गरेरै उत्पादन गरिरहेको एसोसिएसनको दाबी छ।
सो विज्ञप्तिले भने जस्तै खासमा कस्तो खानेकुरालाई प्रोसेस्ड वा अल्ट्रा प्रोसेस्ड भनिन्छ भन्ने वैज्ञानिक परिभाषा छैन।
अल्ट्रा प्रोसेस्ड खानेकुरा शब्दावलीको प्रयोग ब्राजिलियन डाक्टर कार्लोस मोन्टेरोले सुरू गरेका थिए। उनले खानेकुरालाई चार वर्गमा विभाजन गरेका छन्। उनका अनुसार अन-प्रोसेस्ड खाद्य सामग्रीमा काँचो तरकारी र फलफूल पर्छन्। प्रोसेस्ड पाक सामग्रीमा खाने तेल र मह पर्छन्। त्यस्तै प्रोसेस्ड खानेकुरामा क्यान (टिनको डब्बा) मा राखिएका तरकारीहरू पर्छन्। अल्ट्रा प्रोसेस्ड खानेकुरा भनेको जंक फुड (चाउ-चाउ, आलु चिप्स, भुजिया-दालमोठ लगायत) हुन्।
उनले बजारमा पाइने पेय पदार्थ, पाउरोटी जस्ता खाद्य सामग्रीलाई भने वर्गीकरण गरेका छैनन्। तर अल्ट्रा प्रोसेस्ड खानेकुरा छुट्टयाउने एउटा सजिलो तरिका सुझाएका छन्। घरको भान्सामा विरलै प्रयोग हुने वा कहिले पनि प्रयोग नहुने सामग्रीहरूबाट बनेको खानेकुरा अल्ट्रा प्रोसेस्ड हुन्। उनको वर्गीकरण अनुसारका खाद्य सामग्री अस्वस्थ हुन्छन् भनेर प्रायः सबैतिर मानिन्छ। तर पनि वैज्ञानिक रूपमा परिभाषित छैन।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)