पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोल मिश्रण गर्ने सम्बन्धमा बहस चलिरहेका बेला नेपाल आयल निगमले १० देखि १५ प्रतिशत मिश्रण गर्न सकिने जनाएको छ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार राजधानीमा पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको सम्बन्धमा छलफल कार्यक्रम आयोजना गरेकोमा निगमकातर्फबाट कार्यपत्र प्रस्तुत गर्दै केन्द्रिय प्रयोगशाला प्रमुख प्रतिभा महर्जनले यस्तो बताएकी हुन्।
उनका अनुसार २०६० सालमा नै नेपालले आयतित पेट्रोलियम पदार्थमा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेकाले यो सम्भव हुने भएको हो।
'२०६० मंसिर २९ गतेको नेपाल राजपत्र खण्ड ५३ संख्या ३५ मा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरिएको थियो। त्यसयता बनेका इथानोल मिश्रणसम्बन्धी अध्ययन तथा सिफारिसले पनि सोही नीतिलाई अघि सारेको छ,' उनले भनिन्, 'इथानोल बर्निङ पावरयुक्त तत्व हो। यसले पेट्रोलियम पदार्थको खपत कम गराउन सहयोग पुर्याउछ भने देशबाट बाहिरिने विदेशी मुद्रालाई समेत बचत गराउँछ।'
कार्यपत्र प्रस्तुत गर्दै महर्जनले छिमेकी मुलुक भारत र चीनले समेत १५ देखि ३० प्रतिशतसम्म इथानोल प्रयोगलाई कार्यान्वयन गर्ने नीति बनाएकोमा नेपालले १० प्रतिशतलाई सहजै मिश्रण गर्न सकिने उनले बताइन्।
इथानोल मिश्रणको सन्दर्भमा अमेरिकामा १० प्रतिशत, ब्राजिलमा २७ प्रतिशत, भारतमा १५ प्रतिशत र चीनमा १० प्रतिशत कार्यान्वयनमा रहेको अवस्थामा नेपालले पनि यसमा जान सक्ने उनको भनाइ छ।
भारतले सन् २०३० सम्ममा इथानोलको प्रयोग कम्तीमा ३० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ।
जसका लागि भारत सरकारले इथानोल उत्पादन र ढुवानीका लागि निःशुल्क व्यवस्था गरिएको समेत उनले बताइन्।
यस्तै नेपालले पनि वातावरणमैत्री इथानोल उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न सरकारले विशेष नीति लिनुपर्ने उनको भनाइ छ।
त्यस्तै, पेट्रोलियम पदार्थमा इथानोलाको प्रयोगमा बहस चलिरहे पनि सम्भावना र प्रयोगलाई ख्याल गर्नुपर्ने कियान केमिकल विज्ञ दिनेश पौड्याल बताउँछन्।
२०६० सालमा नै नेपालले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरे पनि यो बहसमा नै सीमित भएको उनको भनाइ छ।
'इथानोलको उत्पादन सम्भावना के हो? नेपालमा यो उत्पादन गर्न सकिन्छ सकिँदैन? फेरि उत्पादन भए पनि बजारको माग धान्न सक्छ कि सक्दैन?' उनले प्रश्न गरे।
उत्पादन र प्रयोगको सम्भावनालाई अध्ययन नगरी लहटका भरमा इथानोल प्रयोगमा जोड दिन नहुने पौड्याले बताए।