पछिल्ला केही दिनमा कच्चा तेलको अन्तर्राष्ट्रिय भाउ घटेर ७० डलर प्रति ब्यारेल पुग्न लागेको छ।
जुनको दोस्रो सातादेखि ८० डलर प्रति ब्यारेल हाराहारी रहेको कच्चा तेलको भाउ अगस्टमा भने ७५ डलर नजिक ढल्केको छ। अगस्ट २६ मा यो एकैपटक बढेर ८० डलर नजिक पुगेको थियो। मंगलबार भने ७३ डलरभन्दा तल झरेको छ। सन् २०२३ को अन्त्यपछि यो नै सबभन्दा कम हो।
केही अप्रत्याशित घटना नभए तेलको भाउ यो वर्षभरि नै अझ घट्ने प्रक्षेपण छ।
भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार तेलको भाउ तोक्छ। खुद पेट्रोलियम आयात गर्ने भारतले आफै भने अन्तर्राष्ट्रिय बजारको भाउ अनुसार तेलको भाउ समायोजन गर्छ। जसको असर केही समयपछि नेपालमा पनि पर्छ।
कच्चा तेलको अन्तर्राष्ट्रिय भाउ फेरि नबढे शनिबार मात्रै पेट्रोल, डिजेल, मटीतेल र हवाई इन्धनको भाउ घटाएको निगमले फेरि छिट्टै भाउ घटाउनेछ।
कच्चा तेलको अन्तर्राष्ट्रिय भाउ माग र आपूर्तिका आधारमा बजारले निर्धारण गर्छ। तर पनि साउदी अरेबिया सहितको तेल निर्यातकको संगठन ओपेकले उत्पादनमा थपघट गरेर भाउ प्रभावित गर्न खोज्छ। ओपेक र रूससहित केही अन्य राष्ट्र (ओपेक प्लस) ले छलफल गरेर आफूले चाहेको हाराहारीमा भाउ ल्याएर स्थिर राख्न उत्पादनको कोटा निर्धारण गर्छन्। र, त्यसै अनुसार उत्पादन गर्छन्।
सबभन्दा धेरै मात्रा र कम लागतमा तेल उत्पादन गर्न सक्ने भएकाले ओपेक प्लसमा साउदी अरेबियाको वर्चस्व चल्छ। अरू उत्पादकभन्दा धेरै अतिरिक्त क्षमता र कम लागतका कारण सस्तो भाउमा बेच्दा पनि फाइदा हुने भएकाले साउदी अरेबियाले चाहिएका बेलामा तुरून्तै उत्पादन ह्वात्तै बढाउन सक्छ।
साउदी अरेबियाको चाहनामा मात्र होइन, बजार भाउ, मागको अवस्था र सदस्य राष्ट्रहरूको सामूहिक स्वार्थ अनुसार ओपेक प्लस सदस्यहरूले सहमति गरेर उत्पादनको कोटा निर्धारण गर्छन्। त्यस्तै माग बढी र थोरै भए अनुसार मात्र होइन, आफूले चाहेको भाउका लागि पनि निर्धारण गर्छन्।
बजार भाउ अलि कम छ भन्ने लाग्यो भने बढाउन उत्पादन कटौती गर्छन्। भाउ अलि धेरै नै भयो र त्यसले माग घटाउन सक्छ भन्ने लाग्यो वा आफूलाई तेलबाट अलि धेरै आम्दानी चाहिएको छ भने उत्पादन बढाउँछन्।
उनीहरूले सन् २०२४ को सुरूदेखि नै कच्चा तेलको भाउ प्रति ब्यारेल ९० डलर हाराहारीमा राख्न खोजिरहेका थिए। तैपनि यो ८५ डलरको हाराहारीमा रह्यो। त्यसपछि बिस्तारै ८० डलरको हाराहारीमा हुँदै अहिले ७० डलरमा झर्न लागिरहेको छ।
बजारमा माग घट्नु बाहेक सन् २०२४ को सुरूका महिनामा तेलको भाउ ९० डलरभन्दा तल रहनुमा ओपेक प्लसले तोकेको कोटाभन्दा बढी उत्पादन गर्नु थियो। तेल उत्पादनको आधाजसो हिस्सा ओगट्ने ओपेक प्लस बाहेकका देशले उत्पादन नघटाएकाले पनि भाउ कम भएको थियो।
पछिल्लो समय भने तेलका मुख्य खपतकर्ता चीन र अमेरिकामा माग घटेकाले भाउ अझ घटेको हो। इरान-इसराइलको युद्ध हालका लागि टरेकाले पनि भाउ बढ्ने सम्भावना कम भएको हो।
अगस्ट २६ मा लिबियामा अन्तरिक द्वन्द्वका कारण उत्पादन घटेपछि एकैपटक तेलको भाउ बढेर ८० डलर छेउ पुगेको थियो। त्यसपछि फेरि बिस्तारै ओरालो लागेको भाउ लिबियाका द्वन्द्वरत समूहहरू सहमतिमा पुग्ने भएपछि मंगलबार धेरै नै घटेर ७३ डलरभन्दा तल झरेको हो।
अमेरिकामा निर्माण क्षेत्रको उत्पादनमा कमी आउने र चीनको अर्थतन्त्र पनि सुस्त हुने प्रक्षेपण रहेकाले भाउ अझै घट्ने सम्भावना छ।
ओपेक प्लसले अक्टोबरदेखि कच्चा तेलको दैनिक उत्पादन १ लाख ८० हजार ब्यारेलले बढाउने भनेर गत जुनमा नै निर्णय गरेको थियो। अहिलेको स्थितिमा अक्टोबरमा निर्णय गरेजस्तै उत्पादन बढाउने हो भने भाउ घटेर ५० डलरतर्फको यात्रामा लाग्न सक्छ भनेर ब्लुमबर्गले लेखेको छ।
तर ओपेक प्लसले जुनमा निर्णय गर्दा नै बजारको अवस्था हेरेर घोषणा गरेको उत्पादन वृद्धि नगर्न पनि सक्ने भनेको थियो।
त्यसैले अक्टोबरमा उत्पादन नबढाउन सक्छ।
उत्पादन नबढाए पनि अहिलेको बजारको अवस्था र चीन-अमेरिकाको अर्थतन्त्र विश्लेषण गर्दा विशेष घटना केही नभएमा सन् २०२४ को अन्त्यसम्ममा तेलको भाउ अझै घट्ने अनुमान गर्न सकिन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)