नेपाल क्लियरिङ हाउसले जेठ २१ गते एक औपचारिक कार्यक्रम आयोजना गरी नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम लिमिटेड (नेप्स)लाई प्राप्ति गरी एकीकृत कारोबार सुरूवातको घोषणा गरेको छ।
नेपालमा यसरी दुई भुक्तानी प्रणाली सञ्चालकहरूबीच गाभ्ने/गाभिने वा प्राप्ति भएको यो नै पहिलो हो।
उक्त एकीकृत कारोबार घोषणाको कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आथित्य रहेको थियो भने नेपाल राष्ट्र बैंकका उच्च पदस्तहरू, सरकारी निकायका पदस्तहरू, बैंक वित्तीय संस्थाहरू, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाहरू लगायतका प्रतिनिधिहरू तथा कर्मचारीहरूको उपस्थिती रहेको थियो।
गत वैशाख १३ गते दुवै संस्थाहरूले आ–आफ्नो विशेष साधारण सभाबाट स्वीकृति प्राप्त गरी आवश्यक सम्पूर्ण कानुनी र प्रक्रियागत कार्य सम्पन्न गरी नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत आवश्यक अन्तिम स्वीकृतिपछि उक्त प्राप्ति सम्बन्धीको कार्य सफलतापूर्वक सम्पन्न गरिएको हो।
भुक्तानी तथा फर्छ्यौट विनियममा रहेको प्रावधान अनुसार डिडिए अडिटरले मूल्यांकन लगायत विभिन्न पक्षको समीक्षा सहितको प्रकृया पूरा गरी १:०.२८ स्वाप अनुपातमा एनसिएचएलले नेप्सलाई प्राप्ति गरेको हो। दुवै संस्थाहरू बैंक वित्तीय संस्थाहरूबाट प्रवर्द्धित भएकाले प्राप्तिपछि पनि कम्पनीको सञ्चालक समितिमा कुनै फेर बदल भएको छैन।
दुवै संस्थाले नेपालमा डिजिटल भुक्तानीको विकास तथा विस्तार गर्ने उद्देश्य सहित आ–आफ्नो क्षेत्रमा कार्य गर्दै आएका हुन्।
नेप्सले विगत ११ वर्षदेखि कार्डमा आधारित सेवा प्रदान गर्दै आएको छ भने एनसीएचएलले विगत १५ वर्षदेखि कार्ड बाहेकका विभिन्न राष्ट्रिय स्तरका विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म सञ्चालन गर्दै आएको छ।
प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी नेशनल पेमेन्ट स्विच (एनपिएस एनसिएस र नेपाल पे स्किम) को कार्यान्वयन तथा अन्तरआबद्धतालाई थप टेवा पुग्ने विश्वास गरिएको छ।
प्राप्ति पछि कम्पनीको एकीकृत चुक्ता पुँजी १ अर्ब ७ करोड रूपैयाँ तथा कुल कोष १ अर्ब ४४ करोड रूपैयाँ कायम भएको छ।
यसले पूर्वाधार विस्तार गर्न, जोखिमहरू न्यूनीकरण गर्न तथा सुरक्षा नियन्त्रणका प्रणालीहरूलाई सुदृढ गर्न, नवीनतम अनुसन्धनका कार्यहरूमा लगानी गर्न तथा सेवाको गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।