वाइवाइ चाउचाउले जारी आइसीसी टी-२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न पुरस्कार घोषणा गरेको छ।
जारी विश्वकपको सुपर-८ मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई वाइवाइले नगद ३० लाख रूपैयाँ पुरस्कार दिने सिजी फुड्स नेपाल लिमिटेडले जनाएको छ।
यसका साथै वाइवाइउले जारी विश्वकपमा नेपालको जितको शृंखला अगाडि बढाउन खेलाडीहरूको मनोबल उच्च पार्ने उद्देश्यले अन्य विभिन्न पुरस्कार पनि घोषणा गरेको छ।
जसमा प्रत्येक रन बनाएवापत १ हजार रूपैयाँ, प्रत्येक चौकावापत ८ हजार रूपैयाँ, प्रत्येक छक्कावापत १२ हजार रूपैयाँ, प्रत्येक विकेटवापत १५ हजार रूपैयाँ, प्रत्येक अर्धशतकवापत ५० हजार रूपैयाँ, प्रत्येक शतकवापत १ लाख रूपैयाँ र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउनेछ।
नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा यी पुरस्कार घोषणा गरिएको हो। यसका लागि सिजी फुड्स र क्यानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
यो पुरस्कार घोषणाले नेपाली खेलाडीलाई उच्च प्रदर्शन गर्न थप प्रोत्साहन मिल्ने विश्वास कम्पनीको छ।
चौधरी ग्रुप अन्तर्गतको सिजी फुड्सले विगत २० वर्षदेखि नेपाली यू-१९ क्रिकेट प्रायोजन गर्दै आएको छ।
'हामी प्रत्येक नेपालीलाई नेपाली राष्ट्रिय टिमले टी-२० क्रिकेट विश्वकपको ट्रफी उचालेको हेर्न उत्कट चाहना छ। हाम्रा खेलाडी त्यसका लागि योग्य छन्। तैपनि उनीहरूको हौसला अझै माथि उठाउनु हाम्रो कर्तव्य हो,' चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, 'वाइवाइ विगत २० वर्षदेखि नेपाली क्रिकेटको विकासमा सहयात्रा गरिरहेको छ। र, नेपालले विश्वकप खेल्ने यस ऐतिहासिक क्षणमा वाइवाइ हाम्रा खेलाडीहरूकै साथमा छ भन्ने यो अर्को प्रमाण हो।'
नेपालले टी-२० विश्वकपको शृंखला अन्तरगत आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग मंगलबार खेल्दैछ। त्यस्तै टेस्ट मान्यताप्राप्त साउथ अफ्रिका, श्रीलंका र बंगलादेशसँग पनि नेपालले पहिलो चरणमा खेल्ने तालिका छ।