कृषि तथा पशुपंक्षीको उत्पादन गरेर निर्यात गर्ने व्यवसायीलाई सरकारले सहुलियत दिने भएको छ।
मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
यस्ता उत्पादन निर्यात सम्भावना भएका मुलुक लक्षित गरेर विशेष कार्यक्रम गर्ने योजना समेत सरकारको छ।
सरकारले निर्यातमुखी उत्पादन क्षेत्र घोषणा गरेर कृषि उपज, दुध तथा मासु, औद्योगिक उत्पादन निर्यातको लागि प्रवृधि र प्राविधिक सहित प्रदेश र स्थानीय तहलाई प्रोत्साहन गर्ने नीति लिएको छ।
सरकारले निर्यात हुन सक्ने बाली तथा उपजको भौगोलिक संकेत मापदण्ड तयार गर्ने भएको छ।
निर्यात सम्भावना वस्तु तथा सेवाको थप पहिचान गर्ने, उत्पादन वृद्धि बजारीकरण र मूल्य आपूर्ति श्रृखंलामा आबद्ध गराउने बताइएको छ।
त्यस्तै, निर्यात सम्भावना भएका मुलुकसँग दुई पक्षीय सम्झौता गरिने, अन्तर्राष्ट्रिय व्यापार सम्भावनाका आधारमा वस्तुगत र देशगत निर्यात रणनीति अपनाइने सरकारले बताएको छ।