पशुपती सेरामिक्स प्रा.लिले आफ्नो उत्पादन एटिएस टायल्सको परीक्षण बिक्री–वितरणको सुरुवात गरेको छ।
सिमरास्थित विशेष आर्थिक क्षेत्रभित्र अवस्थित उत्पादन केन्द्रको निर्माणलगायत अन्य सम्पूर्ण पूर्व तयारीको कार्य सम्पन्न गरी कम्पनीले आफ्ना उत्पादनहरूलाई बजारमा सर्वसाधारणको लागि बिक्रीमा ल्याएको हो।
नेपालमा पहिलो बहुराष्ट्रिय टायल्स कम्पनीको जोइन्ट भेन्चरको रूपमा स्थापित कम्पनीले दुई हप्ताको अवधिमा बजारबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताएको छ।
कम्पनीले सुरुवाती चरणमा भुइँको लागि ४००x४०० मिमिको पार्किङ टायल र ६००x६०० मिमिको सेमी–भिट्रिफाइड टायललाई बजारमा ल्याएको हो।
भविष्यमा कम्पनीले क्रमशः ३००x४५० को वाल टायल र ६००x१२०० को जिभिटी र पिजिभिटी टायल उत्पादन गर्ने जनाएको छ। कम्पनीले यि सबै प्रकार र आकारको टायल उत्पादनको लागि स्पेन, इटाली, चीन र भारतको मेसिनरीको प्रयोग गरी ६० हजार वर्ग मिटर क्षेत्रफलमा इटालियन प्रविधिमा आधारित कारखाना स्थापना गरेको छ।
'अन्तराष्ट्रियरूपमा स्थापित एटिएस ब्राण्डको टायललाई नेपालमै पहिलो बहुराष्ट्रिय जोइन्ट भेन्चरको रूपमा उत्पादन गरी बिक्री–वितरणमा ल्याउन पाउँदा हामी गौरवान्वित छाैं,' कम्पनीका कार्यकारी निर्देशक सरोज रौनीयारले भने, 'यस कदमले नेपाली उपभोक्तालाई आफ्नै देशमा उत्पादित अन्तर्राष्ट्रिय ब्राण्डको टायल सस्तो र सुपथ मूल्यमा हासिल गर्न सहज गराउँनेछ।'
साथै उनले कम्पनीको उत्पादन गुणस्तरीय, उत्कृष्ट डिजाइनका हुनुका साथै शतप्रतिशत वाटरप्रुफ भएको दाबी गरे।
करिब डेढ अर्ब लगानीमा स्थापित यस कम्पनीको दैनिक १५ हजार वर्ग मिटर उत्पादन क्षमता रहेको छ भने आफ्ना उत्पादनले नेपाली बजारको करिब ४० प्रतिशत हिस्सा ओगट्ने कम्पनीको आकलन रहेको छ।
टायल्स् फर यभ्री यज ट्यागलाइन सहित स्थापित यस कम्पनीले करिब २५० जनालाई रोजगारी दिएको बताएको छ।