नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले नेपाली कालिगढ पलायन र विस्थापित हुँदै गएकाले दोस्रो पुस्तामा सीप हस्तान्तरण हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ।
महासंघले बुधबार पत्रकार सम्मेलन गरी नेपाली मौलिक क्राफ्टम्यानसिप लोप हुँदै गएकाले सीप हस्तान्तरण हुन नसकेको बताएको हो।
रोजगारीको अवसरमा नेपाली युवाहरू जोखिमपूर्ण कामका लागि न्यून श्रम मूल्यमा पलायन हुँदा स्वदेशी आभूषण निर्माण क्षेत्रमा विदेशी कालिगढको बाहुल्यता रहेको महासंघको भनाइ छ।
आभूषण क्षेत्रले नेपाली राजस्वमा वर्षेनी १२ अर्बभन्दा बढीको योगदान गर्दै आएपनि यस क्षेत्रलाई प्रोत्साहित गर्न कुनै क्षेत्रबाट पहल नभएको महासंघका अध्यक्ष किसान सुनारले बताए।
राजस्वमा वर्षेनी अर्बौ योगदान गर्दै आए पनि यस क्षेत्रमा उचित मापदण्डको अभावले बहुमूल्य गहनाको उत्पादन, कारोबार, नियमन, आयात, आपूर्ति व्यवस्थित हुन नसकेकाे उनको भनाइ छ।
त्यस्तै, उनले स्वदेशी रत्न पत्थर उत्खनन, प्रशोधन र निर्यातमा सरकारले निजी क्षेत्रसँग समन्वय एवं सहकार्य गर्न आवश्यक रहेको औंल्याए।
महासंघका विशिष्ट सदस्य सुरेशमान श्रेष्ठले नेपाली समाजमा गरगहनाको महत्त्व श्रृंगारमा मात्र सीमित नभई सांस्कृति र पौराणिक समेत भएको बताए।
सरकारले सुनको आयात तथा बिक्री वितरण खुला गरिदिन पर्ने महासंघको भनाइ छ।