१७औं संस्करणको नेपाल–चीन (तिब्बत) आर्थिक तथा व्यापारिक मेला आज (सोमबार)बाट काठमाडौंको भृकुटीमण्डमा सुरू भएको छ।
आजदेखि वैशाख २१ गतेसम्म चल्ने मेलाको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष लाङ फुकुवान लगायतले उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले दुई देशको व्यापार प्रवर्द्धनमा यो मेला उपयोगी बन्ने बताए।
'व्यापार मेलाले पनि हामी दुई छिमेकी देशहरूबीच व्यापार वृद्धि गर्न सहयोगी हुनेछ र व्यापारी समुदायलाई नयाँ क्रेता, नयाँ बजार र नयाँ व्यापार गन्तव्य पहिल्याउन फाइदा हुनेछ,' मन्त्री भण्डारीले भने।
उनले नेपाल र चीन लामो कालखण्डदेखि नै नजिकका व्यावसायिक सह–यात्री रहेका कारण पनि दुवै देशले लाभ बढाउनु पर्ने बताए। भौगोलिक रूपमा कठिनताकाबीच चीनसँगको व्यापारमा नेपालले अवरोध खेप्नु नपरेको मन्त्री भण्डारीको दाबी छ।
मन्त्री भण्डारीले नेपाल चीन आर्थिक तथा व्यापारिक सम्बन्ध थप मजबुत बनाउन आवश्यक रहेको बताए। चीन सरकारबाट प्रवर्द्धित बेल्ट एण्ड रोड इनिसियटिभबाट नेपाल अधिकतम लाभ लिन चाहेको उनको भनाइ छ।
नेपाल चीन रेल वे सञ्जाल विस्तार हुँदै जादा दुई देशको आर्थिक तथा व्यापारिक सम्बन्ध थप मजबुत हुने उनको भनाइ छ।
'रेलवे सञ्जालबाट चीनको मुख्यभूमि चीन र तिब्बत जोडिएको छ। त्यहाँ बढिरहेको आर्थिक गतिविधि र प्रगतिबाट रेलवे नेटवर्क भविष्यमा हिमालयलाई पार गर्नेछ र नेपालको आर्थिक क्रियाकलापको जीवनरेखाका रूपमा रहने छ,' मन्त्री भण्डारीले भने।
चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष लाङ फुकुवान आर्थिक तथा व्यापार मेलाले दुई देशको सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताए। उनले चीन सधैं नेपालको विकास हेर्न चाहने बताए।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले दुई देशको व्यापार विस्तारमा यस्ता मेला उपयोगी हुने बताए।
यस व्यापार मेलामा तिब्बतका सरकारी प्रतिनिधिको रूपमा तिब्बत सरकारका उपाध्यक्ष महामहीम लाङ फुकुवानको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल सहित करिब १२० जना व्यापारी प्रतिनिधिहरूको सहभागिता रहेको छ। मेलामा तिब्बतको तर्फबाट ५० स्टलहरू छन्।
तिब्बतका स्टलहरूमा परम्परागत जडीबुटी, कृषिजन्य उत्पादन, आधुनिक कृषि औजार, चिया, विद्युतीय उपकरणहरू, घरायशी प्रयोगका साधनहरू, कार्पेट, पेयपदार्थ, परम्परागत हस्तकलाका सामानहरू, परम्परागत धूप, दुई पांग्रे, तीन पांग्रे र चार पांग्रे विद्युतीय सवारी साधान, सौन्दर्य प्रशोधनका अतिरिक्त विभिन्न व्यापारिक कम्पनीहरूले समेत भाग लिनेछन्।
यसैगरी नेपालको तर्फबाट १५ ओटा स्टल रहने छन्। नेपाली स्टलहरूमा जडीबुटी, सुगन्धित तेल, कफी, चिया, हस्तकला/काष्ठकला, धातुकला, कार्पेट, पश्मिना लगायतका विभिन्न कम्पनीका उत्पादनहरू प्रदर्शनमा रहेका छन्।
मेलाको अवसरमा दुई पक्षबीच बिटुबी, बिटुजी, र जिटुजी लगायतका व्यावसायिक मिटिङ हुने कार्यकारी निर्देशक राणाले बताए।