भृकटीमण्डपमा १७औं नेपाल चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला हुने भएको छ।
उक्त मेला आगामी वैशाख १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ।
नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतमा दुई वर्षमा आलोपालो हुने गरी आर्थिक तथा व्यापार मेला आयोजना गर्ने सम्झौता बमोजिम यस पटक नेपालमा गर्ने तयारी गरिएको छ।
नेपाल चीन (तिब्बत) बीच दुई पक्षीय आर्थिक र व्यापारिक सम्बन्ध अझ विस्तार गर्ने मेलाको प्रमुख उद्देश्य रहेको छ।
यस व्यापार मेलामा तिब्बतका सरकारी प्रतिनिधिको रूपमा तिब्बत सरकारका उपाध्यक्ष महामहीम लाङ फुकुवानको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल सहित करिब १२० जना व्यापारी प्रतिनिधिहरूको सहभागिता रहनेछन्।
मेलामा तिब्बतको तर्फबाट ५० स्टलहरू रहने छन्।
तिब्बतका स्टलहरूमा परम्परागत जडीबुटी, कृषिजन्य उत्पादन, आधुनिक कृषि औजार, चिया, विद्युतीय उपकरणहरू, घरायशी प्रयोगका साधनहरू, कार्पेट, पेयपदार्थ, परम्परागत हस्तकलाका सामानहरू, परम्परागत धूप, दुई पांग्रे, तीन पांग्रे र चार पांग्रे विद्युतीय सवारी साधान, सौन्दर्य प्रशोधनका अतिरिक्त विभिन्न व्यापारिक कम्पनीहरूले समेत भाग लिनेछन्।
यसैगरी नेपालको तर्फबाट १५ ओटा स्टल रहने छन्। नेपाली स्टलहरूमा जडीबुटी, सुगन्धित तेल, कफी, चिया, हस्तकला/काष्ठकला, धातुकला, कार्पेट, पश्मिना लगायतका विभिन्न कम्पनीका उत्पादनहरू प्रदर्शन गरिनेछन्।
मेलाको अवसरमा दुई पक्षबीच बिटुबी, बिटुजी, र जिटुजी लगायतका व्यावसायिक मिटिङको आयोजना हुनेछन्।
मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुला रहनेछ। मेलामा प्रवेश निःशुल्क गरिएको छ।