कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकामा निर्माण हुने प्रस्तावित एकीकृत जाँच चौकी निर्माण स्थलको पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अवलोकन गरेका छन्।
गत बिहीबार प्रस्तावित एकीकृत जाँच चौकी निर्माण स्थलको अवलोकन गरेका हुन्।
अवलोकन भ्रमणका क्रममा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले प्रस्तावित एकीकृत जाँच चौकी (सुख्खा बन्दरगाह) को नेपाल सरकारबाट वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र संरचनाको डिजाइन समेत स्वीकृत भइसकेको जानकारी गराए।
निर्माणका लागि जग्गा प्राप्तिका निमित्त स्थानीय निकाय, सामुदायिक वन उपभोक्ता समिति लगायत सबै क्षेत्रबाट सहमति भइसकेको उनको भनाइ छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को गत वर्ष जेठमा सम्पन्न भारत भ्रमणको क्रममा सो एकीकृत जाँच चौकी भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने गरी सहमति पत्रमा हस्ताक्षर भएको थियो।
उक्त एकीकृत जाँच चौकी कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका अन्तर्गत वडा नं. १ मा पर्ने गौरीशंकर मध्यवर्ती सामुदायिक वनको ४२.३६ हेक्टर जग्गामा निर्माण हुनेछ।
उद्योगमन्त्री दामोदर भण्डारीले एकीकृत जाँच चौकीको निर्माण सुदूरपश्चिमको वृहत्तर पक्षको विकासमा कोशेढुंगा सावित हुने बताए।
उनले जग्गा प्राप्ति तथा निर्माण कार्य शिघ्र थालनी गर्नेतर्फ अग्रसर रहन नेपाल इन्टरमोडल यातायात विकास समितिलाई निर्देशन समेत दिए।