नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौं चरणको “चेम्बर एक्सपो २०२४” काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ।
एक्सपोमा कृषि सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका वस्तुहरू प्रदर्शनीमा राखिएको छ।
घर–जग्गा, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारीसाधन, निर्माण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू समेत प्रदर्शनीमा रहेका छन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बर एक्सपो सुरू भएको हो।
एक्सपोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहेका छन्।
आगामी सोमबारसम्म चल्ने एक्स्पोमा नेपाल, भारत, दक्षिण कोरिया, बंगलादेश पाकिस्तानलगायतका व्यापारीले सहभागिता जनाएका छन्।
एक्स्पो उद्घाटन कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले अर्थतन्त्रको पछिल्लो अवस्थाप्रति सरकार संवेदनशील रहेको बताए। मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक परिस्थितीकाबीच अर्थतन्त्र चलायमान एवं व्यावसायिक गतिविधि विस्तार गर्न एक्स्पो आयोजना गरिएको बताए।
उनले भने, ‘मुलुकको अर्थतन्त्र सुस्त ढंगले अगाडि बढिरहेको छ, लगानीको वातावरण सिर्जना हुन सकेको छैन। एक्स्पो आर्थिक गतिविधि केही बढ्ने अपेक्षा गरेका छौँ।’
कृषि, हस्तकला लगायत स्थानीय स्तरमा उत्पादित वस्तुहरूको बजार प्रवर्द्धन एवं साना व्यवसायीहरूको आर्थिक गतिविधि विस्तार गर्नका लागि एक्स्पोको आयोजना गरिएको अध्यक्ष मल्लले बताए।
चेम्बर अध्यक्ष मल्लले एक्स्पोमा राखिएका अन्तर्राष्ट्रिय वस्तुको फिर्ती प्रक्रियालाई सहज बनाउनुपर्ने बताए।