नेपाली बजारमा इकमर्स प्लेटफर्म 'डिजिटल साहुजी' सञ्चालनमा आएको छ।
'मेक इन नेपाल' इनिसिएटिभलाई सहयोग गर्दै स्थानीय प्रतिभा र उद्योगहरूलाई सबलीकरणमा योगदान गर्ने प्रतिबद्धतासहित कम्पनीले बिहीबारदेखि व्यावसायिक सेवा सञ्चालन सुरू गरेको हो।
डिजिटल साहुजीले व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी, व्यावसायिक ज्ञान र सीप सिकेर आफैँ व्यवसाय गर्न इच्छुक विद्यार्थी तथा विभिन्न किसिमका ग्राहकलाई सेवा दिने लक्ष्य राखेको छ।
जसअनुसार कम्पनीले व्यवसाय गरिरहेकालाई उनीहरूको व्यवसाय डिजिटलाइजेसन गर्न र सहजै धेरै ग्राहकसम्म पुग्न मद्दत गर्ने, पसल तथा व्यवसायको चुस्त व्यवस्थापन गर्ने जनाएको छ। त्यस्तै विद्यार्थीहरूलाई सँगसँगै सिक्ने र कमाउने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले विद्यार्थी योजना ल्याएको छ। त्यसमा उनीहरूलाई प्राविधिक र व्यावसायिक तालिम प्रदान गरिनेछ।
योजनामार्फत् व्यावसायिक रूचि र सोच भएका विद्यार्थीलाई आफ्नो आधारभूत प्राविधिक र व्यावसायिक दक्षतायुक्त ज्ञान, सीप र तालिम प्रदान गर्नेछ।
जसले उनीहरूलाई एकै साथ सिक्ने र कमाउने बनाउनेछ। यसले व्यवसाय सुरू गर्ने सपना बुनेका विद्यार्थीलाई मार्गदर्शन र सहयोग गर्ने कम्पनीले बताएको छ।
डिजिटल साहुजीले ग्राहक, खुद्रा बिक्रेता, इम्पोर्टर, विद्यार्थी र युवाहरूको समस्याका लागि उपयुक्त समाधानहरूको वातावरण सिर्जना गर्ने र ग्राहकहरूलाई आफ्नै घर नजिकको डिजिटल साहुजीको डिलरबाट सामान भेरिफाई गरी खरिद गर्न पाउने सुविधा दिनेछ।
खुद्रा व्यापारीहरूले डिजिटल साहुजीसँग जोडिएर सानो लगानीबाट नै आफ्नो काम सुरू गर्न सक्नेछन्। डिजिटल साहुजीसँगको सहकार्यमा व्यवसायीहरूले व्यवसाय सुरू गर्दा आवश्यक पर्ने तालिम, मार्गदर्शनका साथै स्वच्छ प्रतिस्पर्धाको अवसर पाउनेछन्।
'डिजिटल साहुजी'को कर्पोरेट कार्यालय काठमाडौंको दरबारमार्गस्थित मायालु कम्प्लेक्समा रहेको छ। डिजिटल साहुजी नेपालमा विगत १७ वर्षयता क्वालिटी आइटी प्रडक्ट डेलिभरीका लागि लोकप्रिय रहेको स्काई टेक प्राइभेट लिमिटेडको भगिनी कम्पनीका रूपमा रहेको छ ।