शिवम् सिमेन्टले घर बनाउँदा अवलम्बन गर्नुपर्ने विधिहरूबारे जानकारी दिने अभियान चलाएको छ।
कम्पनीको सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत उपभोक्तालाई घर बनाउने जानकारीमूलक भिडिओ सन्देश दिन थालेको हो।
घर बनाउँदा जान्नु पर्ने विषयलाई समेटेर ज्ञानमूलक भिडिओ बनाइरहेको कम्पनीका सेल्स एण्ड मार्केटिङ उपाध्यक्ष निखिल अग्रवालले बताए। उनका अनुसार कम्पनीले उक्त कार्यक्रमको नाम 'शिवम् सन्देश' दिएको छ।
'हामी घर बनाउन तम्सेका हुन्छौं तर घर बनाउँदा के कुरामा ध्यान दिनुपर्छ, कसरी बनाउन पर्छ भन्ने कुरा धेरैलाई थाहा छैन,' उनले भने, 'त्यस्ता ग्राहकलाई मध्यनजर गरेर हामीले यो कार्यक्रम सुरू गरेका हौं।'
उनका अनुसार यस्तो सन्देशमूलक भिडिओ कम्पनीले प्रत्येक सोमबार प्रकाशन गर्छ। उक्त भिडिओ ग्राहकले कम्पनीको वेबसाइट, फेसबुक, इन्स्टा, युट्युबलगायत सामाजिक सञ्जालमा हेर्न पाउँछन्।
अग्रवालका अनुसार घर बनाउँदा इञ्जिनियरको सल्लाह किन लिनुपर्छ? घर कसरी बनाउने, सिमेन्ट कसरी प्रयोग गर्ने र निर्माण सामग्री कसरी प्रयोग गर्ने भन्ने विषयलाई समेटेर हालसम्म १२ वटा भिडिओ प्रकाशन भइसकेको छ। जग्गा किन्ने चरणदेखि घर सम्पन्न नभएसम्मको चरणलाई समेटेर ५२ वटा भिडिओ प्रकाशन गर्ने कम्पनीको योजना छ।
'हामीले घर बनाउने प्रक्रियागत निर्माण विधि (एसओपी) बताइदिन खोजेका हौं। ८ वटा सेगमेन्टमा ५२ वटा भिडिओ बनाउने योजना छ। यसले ग्राहकलाई घर बनाउन सहज हुन्छ भन्ने हाम्रो विश्वास हो,' उनले भने।
शिवम् सन्देशमा ग्राहकबाट राम्रो प्रतिक्रिया आइरहेको उनको भनाइ छ।
सुरूआती चरणदेखि शिवमले उपभोक्ताका लागि गुणस्तरमा जोड दिएको छ। सिमेन्टमा ग्रेडिङ प्रणाली लागू गर्ने शिवम् पहिलो कम्पनी भएको अग्रवालले दाबी गरे।
उनका अनुसार ग्राहकले सही ज्ञान पाउनु पर्छ भन्ने उद्देश्यले कम्पनीले सुरूमै सिमेन्टको बोरामा ग्रेड लेखेर पठाएको थियो। अहिले ग्राहकले शिवम् सिमेन्ट ४३ र ५३ ग्रेडमा पाउँछन्।
उनका अनुसार कम्पनीले सिएसआरअन्तर्गत अहिले पनि उपभोक्तालाई निःशुल्क प्राविधिक सहयोग दिइरहेको छ।
'हामी निःशुल्क सिमेन्टको गुणस्तर जाँच गरिदिन्छौं,' उनले भने, 'त्यसको लागि ग्राहकले जुन ब्राण्डको सिमेन्ट प्रयोग गरेको भए पनि हुन्छ। शिवम् नै गर्नुपर्छ भन्ने छैन।'
त्यसको लागि ग्राहकले शिवमको टोल फ्रि नम्बरमा फोन गर्नुपर्ने हुन्छ।
सुरक्षित घरका लागि यस पेशामा संलग्न सिकर्मी, डकर्मीको बीमा समेत कम्पनीले गराइदिएको थियो। त्यति मात्रै नभएर कम्पनीले निर्माणकर्मीहरूलाई सिमेन्टको सही उपयोग र भण्डारण विधिको पनि तालिम दिएको थियो।
'हामीले सिमेन्टसम्बन्धी त धेरै ज्ञान दियौं। तर समग्रमा उपभोक्तालाई राम्रो घर चाहिएको हो। त्यसो भए किन घर बनाउने सही ज्ञान नदिने भनेर हामीले यो सुरू गरेका हौं,' उनले भने।
गुणस्तरीय भएकाले शिवम् सिमेन्ट प्रयोग गर्न उनी ग्राहकलाई सुझाउँछन्। भन्छन्, ‘हामीले सरकारबाट एनएस क्वालिटी अवार्ड, २०१९ पाएको छौं। त्यसको अर्थ शिवम् गुणस्तरीय सिमेन्ट हो।’
शिवम् सिमेन्ट महँगो छ भन्ने गुनासो छ नि? भन्ने प्रश्नमा उनी गुणस्तरका कारण तुलनात्मक रूपमा प्रतिबोरा ३०/४० रूपैयाँ महँगो भएको स्वीकार्छन्।
'कुनै पनि उत्पादन सस्तो महँगो भन्ने हुँदैन। सही उत्पादन सही गुणस्तर र सही मूल्यांकन भन्ने हुन्छ,' उनले उदाहरण दिँदै भने, 'आइफोन महँगो छ भन्दैमा त्यसले धेरै फाइदा खायो भन्ने हुँदैन। ओप्पो सस्तो छ भन्दैमा नराम्रो छ भन्ने हुँदैन। गुणस्तर अनुसार मूल्य निर्धारण हुन्छ।'