प्रथम चावहिल 'जुत्ताचप्पल व्यापार मेला–२०८०' २१औं दिनसम्म आइपुग्दा ग्राहकको भिड बढ्दै गएको छ।
नेपाली जुत्ताचप्पल उद्यमी समूहको आयोजनामा गत माघ १८ गतेदेखि सुरू भएको जुत्ताचप्पल व्यापार मेलामा फागुन ८ गतेसम्म आइपुग्दा ३० हजारभन्दा बढी ग्राहकले अवलोकन गरेको नेपाल जुत्ताचप्पल उद्योग संघका वरिष्ठ उपाध्यक्ष एवम् जुत्ताचप्पल उद्यमी सुरज बन्जाडेले जानकारी दिए।
मेला आयोजक सविन कार्कीले उद्योगी र उपभोक्ताहरू बीच सिधैं जुत्ताचप्पल खरिद बिक्री भएको हुँदा उपभोक्ताले कम मूल्यमा गुणस्तरीय जुत्ता पाएको बताए।
'हामीले डिलर, डिष्ट्रिब्युटर र पसललाई दिने कमिसन सबै उपभोक्तालाई दिएका छाैं, आम उपभोक्ताले मौकाको फाइदा उठाउन सक्छन्,' उनले भने।
नेपाल जुत्ताचप्पल उत्पादक संघका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले नेपाली उत्पादनलाई उपभोक्तासम्म पुर्याउने उद्देश्यले चावहिलमा पहिलोपटक जुत्ताचप्पल मेला आयोजना गरिएको बताए।
मेलाको सुरूमाभन्दा अहिले उपभोक्ताको भिड बढ्दै गइरहेको मेला संयोजक दिवाकर गिरीले बताए। जुत्ताचप्पल मेलामा नेपालका १४ उद्योगका ३० भन्दा धेरै ब्राण्ड र तीन हजारभन्दा धेरै डिजाइन राखिएको छ।
उक्त मेलामा हाइलाइफ, शु ल्याण्ड, बेली, बोश शुज, आइडल, भेनस, शिल्स, हिमानी, वन वर्ल्ड, कोशेली, रन शुज, शिखर शुज, पिजी शुज र ब्याम्बो शुज राखिएका छन्।
फागुन १८ गतेसम्म चल्ने मेलामा तीन करोड बराबरको जुत्ताचप्पल बिक्री हुने लक्ष्य मेला आयोजकले राखेको छ। मेलामा १५ देखि ६० प्रतिशतसम्म छुट दिएको व्यवसायीहरू बताउँछन्।