त्यो समय एक माना दूधको मूल्य पाँच रूपैयाँ थियो। बजारमा एक बोतल पानीको १० रूपैयाँ पर्थ्यो। दूधभन्दा पानी महँगो देखेर दाङ, घोराहीका कृष्ण अधिकारी अचम्म पर्थे।
उनी भैंसीको दूध बजारमा लगेर बेच्थे, त्यसबाटै पढाइ खर्च जुटाउँथे। पानीको मूल्य आउने भए त उनको आम्दानी पनि धेरै हुन्थ्यो!
जन्द्रागाउँको साधारण किसान परिवारमा जन्मिएका कृष्णलाई गाईभैंसी पालेर दूध बेच्नभन्दा पानी बेच्न फाइदा रहेछ भन्ने लाग्यो।
विद्यालय शिक्षा गाउँमै पूरा गरेर २०३६ सालमा उनी घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भए। कानुनका विद्यार्थी उनले मालपोत कार्यालयमा लेखनदासको काम पनि सुरू गरे। खर्च जुटाउन अलि सहज भयो।
'त्यसपछि म पानी उद्योग खोल्नेबारे सोच्न थालेँ। ठूलो फाइदा हुने रहेछ भन्ने निष्कर्ष निकालेँ,' हाल ६० वर्षीय कृष्णले सुनाए, 'पानी उद्योगबारे बुझ्न भारतको दिल्ली पुगेँ।'
उद्योग खोल्नुअघि व्यावहारिक ज्ञान हासिल गर्न पानी उद्योगमै काम गर्ने पनि सोचे। काम गर्दै, कुरा बुझ्दै जाँदा पानी उद्योग सुरू गर्न एक करोड रूपैयाँ हाराहारी लाग्ने बुझे। त्यति धेरै लगानी गर्न सक्ने कुरै थिएन।
उनको सपना पानीमै गयो। तर दिल्लीले नयाँ सपना देखाइदियो।
दिल्लीमा हुँदा कृष्ण खुब चाउमिन खान्थे। पहिलोपटक त्यहीँ पुगेर चाखेका थिए। उनलाई औधी मनपर्यो। पानी उद्योगको योजना टुंगिएका बेला उनले चाउमिनमा सपना देखे।
उनलाई लाग्यो — यति स्वादिलो चाउमिन दाङमा पनि पुर्याउन पाए!
'त्यसपछि म चाउमिनबारे रिसर्च गर्न थालेँ,' उनले भने, 'उत्पादन र पकाउन सिक्न भनेर एक ठाउँमा काम गर्न थालेँ।'
त्यो कामवापत् उनले महिनाको पाँच सय भारतीय रूपैयाँ पाउँथे। केही वर्ष काम गरेपछि कृष्णको आत्मविश्वास बलियो भयो। उनले चाउमिन बनाउने मेसिन किन्ने निधो गरे। नौ हजार भारूमा एउटा मेसिन किने। अनि त्यो बोकेर दाङ आए।
यो २०४५ सालको कुरा हो।
उनले घोराहीको भरतपुरमा घर भाडा लिएर चाउमिन उत्पादन सुरू पनि गरिहाले।
त्यो बेला एक किलो मैदाको ६ रूपैयाँ पर्थ्यो। मैदामा अन्डा मिसाएर बनाएको चाउमिन किलोको २१ रूपैयाँमा बेच्न सुरू गरे। पैदल हिँड्दै घोराही बजार डुल्दा जम्मा १३ किलो बिक्यो।
'मान्छेहरू त्यति बेला त चाउमिन भन्न पनि जान्दैनथे। खान पनि जान्दैनथे। गँड्यौला खाजा भन्थे,' कृष्णले ती दिन सम्झिँदै सुनाए, 'म चाउमिन बोकेर होटलहरूमा जान्थेँ, किन्न कोही मान्दैनथे। चाउमिन भन्नासाथ मानिसहरू नाक खुम्च्याउँथे।'
आफूलाई खुब स्वाद लागेको चाउमिनबारे अरूको फिक्का प्रतिक्रिया देख्दा उनलाई दिक्क लाग्थ्यो।
तर कृष्णले हरेश खाएनन्, बरू अरूलाई चाउमिन खान सिकाएरै छाडे।
चाउमिनबारे होटलहरूलाई बुझाउँदै, पकाउन पनि सिकाउँदै प्रचार गरे। साइकल चलाउँदै उनी झन्डै ८० किलोमिटर टाढाको भालुवाङ र २४ किलोमिटर टाढाको तुलसीपुरसम्म पुग्थे। बिस्तारै उनको प्रयासमा रङ देखिन थाल्यो। व्यापार बढ्दै गयो। घोराही, तुलसीपुर, लमही र भालुवाङ डुल्दा दैनिक ५० किलो चाउमिन बिक्न थाल्यो।
उनले निरन्तर प्रचार गरिरहे। यसका लागि विद्यार्थीहरूको सहयोग लिए। उनी क्याम्पसका दस जना विद्यार्थीलाई दैनिक २५ रूपैयाँ दिन्थे। अनि होटलहरूमा चाउमिन खान पठाउँथे।
'म विद्यार्थीहरूलाई कहिले घोराही, कहिले तुलसीपुर, कहिले नारायणपुर त कहिले भालुवाङसम्मका होटलमा चाउमिन खान पठाउँथेँ,' कृष्णले भने, 'क्याम्पस पढ्ने चिटिक्क परेका युवायुवतीले होटलमा चाउमिन खोजेपछि मेरो व्यापार बढ्न थाल्यो।'
यसरी मार्केटिङमा उनले एक महिना खर्चिए।
बिस्तारै चाउमिनको बजार दाङबाहिर प्युठान, रोल्पा, सल्यान, रूकुमसम्म फैलियो। चाउमिन खानै भनेर टाढाबाट पनि मानिसहरू कृष्णको घरमै आउन थाले। हुँदाहुँदा काठमाडौं, पोखरा, नेपालगञ्ज र विराटनगरसम्म उनको चाउमिन पुग्यो।
बजारमा कृष्णको चाउमिनको राज चल्यो। होटल व्यवसायीहरू चाउमिन किन्न उद्योगमै आउन थाले। नियमित ग्राहक भए। कृष्णलाई काम भ्याइनभ्याइ भयो।
दाङबाहिरबाट चाउमिन मगाउनेले हप्ता दिन कुर्नुपर्ने भयो।
'त्यसपछि त दैनिक कम्तीमा साढे एक लाख रूपैयाँसम्मको बिक्री हुन थाल्यो,' उनले भने।
कृष्णका परिवारका सबै सदस्य चाउमिन उत्पादन र बिक्रीमा जुटे। एउटा मेसिनले भ्याएन। थप्दै पाँचवटा पुर्याए। त्यो एउटा मेसिन चलाउन तीन जना चाहिन्थ्यो।
बजारको माग धान्न नसकेपछि दस वर्षअघि कृष्णले चीनबाट बीस लाख रूपैयाँमा आधुनिक मेसिन ल्याए। यो मेसिन आएपछि कर्मचारीको खर्च घट्यो। बचत बढ्यो।
उद्योग चलाउन बुबा, भाइ र आफ्नी श्रीमती दक्ष भएपछि कृष्ण फेरि भारत गए, चाउमिन उद्योगमै काम गरे। घर आउजाउ हुन्थ्यो।
'त्यो बेला सात वर्ष काम गरेर फर्केँ,' उनले भने, 'काम गर्दा धेरै सिक्ने मौका मिल्यो।'
उद्योग चलेको सात वर्ष पूरा भएपछि, २०५२ सालमा उनले घरेलु उद्योग कार्यालयमा 'कृष्ण चाउमिन उद्योग' दर्ता गराएका थिए।
'चाउमिन उद्योग नै हाम्रो प्रमुख व्यवसाय हुन्छ भन्नेमा म र परिवार ढुक्क भयौं। तर उद्योग दर्ता गराउन निकै मुस्किल पर्यो। कर्मचारीले यो पुगेन र ऊ पुगेन भनेर धेरै पटक फर्काए तर मैले हार मानिनँ,' उनले भने, 'हाम्रो उद्योग नेपालको पहिलो दर्तावाला चाउमिन उद्योग भयो।'
यसपछि २०५४ सालमा बुटवलका प्रेम पाण्डे र २०५६ मा इटहरीका राजन भेटवालले चाउमिन उद्योग स्थापना गरेको उनले बताए। नेपाल चाउमिन व्यवसायी संघका केन्द्रीय अध्यक्ष समेत रहेका कृष्णका अनुसार हाल नेपालभर दुई हजार पाँच वटा चाउमिन उद्योग छन्।
अहिले भने कृष्ण चाउमिन उद्योग अरू कम्पनीसँग गाभिइसकेको छ। दाङ, रोल्पा र रूपन्देहीसम्मका चाउमिन उद्योगीहरू मिलेर हालै 'दंगाली फूड प्रोडक्सन' स्थापना गरेका छन्। यो उद्योग घोराही उपमहानगर–१६, सर्रामा छ।
कृष्णले 'नेपालको पहिलो' भनेर दाबी गरेको कृष्ण चाउमिन उद्योगसहित मर्जर भएर दंगाली फूड प्रोडक्सन स्थापना भएको कम्पनीको विधानमा उल्लेख गरिएको छ। कृष्ण यो नयाँ उद्योगका संस्थापक र आजीवन संरक्षक छन्।
भारू नौ हजारमा मेसिन किनेर सुरू गरेका कृष्ण एक्लैको उद्योग एक करोड रूपैयाँभन्दा बढीको थियो। मर्जरबाट स्थापित उद्योग पाँच करोड रूपैयाँभन्दा बढीको भएको छ।
हाल उनीहरूसँग ढुवानीका लागि १० वटा गाडी र ६ वटा मोटरसाइकल छन्। ६० जना कर्मचारी काम गर्छन्।
'समयअनुसार गुणस्तरीय उत्पादन दिन चाउमिन व्यवसायी एक ठाउँमा आएका हौं,' कृष्णले भने, 'पिठो मुछ्न मिनरल वाटर प्रयोग गर्न थालेका छौं। चाउमिन अटोमेटिक मेसिनले बनाउँछ।'
दंगाली फूड प्रोडक्सनले दैनिक ६ हजार किलो चाउमिन उत्पादन गर्छ। प्रतिघन्टा साढे चार सय केजी उत्पादन गर्ने क्षमता छ। यो चाउमिन बजारमा किलोको सय रूपैयाँमा बिक्छ।
उत्पादन बढाउँदै सबै ठूला बजारमा चाउमिन पठाउने लक्ष्य उनीहरूको छ।
कृष्णले परिवारको खर्च चाउमिन व्यवसायबाटै धाने, सन्तानलाई पढाए, बिहेबारी गरिदिए। हालसम्म कम्तीमा २० करोड रूपैयाँको सम्पत्ति जोडिसकेका छन्। घोराही बजारमा दुई वटा घर छन्, जमिन छ।
चाउमिनसँग उनको नाता पैसाको मात्र भने होइन, संवेदना पनि गाँसिएको छ।
आफ्नो उद्योगको पहिलो मेसिन देखाउँदै भने, 'यो मेसिन इतिहास हो, योसँग धेरै यादहरू जोडिएका छन्। मेरो सम्पत्तिबाट धेरै चिज बेच्न सक्छु तर यो कहिल्यै बेच्दिनँ।'
कृष्ण आज पनि बजारीकरण र व्यवस्थापनमा सक्रिय छन्। घोराही आसपासका नियमित ग्राहककहाँ चाउमिन पुर्याउन आफैँ जान्छन्। टाढासम्म गाडीले पुर्याउँछ।
'हामी अहिले पनि बिहानभर चाउमिन बेच्छौं,' कृष्णले भने, 'व्यवसाय सानो–ठूलो हुँदैन। पढाइको सर्टिफिकेटभन्दा बढी व्यावसायिक सीप र दक्षता चाहिन्छ।'