हाम्रा मास्टर-सेफ
उमेर ६५ वर्ष भयो त के भयो! हातमा सिप र तनमनमा जाँगर भएपछि कामका लागि उमेर बाधक हुँदैन।
६५ वर्ष उमेरका सेफ केशवराम श्रेष्ठको निष्कर्ष यस्तै छ। त्यसैले त उनी बिहान ९ बजे काठमाडौंको लाजिम्पाटस्थित शंकर होटल पुग्छन् र बेलुका अबेर फर्किन्छन्।
केशव चारतारे होटल शंकरका एक्जुकेटिभ सेफ हुन्। आठ वर्षदेखि उनी यो होटलको भान्सा सम्हाल्दै छन्।
'यहाँ तीन वटा भान्सा छन्। ती सबै म हेर्छु,' उनले भने।
दरबार शैलीको संरचना रहेको शंकर होटलमा स्वदेशी र विदेशी पाहुनाहरूको आकर्षण छ। बिहेको लगनको महिनामा त भान्साको काम भ्यायनभ्याइ हुन्छ।
'बिहानदेखि रातिसम्म यहीँ खट्नुपर्छ,' केशवले भने, 'जति रात परे पनि सुत्न चाहिँ घरै पुग्छु।'
केशवलाई सघाउन भान्सामा २० जनाभन्दा बढी कर्मचारी छन्। ती सबैको कामको व्यवस्थापन गर्ने जिम्मा पनि उनकै हो।
केशवले होटल क्षेत्रमा काम गरेको ४० वर्ष भयो। उनीसँग विदेशी होटलहरूमा पनि काम गरेको अनुभव छ। उनको स्थायी घर ललितपुरको लुभू हो। हालको बसाइ सातदोबाटोमा छ। लुभूमा भाइका परिवार बस्छन्।
केशवका बुबा कपडा सिलाइको काम गर्थे। आमा घरको काममा व्यस्त हुन्थिन्। खेतीपाती पनि थियो। त्यो समय बुबाको आम्दानी राम्रो थियो। छोराछोरीको बाल्यकाल सुखद रह्यो। केशवले गाउँकै महालक्ष्मी माध्यमिक विद्यालयमा पढे, २०३४ सालमा एसएलसी उत्तीर्ण गरे। पाटन क्याम्पसमा मानविकी संकायमा भर्ना भए।
सोही वर्ष अचानक बुबाको निधन भयो। आमाबुबाका जेठा छोरा केशवलाई घर सम्हाल्ने जिम्मेवारी थपियो। उनले बुबाकै पेसामा सम्हाल्ने विचारले काम थाले तर जाँगर आएन। किन हो कुन्नि सिलाइमा रस बसेन। यही समय केशवले जागिरको अवसर पाए। त्यति बेलाको 'गाउँ फर्क राष्ट्रिय अभियान' मा खरिदार तहमा सरकारी जागिर सुरू गरे।
सरकारी जागिरमा लाग्न अहिले जस्तो लोकसेवा परीक्षाको व्यवस्था थिएन। पढेलेखेका मानिस थोरै थिए, सरकारी जागिर सहज थियो। केशव बिहान क्याम्पस जान्थे, दिउँसो जागिरमा।
'त्यतिखेर मासिक २५५ रूपैयाँ आउँथ्यो,' उनले भने, 'आवश्यक सबै खर्च गर्दा पनि पैसा बाँकी रहन्थ्यो।'
तलबमा सन्तुष्टि नै थियो, काम पनि सहज थियो। तैपनि सरकारी जागिरमा उनको मन अडिएन। उनी होटलमा काम गर्न चाहन्थे। घरमा खाना पकाउने काममा अघि सर्थे।
केशव आफ्नो रूचि अनुसारै अघि बढे। पढाइ र जागिरका बीचमै होटलको एउटा तालिम सुरू गरे। त्यो समय अहिले जसरी होटल व्यवस्थापनको पढाइ हुँदैन थियो। तालिम नै होटल क्षेत्रमा प्रवेश गर्ने सहारा थियो। केशवले जागिर छाडे। तालिम एक वर्ष चल्यो। इन्टर्नसिप होटल सोल्टीमा गर्ने मौका पाए।
सोचेजस्तै भयो। तीन महिनाको इन्टर्नसीप पूरा गरेपछि त्यहीँ काम पाए।
उनले भने, 'त्यहाँ (सोल्टीमा) जर्मन सेफ थिए। उनले यहीँ काम गर भने। सोचेजस्तै भयो।'
होटलले तलब मासिक ३३० रूपैयाँ दियो। यो रकम सरकारी जागिरको भन्दा बढी थियो। सुरूको काम सरसफाइ गर्ने, तरकारी काट्ने र पकाउन सघाउने थियो। होटलमा काम गर्न थालेपछि पढाइ छुट्यो। जसोतसो आइएसम्मको पढाइ पूरा गरे। पढाइ छुटेकोमा उनी अलिक दुखी पनि भए।
उनले भने, 'अहिलेको जस्तो सिधा काम भएको भए पढ्न सक्थेँ। त्यतिखेर दुई पटक ड्युटी गर्नुपर्थ्यो। बिहान ९ देखि दिउँसो २ बजेसम्म र बेलुका ६ देखि राति १० बजेसम्म।'
केशवले होटल सोल्टीमा साढे चार वर्ष काम गरे। 'कमी तीन' तहमा प्रवेश गरेका उनी चार वर्षमा 'कमी २' भए।
एकदिन दिउँसो खाली समयमा घुम्ने सिलसिलामा एक जना भारतीयले केही नेपाली कामदार साउदी अरब लैजान लागेको थाहा पाए। उनले आवदेन दिए। अन्तर्वार्तामा छनौट भए। पाँच हजार रूपैयाँ तिरेर साउदी अरब गए। त्यहाँ उनले अस्पतालमा काम गरे। तलब मासिक १२ सय दिराम थियो। अस्पतालमा भए पनि उनको काम खानासम्बन्धी नै थियो।
'पाँचतारे होटलमा जत्तिकै काम हुन्थ्यो। त्यहाँ विशेष गरी डाइट सम्बन्धी काम सिक्न पाएँ,' उनले भने, 'त्यहाँ फिलिपिन्सका सेफ थिए। कस्तो बिरामीलाई के खुवाउने भन्ने कुरा सिक्न पाएँ।'
साउदी अरबमा तीन वर्ष काम गरेर केशव घर फर्के। बिहे पनि भयो। मौका कस्तो पर्यो भने उनले फेरि होटल सोल्टीमै काम पाए।
उनले भने, 'म आएको थाहा पाएपछि सोल्टीले बोलाएर काम दियो।'
करिब डेढ वर्ष काम गरेपछि एउटा सरकारी अस्पतालमा डाइट-सेफ भएर कुवेत जाने अवसर पाए। कुवेतमा उनको मुख्य काम बिरामीका लागि खाना बनाउने थियो। कुबेत गएको आठ महिना भएको थियो। त्यहाँ आन्दोलन सुरू भयो।
'त्यो मेरो जिन्दगीकै सबैभन्दा नरमाइलो समय थियो। सद्दाम हुसेनले कुवेत कब्जा गरेपछि हामी भागेर इराक गयौं। त्यहाँ आठ दिन बसेपछि नेपाल फर्किन पायौं,' उनले सुनाए।
नेपाल फर्किएर उनले जाउलाखेलको बकेना बाटिका रेस्टुरेन्टमा काम थाले। उनका अनुसार त्यहाँ स्वीस पर्यटकहरू आउँथे।
कुवेतको घटना सम्झिँदा त केशवलाई अब कहिल्यै विदेश जादिनँ जस्तो लागेको थियो। तर त्यो लाग्नुमै सीमित भयो। करिब साढे चार वर्षपछि आवुधावीको पाँचतारे होटल हिल्टनमा काम गर्न पुगे उनी।
'कुवेतको घटनाले त पासपोर्ट नै फ्याँकिदिऊँ जस्तो लागेको थियो। तर विदेशको रमाइलो र पैसाले नराम्रो घटना बिर्साउँदो रहेछ,' केशवले भने।
उनका अनुसार हिल्टनमा काम गर्दैताका आवुधावीमा पाँचतारे होटलहरूको प्रतिस्पर्धा भएको थियो। दुबईको ट्रेड सेन्टरमा आयोजित प्रतिस्पर्धामा सहभागी हुन हिल्टनबाट केशव गए। त्यहाँ उनले स्वर्ण पदक जिते।
'त्यो क्षण कहिल्यै बिर्सिन्नँ। धेरै पछिसम्म पनि त्यो खुसियालीको पार्टी खायौं,' उनी भन्छन्।
त्यहाँ तीन वर्ष काम गरेपछि उनी फेरि नेपाल फर्के। त्यो समय उनकी श्रीमती पनि कामकाजी थिइन्। साथमा साना छोराछोरी थिए।
'केटाकेटीलाई आमाबुबाको माया चाहिन्छ। उनीहरूलाई एक्लो महसुस नहोस् भनेर म फर्केँ। त्यसपछि विदेशमा लामो समय बसिनँ।'
उनले फेरि बकेना बाटिकामै काम सुरू गरे। त्यहाँ डेढ वर्ष काम गरेपछि अस्ट्रेलियाबाट प्रस्ताव आयो। उनका अनुसार आवुधावीमा सँगै काम गरेका एक जना सेफ अस्ट्रेलिया गएका थिए। उनैले बोलाए। यसलाई अवसर ठानेर केशव अस्ट्रेलियाको होटल हायात पुगे। त्यहाँ राम्रो सुविधा थियो। एक वर्ष नभई घर आउन पाउँथे।
केशवका लागि अस्ट्रेलिया बसाइ निकै अविस्मरणीय रह्यो। त्यहाँका सांसदहरूमाझ नेपाली खाना चिनाउने अवसर पाए।
उनले भने, 'संसदमा १२० किसिमका नेपाली खाना म एक्लैले प्रचार गरेको थिएँ। त्यहाँका प्रधानमन्त्री मसँग हात मिलाउन आए।'
त्यहाँ करिब तीन वर्ष काम गरेर स्वदेश फर्के। अस्ट्रेलियाबाट फर्किँदाको क्षण भने नरमाइलो थियो। उनकी आमा बितेकी थिइन्। फेरि नफर्किने गरी राजीनामा नै गरेर आउन खोजेका थिए। तर होटलका व्यवस्थापकले त्यसो गर्न दिएनन्।
'आमा बितेको खबर आएपछि राजीनामा दिएर आउन लागेको थिएँ,' उनले भने, 'होटलका निर्देशकले यहाँ (नेपाल) को हायात होटलमा सरूवा गरिदिए।'
हायात होटलमा १२ वर्ष काम गरेपछि केशवलाई गौशालास्थित इन्द्रेणी होटलबाट एक्जुकेटिभ सेफको प्रस्ताव आयो। त्यहाँ करिब तीन वर्ष काम गरेपछि उनी शंकर होटल पुगेका हुन्। शंकरमा काम गरेको आठ वर्ष भयो।
उनले हाँस्दै भने, 'तीन-चार वर्ष गरूँला भनेर आएको थिएँ, आठ वर्ष बितेको पत्तै भएन।'
केशवका दुई छोरा छन्। उनीहरू अब काम नगर्नुहोस् भन्छन्। तर केशवलाई गरिआएको काम चटक्कै छोडेर बस्ने बेला भएको छैन भन्ने लागेको छ।
भन्छन्, 'उमेर ६५ वर्ष भएर के भयो त! सकुन्जेल काम गर्छु। नसकेका दिन त छोड्नै पर्छ।'
नयाँ पुस्तालाई मेहनत र निष्ठाका साथ काम गर्न केशव सुझाउँछन्। होटलको भान्सामा काम गर्ने मान्छेको भविष्य सधैं सुरक्षित रहन्छ भन्ने उनको विश्वास छ।
'किचनमा काम सिकेको मान्छे बेरोजगार भएर बस्न पर्दैन, यसमा भविष्य छ,' उनी भन्छन्।
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी
'हाम्रा मास्टर-सेफ' शृंखलाको यी स्टोरी पनि पढ्नुहोस्ः
पाँचतारे होटलको ३ भान्सा सम्हाल्ने कृष्ण भन्छन्- हातमा सीप हुन्जेल काम पाइन्छ
जसले सम्हालिरहेका छन् पाँचतारे होटल 'अलफ्ट' को भान्सा
भाँडा माझेर काम थालेका थिए, अहिले सम्हाल्छन् पाँचतारे होटलको भान्सा
जसले सम्हाल्छन् देशभरिका 'सोल्टी' को भान्सा
कलेज पढ्दै 'एम्बासडर' का ३ रेस्टुरेन्ट सम्हालिरहेका दिलीप