मानिस चराझैँ मान्छे आफै उड्न त सक्दैन तर इन्जिनविनाको प्याराग्लाइडर मान्छेका लागि पखेटासरह बन्यो। चराको अनुभूति लिने मान्छेको चाहना पूरा भयो। खुला आकाशमा खुला उडान, खुट्टाको भरमा उडान र अवतरण, संक्षेपमा यही हो प्याराग्लाइडिङ।
नेपाली आकाशमा प्याराग्लाइडरको साहाराले पहिलो पटक विदेशीहरू उडेका थिए।
प्याराग्लाइडिङ गर्न विदेशीहरूले उतैबाट प्याराग्लाइडर बोकेर आए अनि पहाडमा चरा उडेजस्तै गरी डाँडाहरूबाट उडान भरे।
नेपालका पहिला प्याराग्लाइडिङ पाइलट राजेश बमजनका अनुसार पोखराको आकाशमा सन् १९९० देखि विदेशीले प्याराग्लाइडिङ गरेका हुन्। अन्नपूर्ण फेरोमा पदयात्रा गर्न आउने केही विदेशीहरू हिमाली क्षेत्रबाट पनि उडान भरेर फाँटमा झर्थे।
तिनै विदेशीले सरांकोटबाट उडेर हिमालको दृश्य हेर्दे फेवाताल किनारमा झर्ने नेपालकै उत्कृष्ट गन्तव्य पत्ता लगाए ।
राजेशका बुबा वीरु पर्यटन व्यवसायी थिए। लेकसाइडमा उनको ‘सनराइज ट्रेकिङ एजेन्सी’ थियो। उनी पर्यटक घुमाउन पदयात्रामा जान्थे।
सन् १९९४ बेलायती प्यारापाइलट एडम हिल नेपाल आएका थिए। उनी सराङकोटबाट प्याराग्लाइडिङमा उडे। अन्नपूर्ण क्षेत्रमा पदयात्रा गरे। यही वेला वीरु र एडमको भेट भयो। विरुले पोखरामा प्याराग्लाइडिङ कम्पनी चलाउन सुझाब दिए।
साँच्चै, वीरुले सन् १९९४ मा ‘सनराइज प्याराग्लाइडिङ कम्पनी’ खोले। यही हो नेपालको पहिलो प्याराग्लाइडिङ कम्पनी। त्यसको निर्देशक बने एडम।
एडमकी श्रीमती जेनिफर हिल त्यतिबेला गुरुङ भाषा, संस्कृति र समुदायबारे विद्यावारिधि शोधका लागि नेपाल आएकी थिइन्। उनी कास्कीको ताङतिङ गाउँमा बस्थिन्।
वीरुका छोरा राजेश एसएलसी परीक्षा दिएर फुर्सदमा थिए। उनलाई पनि प्याराग्लाइडिङ गर्दै आकाशमा उड्न मन लाग्यो। एडमले नै पहिलो पटक राजेशलाई प्याराग्लाइडिङमा उडाए।
अब राजेशलाई प्याराग्लाइडिङ सिक्न मन लाग्यो। एडमले १७ वर्ष उमेरका राजेशलाई प्याराग्लाइडिङ तालिम दिए। केही दिनमै राजेश सोलो अर्थात एकल उडान गर्न सक्ने भए।
सरांकोटमाथि एक्लै उड्दाउड्दै राजेशलाई व्यावसायिक रूपमा प्याराग्लाइडिङमा लाग्ने विचार आयो। उनले सन् २००० मा ‘टेन्डम’ अर्थात अर्का एक जना यात्री सहितको उडान थाले।
भिडिओ:
यसरी उडान सुरु गर्दा राजेशले पोखरामा प्याराग्लाइडिङ आजको जस्तो प्रख्यात होला भन्ने कल्पना पनि गरेका थिएनन्।
‘प्याराग्लाइडिङले यति ठुलो व्यापार गर्छ भनेर सोचेका पनि थिएनौँ,’ राजेशले भन्छन्, ‘आज यतिका धेरै कम्पनी, रोजगारी र व्यवसाय चलेको देख्दा खुसी लाग्छ।’
‘नेपाल हवाई खेलकुद संस्था’ का महासचिव खेमराज आचार्यका अनुसार पोखरामा अहिले ६२ वटा प्याराग्लाइडिङ कम्पनी चलेका छन्। यी कम्पनीमा पाँच सय पाइलट कार्यरत छन्। पोखराको प्याराग्लाइडिङमा एक अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ।
‘पोखराको पर्यटनमा प्याराग्लाइडिङले सौन्दर्य थपेको छ,’ उनी भन्छन् ‘प्याराग्लाइडिङकै कारण धेरै मजदुरले रोजगारी पाएका छन्। गाडीले यात्रु पाएका छन्। होटल, रेस्टुरेन्ट सबैलाई फाइदा पुगेको छ।’
पोखरामा सबैभन्दा धेरै प्याराग्लाइडिङ उडान सरांकोटबाटै हुन्छ। केही पाइलट तोरीपानी र ढिकीडाँडा पनि पुग्छन्। सराङकोटबाट उडेको टेन्डम फ्लाइट हावामा तीन सय मिटरमाथि पुग्छ। यात्रुले अकाशमा घुमेर हिमालबाट पहाड हुँदै फेवाताल अवलोकन गर्छन्।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि पोखरेली पर्यटनको आकर्षक ‘प्रडक्ट’ प्याराग्लाइडिङ बन्द गर्नु पर्ने उड्यन क्षेत्रका विज्ञहरूको भनाइ छ। साँच्चै बन्द भयो भने पोखराका पर्यटन व्यवसायीलाई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको खुसीसँगै प्याराग्लाइडिङ बन्दको दुःखद नियति आइलाग्ने छ।
पहिले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्छ भनेर तिनै व्यवसायीले धर्ना दिएका थिए। लामो समय आन्दोलन चलाए। विमानस्थल सञ्चालन हुन लाग्दा प्याराग्लाइडिङ व्यवसायमा असर पर्ने देखियो।
अन्तर्राष्ट्रिय विमानस्थल चलाउन प्याराग्लाइडिङ बन्द गर्नुपर्ने नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूको भनाइले व्यवसायीहरू मर्माहत भएका छन्।
पर्यटन व्यवसायी पनि प्याराग्लाइडिङ चलाउन विमानस्थल बन्द गर्ने पक्षमा छैनन्। विमानस्थलसँगै प्याराग्लाइडिङ पनि जोगाउनु पर्ने उनीहरूको आवाज छ। अन्तर्राष्ट्रिय विमानस्थल चल्न थालेपछि पोखरामा पर्यटकको संख्या बढ्ने र व्यवसाय सप्रिने पर्यटन व्यवसायीहरूको अपेक्षा छ। प्याराग्लाइडिङ गुमाउनु पर्ला भन्ने चिन्ता पनि छ। उनीहरूका अनुसार संकटको समयमा पोखराको पर्यटनमा प्याराग्लाइडिङले प्राण भर्ने गरेको छ।
कोभिड–१९ संक्रमणको पहिलो लकडाउन अन्त्य भएपछि प्याराग्लाइडिङले नै पोखराको पर्यटन जगाएको थियो। त्यसअघिका विनाशकारी भूकम्प, नाकाबन्दी लगायतका अप्ठ्यारामा पनि पोखराको पर्यटन प्याराग्लाइडिङले नै धान्यो।
संकटमा प्राण भर्ने यही प्याराग्लाइडिङ पोखराबाट विस्थापित हुने अवस्थामा पुगेको छ। इन्जिनविना स्वतन्त्ररूपले उड्ने प्याराग्लाइडिङलाई इन्जिनयुक्त ठूला विमानले विस्थापित गर्ने सम्भावना बलियो छ।
आगामी छ महिनाभित्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सञ्चालनमा हुँदा विमानले ओगट्ने पोखराको आकाश अर्थात एयर स्पेस सम्बन्धी प्रतिवेदनको पर्खामा छ।
‘विमानस्थलले लिने एयर स्पेसका बारेमा चिनियाँ कम्पनीको रिपोर्ट कुरिराखेछौँ। अहिले नै केही भनिहाल्ने अवस्था छैन,’ प्राधिकरणको एयर ट्राफिक म्यानेजमेन्ट डिपार्टमेन्टका प्रबन्धक मुकेश दाहालले भने।
पोखराको प्याराग्लाइडिङ बन्द गर्नुपर्ने वा नपर्ने कुरा त्यही रिपोर्टका आधारमा निक्र्योल हुने दाहालले बताए।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विनेश मुनकर्मीका अनुसार विज्ञ टोलीको अध्ययनले विमानस्थल सञ्चालन गर्दा प्याराग्लाइडिङ बन्द गर्नुपर्ने सुझाब दिएको छ।
‘जहाजको सुरक्षामा कुनै सम्झौता हुँदैन,’ उनले भने, ‘सरांकोटको डाँडा विमानस्थलको एयर स्पेसमा पर्छ, उड्डयन सुरक्षाका लागि प्याराग्लाइडिङ बन्द गर्नुपर्ने विज्ञहरूको सुझाव छ।’
अहिले चलिरहेको आन्तरिक विमानस्थलको रन वे उत्तर–दक्षिण छ। सराङकोट डाँडासँग यसको साइनो छैन।
अन्तर्राष्ट्रिय विमानस्थलको रन वे पूर्व–पश्चिम फर्किएको छ। मुनकर्मी भन्छन्, ‘जहाज ल्यान्डिङमा मिस एप्रोच भयो भने सिधै हाइट लिएर सराङकोट डाँडातर्फ पठाउनुपर्छ, जहाज तत्काल अन्यत्र फर्काउन मिल्दैन।’
विमानस्थलको रनवेमा चरा वा अन्य अन्य वस्तु देखिए पनि आकस्मिक रूपमा जहाज सरांकोटतर्फ नै पठाउनु पर्ने उनको भनाइ छ। प्याराग्लाइडिङ चलाउन विमानस्थल बन्द गर्न पनि नसकिने उनको भनाइ छ।
‘उडान सुरक्षा पहिलो कुरा हो, सुरक्षामा कुनै हालतमा आँच आउन दिनुहुँदैन,’ उनले भने, ‘प्याराग्लाइडिङ चलाउन विमानस्थल बन्द गर्न पनि त भएन।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि प्याराग्लाइडिङको अवस्थाबारे बुझ्न गठन गरेको समितिले भने निश्चित मापदण्डका आधारमा प्याराग्लाइडिङ उडाउन सकिने निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ।
समितिका सदस्यसमेत रहेका नेपाल हवाई खेलकुद संस्थाका पूर्वअध्यक्ष योगेश भट्टराईले प्याराग्लाइडिङ जोगाउन सकिने बताए।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले एयर स्पेसमा कुनै पनि एयर स्पोर्टस् हुन नहुने मापदण्ड तोकेको छ। यसै आधारमा सरकारले प्याराग्लाइडिङ बन्द गर्न सक्ने भट्टराईले बताए।
उनका अनुसार सरकारलाई बुझाएको प्रतिवेदनमा प्याराग्लाइडिङ जोगाउन सकिने सुझाब दिइएको छ। प्याराग्लाइडिङलाई पनि ट्र्याकरमार्फत विमानस्थलको एटिसी टावर वा अन्य नियमनकारीले निगरानीमा राख्न सकिन्छ। यसो गर्दा विमान आउने–जाने समयमा प्याराग्लाइडिङ उडानमा रोक लगाउन वा तुरुन्त ल्यान्ड गराउन सकिन्छ।
नेपाल नागरिक उड्डयन संस्थाले प्याराग्लाइडिङका लागि दिनमा केही समय प्याराग्लाइडिङका लागि छुट्याउनु पर्ने व्यवसायीको माग छ।
हरेक दिन बिहान १० बजेदेखि तीन घण्टा समय दिनुपर्ने भट्टराईको भनाइ छ। न्युजिल्यान्ड, स्वीट्जरल्यान्ड लगायत देशमा पनि अन्तर्राष्ट्रिय विमानस्थल नजिकै प्याराग्लाइडिङ उडान हुने गरेको उनले बताए।
प्रतिवेदनमा यसरी सञ्चालन अनुमति दिएर व्यवसाय जोगिने र राज्यले कर पनि पाउने कुरा उल्लेख गरिएको छ। प्याराग्लाइडिङका लागि हालसम्म उत्कृष्ट गन्तव्यका रूपमा परिचित सरांकोटमा घाम लागेपछि प्याराग्लाइडिङका लागि उपयुक्त वातावरण हुने उनको भनाइ छ।
‘सराङकोटबाट तल ताल र माथि हिमाल हेर्नलाई मात्र होइन वातावरण पनि ठिक्क छ,’ उनले भने, ‘घाम लागेपछि हावा ठिक्क गतिमा चल्छ, प्याराग्लाइडिङलाई ठिक्क हुन्छ।’
पोखराबाट प्याराग्लाइडिङ विस्थापित पोखरामा पर्यटक संख्या घट्ने व्यवसायीहरूको चिन्ता छ। पहिलो प्यारापाइलट राजेश बमजनको चिन्ता छ, ‘प्याराग्लाइडिङमा उड्न मात्र पर्यटक टाढा जान सक्दैन,’ उनले भने, ‘पोखराको जस्तो वातावरण अन्त छैन।’
नागरिक उड्डयन प्राधिकरणलाई दबाबमा राख्न व्यवसायी आन्दोलनमा उत्रने मनस्थितिमा छन्। पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले प्याराग्लाइडिङ जोगाउन सबै पोखरेली एकजुट हुनुपर्ने बताए। ‘प्याराग्लाइडिङ पोखराको गहना हो, यो मास्न हुँदैन, उनी भन्छन्, ‘सबै पोखरेली एकजुट हुनुपर्छ। आवश्यक परे आन्दोलनमा जानुपर्छ।’
तस्वीर सौजन्य– सनराइज प्याराग्लाइडिङ