रूपन्देहीको तिलोत्तमा-५ का अमृत भुसालको सानैदेखिको सपना थियो इञ्जिनियर बन्ने। त्यही सपना पछ्याउँदै उनले विज्ञान विषय लिएर प्लस-टु पढे।
रूपन्देहीकै निजी विद्यालयबाट एसएलसी र काठमाडौंबाट प्लस-टु गर्दा अमृतका बुवा बालकृष्ण भुसाल आफ्नो व्यवसायमार्फत स्थापित भइसकेका थिए। बालकृष्णले स्थापना गरेको 'भुसाल मोटर्स' २०५१ सालमै 'न्यु होल्यान्ड ट्र्याक्टर'को आधिकारिक बिक्रेता बनेको थियो।
सानैदेखि बुवाको व्यवसायसँग नजिक भएर हुर्किएका अमृत इञ्जिनियर सपना देख्दै काठमाडौं गएपछि उनको पनि बाटो फेरियो। पढाइमा अब्बल अमृत फुर्सदमा उद्योग-व्यवसायबारे जान्न-बुझ्न थाले। औद्योगिक प्रदर्शनी र व्यापार मेला लाग्ने चलन उनी क्याम्पस पढ्ने बेलातिर व्यापक थियो। अमृत त्यस्तै प्रदर्शनी र व्यापार मेलामा जान थाले। व्यापार-व्यवसाय नै मनपर्न थाल्यो।
'औद्योगिक प्रदर्शनी र व्यापार मेलामा ल्याइएका वस्तु तथा सामान देख्दा र विभिन्न गोष्ठी-सेमिनारमा सहभागी हुँदै गर्दा मलाई उद्योगी नै बन्ने रहर पलायो,' २८ वर्षीय अमृतले भने।
अनि इञ्जिनियर बन्ने सपना त्यागेर अमृतले स्नातक र स्नातकोत्तर व्यवस्थापनमा गरे। पढाइ सकिसक्दा आफू उद्योग क्षेत्रमै लाग्ने अठोट गरिसकेका थिए। तर कस्तो उद्योग सञ्चालन गर्ने, निधो थिएन। अमृतले बजार विश्लेषण गर्दा विद्युतीय तारको माग र खपत राम्रो देखे। अनि तार तथा बिजुलीजन्य सामग्री उत्पादन गर्ने उद्योग खोल्ने निर्णयमा पुगे।
रुपन्देहीको ओमसतियामा २०६२ सालमा 'पटवा केबल' स्थापना भएको थियो। भैरहवा परासी सडकखण्डमा स्थापित यो उद्योग एक वर्षपछि नै बन्द भयो। अमृतले १२ वर्षदेखि बन्द रहेको त्यही पटवा केबल किनेर पुनः सञ्चालन गर्ने योजना बनाए।
'भुसाल केबल एन्ड वायर इन्डस्ट्रिजत्यो बेला २६ वर्षे अमृतका लागि उद्योग क्षेत्र नयाँ थियो। उता एक दशकभन्दा बढीदेखि बन्द भएको उद्योग। यी दुवै चुनौती सामना गर्न तयार भएपछि २०७४ सालमा पटवा केबल किनेर आफ्नो स्वामित्व लिए। अनि सुरू भयो 'भुसाल केबल एन्ड वायर इन्डस्ट्रिज'।
'एकपटक बन्द भएको उद्योग फेरि चलाउँदा सफल भइएला र भनेर सुरूमा डर थियो। तर हिम्मत गरे सफल हुन्छ भनेर सुरू गरिहालेँ। अहिले राम्रै भइरहेको छ,' अमृतले भने।
उद्योगले बुद्ध ब्रान्ड नामबाट बिजुली बल्ब बाल्न चाहिने सामान्य तार, बोर्ड र लिस्टीदेखि हाइड्रोपावर, टेलिकम तथा औद्योगिक प्रयोजनका लागि जडान हुने सबै प्रकारका तार उत्पादन गर्छ। छोटो समयमै आफ्नो उत्पादनले लुम्बिनी प्रदेशकै ५० प्रतिशत बजार ओगटेको दावी अमृत गर्छन्। नेपालमा ऊर्जा क्षेत्रमा पर्याप्त सम्भावना देखेका अमृतको लक्ष्य यसैलाई उत्पादनसँग जोड्ने हो।
'विकासशील मुलुकमा तारको माग धेरै हुन्छ। हामीकहाँ पनि यसको बजार अत्यन्त राम्रो छ। तर नेपाली उत्पादनले जम्मा ४० प्रतिशत बजार ओगटेको छ। बाहिरबाट आयात भइरहेको ६० प्रतिशत माग पनि पूरा गर्ने गरी यहीँ उत्पादन गर्नुपर्छ भन्ने मलाई लाग्छ,' उनले भने।
उनका अनुसार १२ करोड लगानीमा फेरि सञ्चालनमा ल्याइएको उद्योगमा लगानी थप गर्दै अहिले ४० करोड रूपैयाँ पुगिसकेको छ। स्वदेशी उद्योगको संरक्षणनिम्ति राज्यको दृष्टिकोण स्पष्ट हुन नसक्दा युवाहरू अझै लगानी गर्न ढुक्क हुन नसकेको गुनासो गर्छन् उनी। स्वदेशी उद्योगलाई प्रोत्साहनसँगै विदेशी वस्तु आयातमा भन्सार शुल्क बढाउने, सरकारी आयोजना र टेन्डर खरिदमा स्वदेशी उत्पादनलाई अनिवार्य गर्न सके नेपाली उत्पादन स्वतः बढ्ने उनको भनाइ छ।
उनले तारका ९० प्रतिशत कच्चापदार्थ आयात गरिरहेका छन्। कच्चापदार्थको भन्सार शुल्क चर्को तर तयारी वस्तुको कम हुनाले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नु नेपाली उद्योगीको सबभन्दा ठूलो चुनौती भएको उनी बताउँछन्।
.jpg)
त्यस्तै वैदेशिक रोजगारीमा जाने युवालाई उद्योग क्षेत्रमा आकर्षित गर्न सके बेरोजगारी समस्या हट्न सक्थ्यो भन्ने उनलाई लाग्छ। अमृतका अनुसार उनको उद्योगमा एक सय ७५ जनाले प्रत्यक्ष र विद्युतसम्बन्धी काम गर्ने एक हजारभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाइरहेका छन्। काम गर्ने अधिकांश ३० वर्षभित्रकै भएको उनले बताए।
बजार विश्लेषण गरी बलियो आत्मविश्वासका साथ जुनसुकै वस्तु उत्पादन गरे सफल भइने उनको सुझाव छ। भन्छन्, 'नेपालमा हरेक क्षेत्रमा भर्खरै विकासको बाटो खुल्दै छ। ठूलो-सानो वस्तुको माग छ। तर हामी सामान्य कुरामा चासो नै दिँदैनौं।'
अमृत उद्योगको काममा लामो समय खटिरहन्छन्। बिहान आठ बजे अगाडि नै उद्योग पुगिसक्ने उनी साँझ अबेरसम्म त्यतै व्यस्त हुन्छन्। उनको मिहेनत र कुशल व्यवस्थापन मूल्यांकन गर्दै रूपन्देही उद्योग संघले अघिल्लो वर्ष उत्कृष्ट युवा उद्यमीका रूपमा उनलाई सम्मान तथा पुरस्कृत गरेको थियो।
'व्यापारिक परिवारमा जन्मे-हुर्केको र परिवारभित्रै व्यवसायिक वातावरण भएर पनि मलाई उद्योग सञ्चालन गर्न सहज भएको छ,' उनी भन्छन्।
अमृतले बुवाको सहयोगमा भैरहवामा पाँचतारे होटल सञ्चालन गर्न पनि लगानी हालेका छन्। ११ वर्ष पहिले मेगा लुम्बिनी ट्राभल्स एन्ड टुर्स कम्पनीमार्फत पर्यटन क्षेत्रमा लगानी सुरू गरेको भुसाल ग्रुपले अहिले भैरहवा र बुटवलमा तारे होटल सञ्चालन गर्दैछ।
सिद्धार्थनगर, बेलहियामा चार बिगाह क्षेत्रफलमा पाँचतारे होटल र बुटवलमा चारतारे होटल सञ्चालन तयारी भइरहेको छ। उनका अनुसार बेलहियाको होटलमा क्यासिनो पनि हुनेछ। भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको छ। यसको निर्माण सकिएपछि यहाँ आउने पर्यटक लक्षित गरी बेलहियामा एक सय १७ र बुटवलमा ६१ वटा कोठासहितको होटल सञ्चालन गर्न लागिएको उनले बताए।
भुसाल केबल एन्ड वायर इन्डस्ट्रिजभुसाल ग्रुपले लकडाउनकै समयमा 'विशाल सिमेन्ट' पनि किनेको छ। यसअघि २०५७ सालमा बुद्ध सिमेन्टमा लगानी गरे पनि १८ महिनामै त्यहाँबाट बाहिरिएका अमृतका बुवा बालकृष्णले सिमेन्ट उद्योगमा दोश्रो पटक प्रवेश गरेका हुन्। विशालमा एक अर्ब रूपैयाँ लगानी गरेको बालकृष्णले बताए।
चौध-पन्ध्र वर्षकै उमेरमा गुल्मी, तम्घासमा भाँडा पसल गरी व्यवसायमा हात हालेका बालकृष्णले त्यसयता गल्ला व्यवसाय, चामल मिल हुँदै भुसाल ग्रुप नामबाट मोटर्स कम्पनी, होटल, तार र सिमेन्ट उद्योगमा आफ्नो लगानी विस्तार गरिसकेका छन्।
अब यो भुसाल ग्रुप विस्तार गर्ने जिम्मेवारीको ठूलो हिस्सा उनका छोरा अमृतको काँधमा छ। अमृत आफ्नो उद्यमी यात्रामा आत्मविश्वासी सुनिन्छन्।
'हामीकहाँ जस्तासुकै उद्योगमा सम्भावना छ। केही गर्ने हिम्मत र अठोट छ भने लगानीका लागि बैंक तयार छन्। मेरो उद्योगमा काम गर्दै गर्दा केही युवा आफैं उद्यमी बन्न सके भने म सबभन्दा खुसी हुन्छु,' उनले भने।