जबदेखि बुझ्ने भए, विनोद कुमार प्रजापतिले माटोको संसार चिने। उनी भक्तपुरको 'कुमाले टोल' अर्थात् 'पोटरी स्क्वायर' का कुमाले हुन्।
कहिलेकाहीँ आफूभन्दा ठूला दाइहरू माटो लिन जाँदा रहरै-रहरमा पिछा लाग्थे उनी। माटो खन्दाखन्दै, खेल्दाखेल्दै अनि बासना लिँदालिँदै अनजानमै विनोद पनि यही पेसासँग जोडिए।
उनका हजुरबुवा आशकुमार प्रजापतीले सिंहदरबारमा गमला पुर्याउँथे। राणाकालमा पनि उनका पुस्ताले दरबारमा माटाका भाँडा पुर्याउने गरेको विनोदले सुनाए।
'बुबाले पनि सुरूमा यही काम गर्नुभयो तर सरकारी जागिर पाएपछि छाड्नुभयो। बुबाले गपोचा (जल दान गर्ने माटोको भुड्को) सम्म बनाउनु भयो रे,' उनले भने।
पुर्ख्यौली पेसा नै यही भए पनि विनोदले आफ्नो परिचय यतिमै सीमित राखेनन्। कमैलाई थाहा छ, उनी धावक पनि हुन्।
जेन्युन सेकेन्डरी स्कुलमा कक्षा ९ पढ्दाताका दौडमा उनी प्रथम भएका थिए। त्यही दौडले उनको भविष्यलाई अर्कै मोडमा दौडाएको थियो।
'स्कुल स्तरीय दौड हुँदा नबिराई भाग लिन्थे। प्रायः सधैं मेडल जितेर आउँथे,' उनले भने, 'सयौं दौडमा भाग लिएँ। 'मिडल डिस्ट्यान्स' धावक पनि बनेँ।'
२०५६ सालमा ओपन क्रस कन्ट्री दौड हुँदा उनको समूह प्रथम भयो। राष्ट्रियस्तरको खेलमा ७५ जिल्लाबाट आएका धावकलाई पछि पार्दै समूह प्रथम हुनु नै सबभन्दा ठूलो उपलब्धि मान्छन् उनी।
हुन त उनले अन्तर्राष्ट्रिय दौडका लागि प्रतिस्पर्धा नगरेका होइनन्।
'गोकर्णमा अन्तर्राष्ट्रिय खेलका लागि छनौट भएको थियो। नेपालभरमा म पाँचौं भएँ। तर ४ जनालाई मात्र क्लोज क्याम्पमा राखियो,' उनले निराश हुँदै सुनाए।
त्यतिबेला नैराश्यता अहिलेभन्दा चर्को थियो। एक त दौडेर सधैं पैसा पनि नआउने। झन् २०६० सालमा बिहे गरेपछि उनको जिम्मेवारी दुगुना भएको थियो।
'बुबाले त दौडिन छोड्, माटोको भाँडा बनाएर बेच्, पैसा कमाइन्छ भन्नुहुन्थ्यो। मैले यो क्षेत्र छाड्नै सकिनँ,' उनले भने।
एक पटक चढिसकेको नसा सजिलै कहाँ उत्रन्थ्यो!
नसाको 'ह्याङओभर' मै रहँदा एकदिन उनलाई प्रशिक्षक बन्ने अवसर आयो, आफैं पढेको स्कुलबाट। अनि के चाहियो? दौडिन पनि पाइने, तलब पनि। उनले तुरुन्तै 'हुन्छ' भने।
जहाँबाट धावकको यात्रा सुरू भएको थियो, त्यहीँ प्रशिक्षकको नयाँ यात्रा सुरू भयो।
'त्यहाँका धेरै विद्यार्थीलाई मैले मेडल जिताएँ। त्यसपछि अरू स्कुलबाट पनि अफर आउन थाल्यो। मैले एक पटकमा ६ वटा स्कुलमा पनि काम गरेँ,' उनले भने।
प्रशिक्षककै रूपमा काम गर्दा उनले तत्कालीन प्रधान सेनापति कपको समयमा राजदलका आर्मीहरूलाई पनि प्रशिक्षण दिने अवसर पाए। बच्चा–बच्ची हुर्कंदै गएपछि प्रशिक्षण र निर्णायक बसेर कमाएको पैसाले मात्र घर चलाउन सकस हुन थाल्यो।
अब कसरी टार्ने?
श्रीमतीले आइडिया फुराइन्– पुरानो व्यवसायलाई पनि सँगै लैजाने।
'श्रीमतीले माटोको भाँडा बनाऔं। तपाईं दौड सिकाउन गए पनि म पसलमा बसौंला भनिन्। मैले पनि सहमति जनाएपछि २०६९ सालमा घरमै पसल राख्यौं,' उनले भने।
आफूसँगैका साथीहरूले यही काम गरेर घर ठड्याएको विनोदले देखेका पनि त थिए।
सानैमा दौडमा लागेकाले माटाका भाँडा बनाउने सामान्य ज्ञान मात्र विनोदसँग थियो। बिस्तारै सिक्दै गए, जान्दै गए।
व्यवसाय उनीहरूले सोचेभन्दा बढी हुँदै गयो। अब उनलाई पसलकै लागि समय बढी खचिर्नु पर्यो। त्यसमाथि श्रीमतीलाई राम्रो अंग्रेजी नआउने भएकाले विदेशी पर्यटकलाई सामान बेच्नै गाह्रो भयो। नाफा गर्न सकिने ग्राहकलाई नै सामान बेच्न नसकेपछि सोचेजति प्रगति पनि भएन।
'पछि मैले विस्तारै स्कुलहरू छोड्दै गएँ र पसलमा धेरै समय दिन थालेँ। कतै निर्णायक वा छोटो समयको लागि प्रशिक्षक काम आयो भने अहिले पनि जान्छु,' विनोदले भने।
यसबीच उनले ५ औं र छैठौं राष्ट्रिय खेलकुदमा र १३ औं सागमा निर्णायकका रूपमा काम गरिसकेका छन्।
स्कुल छाडेपछि सुरूका केही दिन व्यापारभन्दा खेलमै लागेको भए तलब त आउँथ्यो भन्ने नलागेको पनि होइन। तर पछि व्यापार यति बढ्न थाल्यो, ५-६ वटा स्कुलको तलबभन्दा एउटा पसलको आम्दानी राम्रो भयो।
'पर्यटक आउँदा एकै दिन १५ देखि २० हजारसम्म हुन्थ्यो। ५० प्रतिशत त नाफै हुन्थ्यो,' उनले भने।
हिजोआज कोरोनाका कारण पर्यटक त्यति छैनन्। तर होटल, रेस्टुरेन्टहरूले उनीहरूको पेसामा नयाँ आयाम थपेको छ। मट्का चिया, दही लगायतमा माटामा भाँडा प्रयोग बढ्दा आम्दानीको नयाँ श्रोत थपिएको छ।
उनले माटो भाँडा बनाउने र बेच्नेमा मात्र सीमित नभई नेपाली तथा विदेशीलाई भाँडा बनाउने तालिम पनि दिन्छन्।
'नेपालीसँगै अमेरिका, फ्रान्स, जर्मनी लगायत देशका विद्यार्थी सिक्न आउँथे। म उनीहरूलाई भाँडा बनाउन सिकाउनुको साथै प्रजापतीको संस्कृति पनि सिकाउँछु,' उनले भने, 'कतिपयले त आफ्नो देशमा गएर यही कामलाई आफ्नो पेसा बनाएका रहेछन्। नेपाल आउँदा आफूले बनाएको माटोका सामग्री उपहार ल्याइदिन्छन्।'
दौड छाड्नुपर्दाको दुःख एक ठाउँ छ तर आफ्नो पुर्ख्यौली पेसासँग जोडिन पाउँदा विनोद गर्व महसुस भएको बताउँछन्। पछिल्लो पुस्ताले यो काम छाड्दै गइरहेकाले यो संस्कृतिको चिन्ता पनि छ उनलाई।
यसैले त आफ्नो छोरालाई पनि माटोको काम सिकाइरहेका छन्, 'पछि उसले यो काम गर्ला–नगर्ला थाहा छैन। आफ्नो संस्कृति भने जानोस् भनेर सिकाइरहेको छु।'
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी