झापामा करोडौंको लगानीमा सरकारले तोकेको मापदण्ड अनुसारको पानी उद्योग सञ्चालनमा आएको छ। गएको असार १४ देखि झापालगायत पूर्वका बजारमा पाउन थालिएको पानीे गर्मी बढेसँगै माग पनि बढेको उद्योग सञ्चालकले बताएका छन्।
पूर्वपश्चिम राजमार्गको पाडाजँुगी दक्षिण दुई किलोमिटर दुरीमा रहेको सो उद्योगबाट प्रदेश नम्बर एकमै अत्याधुनिक मेसिनद्वारा प्रशोधन गरिएको पानी उत्पादन हुने गरेको छ। दमक–१ का भविन्द्र भण्डारीले ११ करोडको लागतमा ईष्ट्रन फुड एण्ड बेभरेज कम्पनी दर्ता गरेर ‘बेला’ नामक पिउने पानी बजारमा ल्याएका छन्। उनले यसअघि कपी उद्योग सञ्चालन गर्दै आएका थिए।
कम्पनीले उत्पादन गरेको पानी यतिबेला झापाकै बजारमा खपत हुने गरेको सञ्चालक भण्डारीलले बताए। उनले भने, ‘हाम्रो उद्योगको उत्पादन क्षमता दैनिक ३ हजार कार्टुन हो। तर, विद्युत लगायतका कारणले आधामात्र उत्पादन हुने गरेको छ।’
पर्याप्त उर्जा हुने हो भने दैनिक तीन हजार कार्टुन अर्थात् ३६ हजार बोतल पानी उत्पादन हुने उनले बताए। गाउँमा अत्याधुनिक प्रकृतिको पानी उद्योग सञ्चालनमा आएपछि स्थानीय ४० युवायुवतीले गाउँमै रोजगार पाएका छन्।
प्रशोधित पानीको गुणस्तर सुधार्न सरकारले पानी उद्योगमा असल उत्पादन अभ्यास (जीएमपी) सरहको मापदण्ड लागू गरेपछि पहिलो पटक प्रदेश नम्बर १ मा जर्मन टेक्नोलोजीको उद्योग सञ्चालनमा आएको हो। जार र बोतलमा सिलप्याक भएर आउने प्रशोधित पानीको गुणस्तर कायम गर्न मन्त्रालयले खाद्य ऐन २०२३ अन्तर्गत बनेको खाद्य नियमावली २०२७ को नियम ३३ को (क) बमोजिम नयाँ ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४’ जारी गरेको थियो।
निर्देशिका जारी भएपछि नै भण्डारीले उद्योग दर्ता लगायतका प्रक्रिया सुरु गरेका थिए। खाद्य ऐन तथा नियमावलीको कार्यान्वयन गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पिउने पानीसँग संम्बन्धित निर्देशिका नै जारी गरेको छ।
पानीको स्रोतको स्वच्छता, कामदार र काम गर्दा लगाइने पोशाक, उद्योगबाट आउने फोहोर पानी व्यवस्थापनमा ध्यान दिइएको सञ्चालक भण्डारीले बताए। ‘हामी सरकारको नियम, कानुन र तोकेको मापदण्ड पूरा गरेर मात्र उत्पादन भएका पानी लिएर बजारमा गएका हौं। बजारको माग देख्दा उत्पादन क्षमता बढाउन आवश्यक देखियो।’
उद्योग आफैंले पानी बजारमा लगेर बिक्री नगर्ने उनले वताए। ‘सकेसम्म बेरोजगारी समस्या समाधान होस् भनेर हरेक बजारमा एक एक वटा डिलर स्थापना गरी त्यसैको माध्यमबाट पानी बजारमा पुर्याउने लक्ष्य रहेको रहको छ,’ उनले भने।
उद्योगसँग पानी परीक्षण गर्ने ल्याब छ। सञ्चालक भण्डारीका अनुसार प्रत्येक बोतलको पानीको परीक्षण हुने गरेको छ।